अस्थायी आवासमा क्षति पुगेपछि भूकम्प पीडित चिन्तित

  ०८० चैत २१ गते

भूकम्प पीडितले ऋण खोजेर बनाएका अस्थायी आवासका छाना हावाहुरीले उडाएपछि भूकम्प पीडित थप समस्यामा परेका छन् । गत कात्तिक १७ गतेको भूकम्पले घरवारविहिन भएका भूकम्प पीडितको अस्थायी आवासका छाना चैत १८ गते आएको हावाहुरीले उडाएपछि उनीहरू थप चिन्तामा परेका छन् ।

अस्थायी आवासमा भएपनि रात काटौला भन्ने आशाले निमार्ण गरिएका अस्थायी आवासका छाना हावाहुरीले उडाएपछि आफूहरू आवास विहिन बन्न पुगेको बारेकोट गाँउपालिका–६ ताँसीका बसन्त बिकले गुनासो गर्नु भएको छ ।

हावाहुरीले नागरिकको लाखौँ रुपियाँको धनमाल क्षति गरेको बारेकोट गाँउपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताउनु भयो । अध्यक्ष गिरीका अनुसार हावाहुरीले बारेकोट गाउँपालिका–३, ६ र ७ नम्वर वडा कार्यालय, प्रहरी चौकी लिम्सामा क्षति पुर्याएको छ भने वडा नम्वर ९ मा हावाहुरीले रुख ढलेपछि पशु चौपाया मरेका छन् ।

यस्तै कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले दुई ओटा सामुदायिक विद्यालय र करिब एक सय अस्थायी आवासमा क्षति पुगेपछि भूकम्प पीडित थप समस्यामा परेको बताउनु भएको छ । यता नलगाड नगरपालिकाका प्रमुख डम्वरबहादुर रावतका अनुसार हावाहुरीले नलगाड नपामा निमार्ण गरिएका अस्थायी आवास, सिकाइ केन्द्र, प्रहरी चौकी, स्वास्थ्य संस्थाहरूमा असर गरेको बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले नागरिकका अस्थायी आवास र सार्वजनिक भौतिक संरचनामा हावाहुरीले पुर्याएको क्षतिको विवरण सङ्कलन भइरहेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटका डिएसपी पुरुषोतम प्रसाद पाण्डेले हावाहुरीले भूकम्प प्रभावित नागरिकले आवासका लागि बनाएका अस्थायी आवास लगायत प्रहरी चौकी, वडा कार्यालय र विद्यालय भवनमा क्षति पुगेको जानकारी दिनुभयो । भूकम्प पीडितहरूले कर्जा लिएर बनाएका आवासमा लगाइएका जस्ता पाता उडाउदा ओत लाग्ने स्थानबाट बञ्चित हुनु परेको डिएसपी पाण्डेले बताउनु भयो ।

नेपाल सरकारले अस्थायी आवासका लागि दिएको २५ हजार रुपियाँमा ऋण खोजेर बनाएका आवास दोस्रो किस्ता नपाउँदै हावाहुरीले क्षति बनाएपछि साहुको ऋण कसरी तिर्ने भन्ने समस्या भूकम्प पीडितमा थपिएको छ ।

 

 

Photo20240403Jajarkot (1)

Photo20240403Jajarkot (3)  Photo20240403Jajarkot (2)


बासुदेव शर्मा