अविरल वर्षाले कर्णालीकाे जनजीवन प्रभावित : पाँच जनाको मृत्यु , १७ जना घाइते

  ०८१ असार २४ गते

गत असार २१ गते देखि परेकाे अविरल वर्षाकाे कारण कर्णालीको जनजीवन प्रभावित भएकाे छ । तीन दिनमा मात्रै सुर्खेतका दुई जना, जाजरकोटका दुई जना, दैलेखका एक जना गरी पाँच जनाको विपद्मा परि मृत्यु भएको छ । त्यस्तै गरि १७ जना घाइते भएका छन् । जस अनुसार जाजरकोटका १० जना, रुुकमपश्चिमका दुई जना,  दैलेखका तीन जना,  कालिकोट र डोल्पाका एक–एक जना गरेर १७ जना घाइते भएका छन् ।  जसमा ५ सय ४७ जना प्रहरी खटिएका थिए । अविरल वर्षाका कारण कर्णालीका सबै हिमाली जिल्लामा हवाइ सेवा ठप्प भएको थियो भने कर्णाली, मध्यपहाडी, मदन भण्डारी र राप्ती राजमार्ग तथा भेरी र कर्णाली करिडोर अवरुद्ध भएका थिए ।

अविरल वर्षाका कारण कर्णाली राजमार्गमा ११, मध्यपहाडीमा १० र राप्ती राजमार्गमा ९, कर्णाली करिडोरमा १३ र भेरी करिडोरमा १७ ठाउककमा पहिरो गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । वर्षा  जारी रहेका कारण राजमार्गहरु खुलाउन सकिएको थिएन । अविरल वर्षाका कारण कर्णालीका हिमाली जिल्लाका सबै विमानस्थल ठप्प भएका छन्  ।

मुगुस्थित रारा, जुम्ला, डोल्पाको जुफाल र हुम्लाको सिमकोट विमानस्थलमा मौसममा खराबी आएपछि उडान हुन सकेको थिएन । लगातारको वर्षाले नेपालगन्ज र सुर्खेतबाट हुने सबै हवाइ उडान रोकिएका थिए । हुम्ला र मुगुमा नेपालगन्ज र सुर्खेतबाट तारा, समिट र सिता एयरलाइन्सले उडान भर्दै आएका छन् ।

वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गत दैलेख—कालीकोट खण्डको दहीखोला, गगनेखोला, कालाखोला, हुल्मलगायत ठाउँमा पहिरो गएको थियो । त्यस्तै राप्ती राजमार्गको चोरखोला, अरिंगालेफेदी, सिमखोलीलगायत ठाउककमा पहिरो खसेको थियो । जसका कारण विभिन्न राजमार्गमा मात्रै झण्डै दुई सय सवारी साधन बीच बाटोमै रोकिएको प्रदेश प्रहरी कार्यालय प्रवक्ता बिरबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार अविरल वर्षाका कारण मानवीय क्षति नभए पनि झण्डै एक घर बाढी पहिरोको उच्च जोखिममा छन् । जोखिममा रहेका परिवारलाई अन्यत्र स्थानान्तरण गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।

जाजरकाेट जिल्ला प्रतिनिधि बासुदेव शर्माका अनुसार वर्षापछि जाजरकोट र रुकुम पश्चिममा अस्थथायी टहरामा बस्दै आएका भूकम्पपीडितको बेहाल छ । ‘टहराभरि पानी चुहिएको छ, यहाका त बस्नै समस्या भयो,’ जाजरकोटको भेरी नगरपालिका—१ का लालबहादुर महरले भन्नुभयो , ‘त्यसैले चर्किएको घरमा फेरि फर्कनु पर्यो घरमा पनि भित्ताहरु चर्किएकै ठाउँमा पानी परेर रसाउन थालेको छ, कुन दिन भत्किने हो भन्ने चिन्तै चिन्तामा बस्नुपरेको छ।,’ नलगाड नगरपालिका —४ का हस्तबहादुर विकले टहरामा पानी चुहिएरै सुत्नै नसकिने अवस्था आएको बताउनुभयो ।

रुकुम पश्चिमको आठवीसकोट नगरपालिका–१४ की कृष्णा विकले अस्थायी टहरोको टिनबाट पानी भित्र परेर कपडा र अन्नपात मुस्किल भएको बताउनुभयो ।  अहिले अधिकांश भूकम्पपीडितहरुले वनजंगलको छेउमा, खोलाकिनारमा, बारीको छेउमा र भिरालो जग्गामा अस्थायी आवास निर्माण गरेका छन् । जसका कारण बाढीपहिरोको ठूलो जोखिम रहेको नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश महासचिव नरबहादुर नेपालीले बताउनुभयो ।

