अस्पतालको स्तरवृद्धि भएपछि निःशुल्क औषधि बन्द हुँदा सेवाग्राही समस्यामा

तीन वर्षघि ५० शैयामा स्तरवृद्धि भएको जिल्ला अस्पताल इलाममा स्तर वृद्धि सँगै निःशुल्क वितरण हुने औषधि बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । २५ शैयाको अस्पताल हुँदा जिल्ला स्वास्थ्य कार्यालयमार्फत आएको औषधि यहाँ निःशुल्क वितरण हुन्थ्यो ।

५० शैया भएपछि अस्पतालले निःशुल्क औषधि वितरणको केन्द्र पनि बन्द गराएको छ । '२५ शैया हुञ्जेल निःशुल्क औषधि वितरण गर्‍यौँ । 'माथि'बाट औषधि आउँथ्यो ।'-अस्पतालकी सूचना अधिकारी रीता अधिकारीले भनिन्-'५० शैयामा स्तरवृद्धि भएपछि 'माथि'बाट औषधि पनि आउँदैन, यहाँ औषधि खरिद गर्ने रकम पनि आउँदैन । निःशुल्क औषधि नहुँदा वितरणको काउण्टर बन्द गरेका छौं ।'

अस्पताल विकास समितिले औषधि किनेर दिएमात्र अब निःशुल्क औषधि वितरण गर्ने एउटा विकल्प रहेको अधिकारीको भनाइ छ । ज्येष्ठ नागरिक, अशक्तहरूलाई निःशुल्क औषधि दिन पाउँदा समस्या भएको अधिकारीले बताइन् ।

जिल्ला अस्पतालमा मात्र होइन, जिल्लाका सबैजसो स्वास्थ्य संस्थामा यतिबेला निःशुल्क वितरण गरिने औषधि अभाव छ । जिल्ला अस्पतालमा ७२, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्य चौकीहरूमा ३६ प्रकारका औषधि निःशुल्क वितरणको व्यवस्था भएपछि अहिले ती स्वास्थ्य संस्थामासमेत सिटामोलसम्म पाउन मुस्किल छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार विभागले वर्षेनी बजेट नै कम पठाउने गरेकाले निःशुल्क वितरणको औषधि अभाव हुन थालेको हो । यो वर्षजिल्ला जनस्वास्थ्य कार्यालयमा ४० लाख ८५ हजार ७ सय ८ रुपियाँ औषधि खरिदकालागि आएको थियो । उक्त रकमको औषधि खरिद गर्न अहिले टेण्डर प्रक्रिया पूरा भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार अहिले इलाममा एक जिल्ला अस्पतालसहित दुई निजी अस्पताल, नगर स्वास्थ्य केन्द्र चार, सामुदायिक स्वास्थ्य इकाइ पाँच र स्वास्थ्य चौकी ४४ ओटा रहेका छन् । कार्यालयमा औषधि आउनासाथ यी स्वास्थ्य संस्थामा पठाइने कार्यालयका स्टोर किपर इश्वरी सुवेदीले बताए ।


कोकिला ढकाल