अस्पतालको फार्मेसीमा औषधि नपाउँदा बिरामीहरू दोहोरो शुल्क तिर्न बाध्य

  ०८० साउन १५ गते

मन्थली अस्पतालको फार्मेसीमा औषधि नपाउँदो बिरामीहरू दोहोरो शुल्क तिर्न बाध्य भएका छन् । अस्पतालबाट स्वास्थ्य बिमाको औषधि लिने बिरामी हरेक पटक औषधि लिँदा दोहोरो शुल्क तिर्न बाध्य भएका हुन् ।

अस्पतालमा स्वास्थ्य परीक्षण गर्न जाने बिरामीले नाम इन्ट्रि गर्दा स्वास्थ्य बिमाको २ सय रुपियाँ तिर्नुपर्छ । अस्पतालमा जाँच गरेर स्वास्थ्यकर्मीले लेखिदिएको औषधि अस्पतालको फर्मेसिमा नभएपछि बिरामीलाई अस्पतालले औषधि लिन मन्थलीमै रहेको तामाकोसी अस्पतालको फार्मेसीमा रिफर गर्ने गरेको मन्थली अस्पतालबाट नियमित सेवा लिँदै आउनु भएका रत्नप्रसाद कँडेलले जानकारी दिनुभयो ।

सो फार्मेसीमा औषधि लिन जानेले मन्थली अस्पतालले लेखिदिएको कागज पुन अस्पतालमा इन्ट्रि गर्छ । त्यसो गरे बापत तामाकोसी अस्पतालले पनि थप २ सय रुपियाँ काट्छ । 'यसरी दुई ठाउँमा २/२ सय रुपियाँ तिर्नु पर्दा एक सयको औषधि लिन ४ सय खर्च हुन्छ, बिमाको पैसा काटे पनि त्यो बेमितकै पैसा त हो', कँडेलले भन्नुभयो ।

वर्षमा १ लाख भन्दा कमको उपचार लिनेलाई त्यसमा खासै वास्ता नहुने भए पनि त्यस भन्दा बढीको औषधि र उपचार लिनु पर्ने बिरामी यसबाट प्रत्यक्ष प्रभावित हुने गरेका मन्थली नगरपालिका-१ का स्थानीय विष्णु सुवेदीले बताउनु भयो ।

मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले पनि नागरिकले दोहोरो शुल्क तिर्नु परेको स्विकार्नु भयो । 'यहाँबाट पठाएको बिरामीको उता पनि नाम दर्ता गर्दा दोहोरो शुल्क लागेको छ, त्यसैलाई अन्त्य गर्न हामीले अस्पतालमा नै फार्मेसीमा औषधि बढाउँदै छौँ, तैपनि सबै औषधि ल्याउन नसकेको कारण बिरामीलाई उता पठाउनु परेको छ', उहाँले भन्नुभयो ।

समस्याको समाधान भनेको अस्पतालकै फार्मेसीमा सबै औषधि पुर्‍याउने भएको उहाँले बताउनु भयो । तर त्यो कहिलेसम्म गर्न सकिन्छ भन्ने जबाफ उहाँसँग पनि नभएको ताउनु भयो । 'हामी प्रयास गरिरहेका छौँ', उहाँले भन्नुभयो ।

Photo_080-4-11_Ramechhap4


नवराज घिमिरे