असई थमन बिकको हत्याका आरोपित राज्यमन्त्री शर्मालाई गिरफ्तार गर्न परमादेश जारी

मधेस आन्दोलन–२ को क्रममा सशस्त्र प्रहरीका असई थमन बिकको हत्यामा संलग्न भएका आरोपितलाई गिरफ्तार गर्न उच्च अदालत धनुषाले परमादेश जारी गरेको छ ।

सशस्त्र प्रहरी बल महोत्तरी जलेश्वरमा कार्यरत बिकलाई ०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीले निर्घात कुटपिट गरी अस्पताल लाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरेका थिए ।

घटनामा संलग्न रहेका अभियुक्तमध्ये अधिकांश राजनीतिक दलमा आबद्ध भएकाले प्रहरीले गिरफ्तार गर्ने आँट गरेको छैन । हत्या आरोपितमध्येका एक अभिराम शर्मा प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री हुन् ।

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त रहेका शर्मालाई अहिले सशस्त्र प्रहरी कै सुरक्षा छ । साउन १६ गते उच्च अदालतले उनलाई गिरफ्तार गर्न प्रहरीको नाममा परमादेश जारी गरेको छ ।

महोत्तरी जिल्ला अदालतको आदेशबाट केही प्रतिवादी जलेश्वर कारागारमा थुनामा रहेको भए पनि बाँकी प्रतिवादीलाई प्रहरीले गिरफ्तार नगरेको भन्दै असई बिककी पत्नी शोभा गहतराजले ०७२ चैत २८ गते अदालतमा मुद्दा दर्ता गरेकी थिइन् ।

यो मुद्दामा जलेश्वर–२ का मिश्रीलाल माझी, ३ का सञ्जयकुमार साह र परिकौलीका मोहन ठाकुर थुनामा छन् । तर, अरु आरोपित गिरफ्तार भएका छैनन् ।

फरार प्रतिवादीमध्ये अभिराम शर्मा प्रदेश सांसद हुँदै राज्यमन्त्री बनेका छन् भने कौशलकुमार यादव प्रदेशसभा सदस्य र शङ्कर शाही भनिने रामशङ्कर मिश्र जलेश्वर नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । महोत्तरी प्रहरीका अनुसार २८ जना हालसम्म फरार छन् ।

राज्यमन्त्री शर्माले राजनीतिक विषयलाई आपराधिक मुद्दा बनाएर फसाउन खोजेको दावी गर्दै आएका छन् । अन्य आरोपितहरूले पनि राजनीतिक आस्थाका आधारमा झुठा मुद्दा लगाइएको भन्दै फिर्ता लिनुपर्ने माग गर्दै आएका छन् ।

हत्या गरिएका असई बिककी पत्नी शोभा गहतराजले उच्च अदालत जनकपुरमा दिएको निवेदनमाथि सुनवाइ गर्दै न्यायाधीश माधवप्रसाद पोखरेल र डा. रवि शर्मा अर्यालको संयुक्त इजलासले साउन १६ गते बुधबार जिल्ला प्रहरी कार्यालय महोत्तरी र कार्यालयका प्रमुखको नाममा परमादेश जारी गरेको हो । फैसला साउन १६ गते बुधबार आएपनि पूर्णपाठ भने आज साउन १७ गते बिहीबार मात्र आएको उच्च अदालतका श्रेस्तेदार मानबहादुर कार्कीले जानकारी दिए ।

महोत्तरी जिल्ला अदालतबाट असई बिकको हत्याकाण्डमा संलग्न २५ जनाका नाममा वारेण्ट सहितको म्याद जारी भएको छ । महोत्तरी प्रहरीका एसपी कुवेर कडायतले भने अदालतको आदेश नआइपुगेको बताए ।

उच्च अदालतद्वारा जारी परमादेशमा ‘न्यायपूर्ण समाजको स्थापनाको लागि शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी लिएको सक्षम निकायले आफैँद्वारा अभियोजित कर्तव्य ज्यान जस्तो मुद्दाका प्रतिवादीलाई आफ्नै अगाडि खुलेआम रहेको स्थितिलाई नजर अन्दाज गर्नुलाई कानुनको धज्जी उडेको, दण्डहीनताले प्रश्रय पाएको, कानुनको अगाडि सबै समान नरहेको एवम् राज्य व्यवस्थाले गति नलिएको अर्थमा समाजले हेर्ने हुँदा कानुन परिपालनको लागि अदालतबाट वारेण्ट जारी भएका प्रतिवादीलाई अविलम्ब पक्राउ गरी अदालत समक्ष उपस्थित गराउनु’ भनिएको छ ।


अजयकुमार साह