अस्पतालको नयाँ भवन निर्माण कार्य अलपत्र हुँदा सेवाग्राहीलाई समस्या
मन्थली नगरपालिका स्थित मन्थली अस्पतालको नयाँ भवन निर्माण कार्य अलपत्र परेर जस्ताको टहरोमा सञ्चालनमा हुँदा सेवाग्राहीलाई समस्या परेको छ ।
अस्पताल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नसकिदिँदा टहरोमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । अस्पताल निर्माणको लागि श्री गाल्वारलाल शुभ मेन्द्रो जेभी काठमाडौँले जिम्मा लिएका थिए । उक्त कम्पनीले ०७९ मङ्सिरसम्म निर्माण सम्पन्न गर्ने गरी ०७८ जेठ ३० गते अस्पताल निर्माणको सम्झौता भएको भवनको करिब ४० प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको छ ।
बागमती प्रदेश सरकारको लगानीमा तत्कालीन राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई (भवन) रामेछाप मार्फत ९ करोड ३२ लाख ५० हजार ९ सय ८६ रुपियाँमा काम सम्पन्न गर्ने गरी भवनको ठेक्का सम्झौता भएको थियो ।
निर्माण कम्पनीले सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापबाट २ करोड ९० लाख १५ हजार बढी भुक्तानी लिएपछि काम छाडेर सम्पर्कविहीन भएको छ । सो कम्पनी सम्पर्कमा नआएपछि ०७९ असार महिनादेखि निर्माणको काम रोकिएको थियो । ६ महिनासम्म कुनै काम नभएपछि ताकेता गरेर निर्माणको जिम्मा लिएको पाटनर कम्पनी गाल्वालाई काम गर्न लगाइको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले बताउनु भयो । नगरपालिकाको लगातारको ताकेतापछि गाल्वाले भवनको एउटा तला ढलान गरेको भए पनि फेरी काम रोकिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
प्राथमिक स्वास्थ्य केन्द्रलाई मन्थली नगरपालिकाले १५ शैय्याको अस्पतालमा विस्तार गरेको भए पनि नयाँ भवन नबन्दा प्राथमिक स्वास्थ्य केन्द्रकै जस्ताको छाना भएको साँघुरो घरबाट अस्पतालले सेवा दिँदै आएको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले जानकारी दिनुभयो । बिरामी राख्नको लागि जस्ताको टहरो प्रयोग गरिएको र अस्पतालले सेवा थप्दै जाँदा भवन नपुगेपछि साना साना अस्थायी टहरा बनाएर सेवा प्रवाह गरिएको प्रमुख फुयाँलले बताउनु भयो ।
प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा स्तरोन्नति गरेपछि अस्पतालले एक्स–रे, भिडियो एक्स–रे, विभिन्न खालका ल्याब, फिजियोथेरापी, आँखा, दाँत लगायतका सेवा थप गरेको छ । त्यसको लागि अहिलेको संरचना निक्कै साँघुरो छ । 'भवन बनेको भए सेवा प्रवाह गर्न निक्कै सजिलो हुन्थ्यो', फुयाँलले भन्नुभयो ।
मन्थलीमा अत्याधिक गर्मी हुने भएकाले जस्ताको टहरोमा उपचार लिन बिरामीलाई निक्कै कठिन हुने गरेको र सेवा दिने चिकित्सक र स्वास्थ्यकर्मीलाई समेत निक्कै कठिन भएको अस्पतालका दन्त प्राविधिक वसन्त घिमिरेले जानकारी दिनुभयो । 'जस्ताको छानो तातेपछि बस्न निक्कै कठिन हुन्छ', अस्पतालका दन्त प्राविधिक घिमिरेले भन्नुभयो ।
भवन निर्माणको काम छिटो सक्न ताकेता गरिरहेको भए पनि केही दिन यता फेरी काम रोकिएको स्वास्थ्य शाखा प्रमुख फुयाँलले बताउनु भयो । 'काम किन रोकेको हो, हामी फेरी ताकेता गर्छौँ', उहाँले भन्नुभयो ।
अस्पताल भवन नबन्दा सेवा लिन गर्मीले निक्कै गाह्रो भएको सेवाग्राही रत्नप्रसाद कँडेलले बताउनु भयो । जस्ताका टहरा तात्दा सेवा बिरामी बस्नै नसक्ने उहाँले उल्लेख गर्नुभयो । यसको साथै अस्पतालमा पार्किङको समेत व्यवस्था नहुँदा थप सङ्कट भएको उहाँले जानकारी दिनुभयो ।
नवराज घिमिरे
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…