भूगर्भविद् चन्दन गिरीले भूकम्पले प्रभाव परेका ठाउँमा नयाँ पहिरोको जोखिम अत्यधिक रहेको बताउनुभयो ।  उहाँका अनुसार अरु सामान्य अवस्थाभन्दा भूकम्पपछिको समयमा पहिरोको जोखिम झण्डै ८० प्रतिशतले बढी हुन्छ । भूकम्पपछि उनी नेतृत्वको पाँच जनाको टोलीले जाजरकोटको नलगाड, भेरी नगरपालिका र बारेकोट गाउँपालिकामा केही गाउँहरुमा अध्ययन गरेको थियो । जसमा विभिन्न बस्ती आसपासको जमिन फाटेको भेटिएको थियो ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् नियन्त्रण महाशाखा प्रमुख कृष्णबहादुर रोकायाले भूकम्प प्रभावित बस्तीहरुमा पहिरोको जोखिमबारे अध्ययन गरी पूर्वतयारी थालिएको बताउनु भयो ।  उहाँका अनुसार सम्भावित जोखिम न्यूनीकरणका लागि सबै सुरक्षा संयन्त्र तयारी अवस्थामा राखिएको छ ।

हुम्ला जिल्ला प्रतिनिधि नन्द सि‌हका अनुसार पछिल्लो समय मनसुन सक्रिया भएसँगै हुम्लामा पनि भारी वर्षा भएकाे छ । एक सातादेखि यता नियमित रुपमा परेको अविरल वर्षाले जिल्लाका अधिकांश ठाउँमा क्षति भएकाे छ ।  असार २० गतेदेखि रातदिन परेको अविरल वर्षाले सिमकोट गाउँपालिका–७ मा रहेका तीन ओटा बस्तीमा क्षति पुर्याएको छ । उक्त क्षेत्रमा आएको वर्षाले वडा नम्बर ७ डाँडाफया स्थित साविकको वडा नम्बर ५ को टुलिङ र दलित बस्ती चुकेडि गाउँमा ठूलो क्षति गरेको छ । सो ठाउँका तीन ओटा  बस्ती जोखिममा रहेको स्थानीय नन्द शाहीले जानकारी दिनुभयाे । स्थानीय शाहीका अनुसार असार २० गते आएको वर्षाले बाढी आउँदा यस टुलिङ गाउँको धान रोप्ने खेत र माथिल्लो क्षेत्रमा सिमी, कोदो, आलु, मकै लगायत अन्नबालीमा क्षति बनाएको छ । टुलिङ गाउँका दुई ओटा आधुनिक घट्ट र चुकेडी गाउँका दुई ओटा पानी घट्ट समेत बगाएर लिएको स्थानीय शाहले जानकारी दिनुभयाे । स्थानीयले पिस्नका लागि राखेको झण्डै दुई क्वीइन्टल अनाज समेत बगाएर लिएको अर्का स्थानीय मन्दिर सिंहले बताउनुभयाे ।

अविरल वर्षाले बाढी आउँदा चुकेडी र टुलिङ गाउँ बस्ती जोखिममा रहेको छ । टुलिङ र दलित बस्ती चुकेडी गाउँमा झण्डै ३८ भन्दा बढी घरपरिवार बसोबास गर्दै आएका छन् । त्यस्तै सोही वडाको ओखरेनमा आएको बाढीले खानेपानीको पाइप बगाएर थाया लगायतका गाउँमा खानेपानीको समस्या बनाएको सिंहको भनाइ छ । करिब ५० घरधुरीले प्रयोग गर्दै आएको खानेपानीको पाइप बगाएपछि टाढा गएर खानेपानीको जोहो गर्नु पर्ने बाध्यता छ । यस्तै वडा नम्बर ७ को जबुका गाउँमा समेत बालीनाली, खानेपानी पाइप, घट्ट लगायतमा क्षति गरेको अर्का स्थानीय विर बहादुर सिंहले बताउनुभयाे । वर्षाले क्षतविक्षत गर्दा खानेपानीको समेत समस्या बनाएको सिंहले जानकारी गराउनुभयाे । खेतमा छर्किएर पलाउँदै गरेका बाली आलु, सिमी, कोदो, फापर, गहुँ, भटमास, तोरी, लगायत तरकारी बाली गोपि, बन्दा, खुर्सानी लगायतका बालीमा क्षति गरेको छ । बाढी पहिरोले क्षति बनाएको विषयमा स्थानीयले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराई सकेका छन् । प्रहरीलाई जानकारी भएसँगै असार २१ गतेदेखि यता नियमित घटना स्थलतर्फ मुचुल्का गर्नका लागि खटिएको डिएसपी रवीन्द्र खनालले बताउनुभयाे ।

