अस्पतालमा औषधि अभाव हुँदा बिरामी मर्कामा

जिल्ला अस्पताल दार्चुलामा अत्याश्यक औषधि अभाव भएको छ । अस्पतालमा अहिलेको मौसममा आवश्यक पर्ने स्लाइन, भाइरल ज्वोरोको औषधि, एन्टिबाइटिक, इन्जेक्सन एन्टिबाइटिक, दुखाइ कम गर्ने तथा श्वासप्रश्वासमा प्रयोग हुने औषधिको अभाव भएको हो ।

यस्तै कलमिलोसन, डाइजिन ट्याब्लेट, फसोमाइड, एसिटाजोलामाइडलगायत दर्जनौँ प्रकारका औषधिहरू अस्पतालमा अभाव रहेको औषधि वितरण कक्षका कर्मचारी गोपालसिंह साउदले बताए ।

सरकारले निशुल्क वितरण गर्नका लागि उपलब्ध गराएको औषधि अस्पतालमा अभाव हुँदा यहाँका स्थानीय निजी क्लिनिकबाट किन्न बाध्य छन् ।

अस्पतालका अनुसार सरकारले नै ७० प्रकारको औषधि जिल्ला अस्पतालमा निःशुल्क पाइने भने पनि यहाँ भने सिटामोलबाहेक अन्य औषधिहरू निजी मेडिकलबाट किन्नु पर्ने बाध्यता रहेको महाकाली नगरपालिका-२ का रामसिंह साहुले गुनासो गरे ।

'लेकतिर जाँदा उत्पन्न हुने समस्या समाधानका लागि प्रयोग गरिने औषधिहरू, प्रेसर, दाद क्रिमको निकै अभाव रहेको छ । निःशुल्क रूपमा उपलब्ध हुने ड्रेसिङका लागि घाउ सफा गर्ने एनएस औषधि समेत इमर्जेन्सी कक्षमै छैन ।' आफू बिरामी हुँदा अस्पताल गएको र औषधि वितरण कक्षबाट एक प्रकारको औषधि मात्रै दिइयो र बाँकी चार प्रकारका औषधि बाहिर मेडिकलबाट चर्को मुल्यमा किनेर घर फर्किनु परेको रामसिंहले दुखेसो पोखे ।

अहिले जिल्ला अस्पतालमा उपचारका लागि आउने हरेक बिरामीहरू औषधि नपाउँदा दिक्क भएर फर्किने गरेका छन । जिल्ला अस्पतालमा समेत टाउको दुख्दा सिटामोल, ज्वरो आउँदा सिटामोल लिएर बिरामीहरू घर फर्कने गर्छन् ।

अस्पतालले दिएको बिरामी पुर्जा लिएर निजी मेडिकलमा औषधि खरिद गर्न जाँदा पुर्जामा लेखिएका केही औषधिहरू अस्पतालमै हुनुपर्छ भन्छन् । तर, अस्पताल भने बिरामीलाई यहाँ छैन उता मेडिकलबाट किन्नु भनेर फर्काउने गरेको ब्यास गाउँपालिका-५ का शङ्करदत्त बडुको भनाइ छ ।

'अस्पतालमा केही औषधिको मात्रा कम भएको छ । अभावै भएको छैन ।'-जिल्ला अस्पतालका प्रमुख रविरञ्जन शाहले भने-'कुनै सिकिस्त बिरामी आएमा औषधि जगेडा राखेका छौँ ।' बर्खा सुरू भएको र महामारी फैलिन सक्ने भएकाले त्यसका लागि थोरै भए पनि औषधिको जोहो अस्पतालले गरिरहेको हुनाले सबै औषधि अस्पतालले उपलब्ध गराउन सक्दैन । यसपाली बजेट अभावले पनि आवश्यक मात्रामा औषधि खरिद हुन सकेन ।'

महाकाली नगरपालिकामा जिल्ला अस्पताल भएकाले औषधि खरिदका लागि बजेट उपलब्ध गराइदिन भन्दै ०७४ फागुन २५ गते औषधिको लिष्टसहित ९३ प्रकारका औषधि खरिदका लागि १ करोड १३ लाख ४२ हजार रुपियाँभन्दा बढी बजेट उपलब्ध गराइ दिन भन्दै पत्रमार्फत अनुरोध गरेकोमा नगरपालिकाले अहिलेसम्म १३ लाख रुपियाँ बराबरको मात्र औषधि अस्पताललाई उपलब्ध गराएको नगर प्रमुख हंसराज भट्टले बताए ।

नगरपालिकामा १३ लाख रुपियाँ बजेट औषधि खरिदका लागि आएकाले थप बजेटको व्यवस्था गर्न  नसकिने समेत नगर प्रमुख भट्टले बताए ।


नरेन्द्रसिंह कार्की