अविरल वर्षाका कारण बागमती प्रदेशमा तीन जनाको मृत्युः जनजीवन प्रभावित

  ०८१ असार २३

काठमाडौँको नागार्जुन नगरपालिका–३ मा खसेको पहिरोमा पुरिएर असार २१ गते नागार्जुन नगरपालिका–३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पुरिँदा गोरखा जिल्ला लखन थापा गाउँपालिका–६ घर भई हाल सोही रेष्टुरेण्टमा काम गर्ने मनोज विकको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले पहिराेमा परेर गम्भीर घाइते भएका विकको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

साथै कीर्तिपुर नगरपालिका–१० ल्याबोरोटरी स्कुलनजिकै बागमती खोलाका किनारमा बाढीमा फसेका तीन जनालाई सशस्त्र प्रहरीको एक टोलिले उद्धार गरेको छ । बागमती नदीमा फसेका मकवानपुरका उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामाको सशस्त्र प्रहरी बल नेपालको गोताखोरले सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

काभ्रे जिल्ला प्रतिनिधि सुमित्रा आचार्यका अनुसार अविरल वर्षाका कारण रोशी गाउँपालिका–११ स्थित भ्याकुरे खोलामा आएको बाढीले बगाउँदा ०८१ असार २२ गते दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोशी गाउँपालिका– ११ भीमखोरीकी ६५ वर्षीया जलमाया रुचाल मगर र ५ वर्षकी सेतीमाया रुचाल मगर रहेका छन् । उनीहरु फुपू भदैनी हुन् ।

खोला तर्ने क्रममा खोलाले बगाएका उनीहरुको शव झण्डै एक किलोमिटर तल फेला परेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर कृष्ण गिरीले बताउनु भयो ।

सोही खोलाको लेदोसहितको बाढीले बीपी राजमार्गमा राखिएको ह्युमपाइप बगाउँदा राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार रोशी गाउँपालिकाको सहयोगमा सड़क खुलाउने प्रयास भइरहेको छ ।

बनेपा हुँदै बर्दिवास जाने राजमार्ग र अरनीको राजमार्गको ठाउँ ठाउँमा पहिरो गएर यातायात सञ्चालनमा अवरोध हुँदा सयौँ यात्रुहरु अलपत्र परेका छन् ।

Photo20240707 Kavre Photo20240707-01 Kavre

यसैगरी वर्षाले बनेपा, पनौती र धुलिखेलको श्रीखण्डपुर क्षेत्र जलमग्न भएको छ । जसका कारण सर्वसाधरणको जनजीवन प्रभावित भएको छ ।
अविरल वर्षाका कारण बेथानचोक गाउँपालिका हुँदै खानीखोला गाउँपालिका जोडिएको चलाल गणेशस्थान, च्याल्टी, च्याम्राङवेशी र दाहालभन्ज्याङ सडक पहिरोले अवरुद्ध भएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताउनु भयो ।

दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरलेका अनुसार अविरल वर्षापछि आएको बाढीमा परेर ०८१ असार २२ गते गौरीशङ्कर गाउँपालिका–९ स्थित डोडाङका एक जना बेपत्ता भएका छन् भने तीन ओटा घर खाेलाले बगाएकाे छ ।

रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा असार २१ गते रातिदेखि सम्पर्कविहीन भएकी गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए ।

बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको वडाध्यक्ष शेर्पाले बताउनु भयाे ।


बागमती प्रदेश कार्यालय