सल्यान जिल्ला प्रतिनिधि बुद्धिमान पुनका अनुसार राप्ती राजमार्ग सल्यानमा वर्षातका कारण सडकमाथिबाट पहिरो झर्ने भएकाले जनप्रतिनिधि, सुरक्षाकर्मी सहितको टोली सडक सुचारु गर्ने कार्यमा खटिएको छ । अविरल  बर्षाका कारण पटक–पटक सडकमाथिबाट आउने पहिरोले आजित बनाएको छ । विगतका वर्षमा जस्तै वर्षपनि नागरिकले दाङ–सल्यान यात्रा गर्दा दुःख पाएको एक यात्रु भावना घर्तीले बताउनुभयो । ‘बर्खाको समयमा यात्रा गर्नु हाम्रो रहर होइन् बाध्यता हो, कपुरकोट–चोरखोलामा त भगवान भरोसामै यात्रा हुन्छ’ उहाँले भन्नुभयो ‘गाडीको चाप हुन्छ, सडकको हालत यस्तो छ, दुर्घटनाको जोखिम उत्तिकै बढेको छ ।’ जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी, डिएसपी भवानी प्रसाद धमलाले पटक–पटक पहिरो झर्दा यात्रुहरुले सास्ती पाउँदै आएको बताउनुभयो । यात्रुको सहज यात्राको लागि प्रहरी दिनभर जसो पहिरो प्रभावित क्षेत्रमा खटिएको र पहिरो हटाएर सवारीसाधनलाई गन्तव्यमा पठाउने गरेको उहाँको भनाइ छ ।

राप्ती राजमार्गमा पहिरो हटाउन जेसिभीले काम गरिरहेको र पहिरो हटाउन नपाउदै माथिबाट लगातार खस्ने ढुंगामाटो, हिलो सहितको लेदोले गर्दा कठिनाइ भएको छ । राप्ती राजमार्गसँगै जिल्लाका दर्जनौं ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षातका कारण ठाँउठाँउमा गएको पहिरोले सडक अवरुद्ध भएका छन् । बागचौर नगरपालिकाको सिमखोली, कालिमाटी गाउँपालिकाको असुरेनी, खलंगा–कालिमाटी, सिमखोली–दार्मा, सालचौर–निगालचुला लगायतका ग्रामिण सडक अबरुद्ध भएका छन् । प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले राप्ती राजमार्गको कपुरकोट–राम्री सडक जोखिमयुक्त भएकाले सावधानीपुर्वक यात्रा गर्न अनुरोध गर्नुभएको छ ।

कालीकोट जिल्ला प्रतिनिधि कालीबहादुर मल्लका अनुसार वर्षाले पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध छ । कर्णाली करिडोर अर्न्तगत पर्ने रास्कोट-८ भात्तडी नजिकै पहिरो जाँदा  बिहानदेखि कर्णाली करिडोर पनि पूर्णरुपमा अवरुद्ध भएको हो । कर्णाली राजमार्गको एक दर्जन बढी ठाउँमा पहिरो गएकाले दुई दिनदेखि सुर्खेत-जुम्ला सडक अवरुद्ध छ ।  अविरल वर्षाले शुभकालिका-६ मुडिकाटियाका वीरेन्द्रबहादुर शाहीको पसल भएको घर भत्किँदा सामान क्षति भएको छ । त्यस्तै, रास्कोट-५ आरसिपि बजार नजिकै रहेको नरेन्द्रवहादुर रोकायाको २ तले ४ कोठे घर पहिरोले भत्किएको छ । मान्म बजारस्थित अग्रबहादुर शाहीको घर पनि वर्षाले भत्किएको छ । सदरमुकाम मान्मको जिरोपोइन्ट बजार पुरै जोखिममा छ । तिलाखोली, नेपाली सेनाको फ्यामिली क्वाटर भन्दा मुनिको जमिन भासिएर पहिरो जाने सम्भावना रहेको भन्दै त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा बस्न भनिएको प्रहरीले जनाएको छ ।

वर्षाले कृषिकले हालै रोपेको धान खेत र कमै बाली पनि क्षति पुर्याएको छ । लगातारको वर्षाले खेत भत्किएपछि रोपाइँ गरिएको धान खेतमा क्षति पुगेको खाडाचक्र-८ का हंसबहादुर मल्लले बताउनु भयाे । वर्षाले पहिरो गएर अवरुद्ध बनेको कर्णाली राजमार्ग सुर्खेत-जुम्ला सडकको केही ठाउँको पहिरो हटाइए पनि छेका, टिमुरे, एसमोड, हुल्मलगायतका ठाउँमा  पहिरो गएकाले पुन: सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताउनुभयाे ।

 

Photo20240708Salyan (1)

Photo20240708Salyan (2)

 


जगतदल जनाला विक