अविरल वर्षाका कारण पहिरोले पुरिएर एक जनाको मृत्यु, चार जना बेपत्ता

  ०८१ असार १२ गते

अविरल वर्षाका कारण पहिरोमा पुरिएर लमजुङको बेसीशहर नगरपालिका– ११ चिति स्याउतका एक जना युवकको मृत्यु भएको छ भने अर्का एक युवक घाइते हुनुभएको छ ।

असार ११ गते राती घरमाथिबाट आएको पहिरोले कोठामा सुतिरहेका दुइजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते  दुवैलाई उपचारका  लागि बेसीशहरस्थित लमजुङ अस्पतालमा ल्याइएकोमा १७ वर्षीय बिकल सुनारको मृत्यु भएको हो । घाइते १८ वर्षीय मिलन सुनारको भने, अस्पतालमै उपचार भैरहेको छ ।

त्यसैगरि लमजुङको क्व्होलासोथार गाउँपालिका– ३ बगुममा मंगलबार राती पहिरोले घर बगाउँदा एकै परिवारका चार जना बेपत्ता भएका छन् ।

राती १२–१ बजेतिर गएको पहिरोले तीन ओटा घर बगाएको र दुई घरका चार जना बेपत्ता भएको वडा सदस्य बिनबहादुर घलेले बताउनुभयो । पहिरोमा परेर अन्दाजी ६९ वर्षीय रुद्रमान गुरुङ, अर्को घरमा बस्ने उहाँका बुहारी अन्दाजी ३७ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका दुई छोरीहरु ७ वर्षीया इच्छा र ५ वर्षीया नम्रता बेपत्ता भएको उहाँले बताउनुभयो ।

पहिरोले क्व्होलासोथार गाउँपालिकाका योजना प्रमुख चित्र घलेको घर बगाएको र घरमा रहेका अन्दाजी ३६ वर्षीय भाई भीमबहादुर घले घाइते भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार भीमबहादुर खोपीतिर सुतेका कारण बाँच्न सफल हुनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बेपत्ता भएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठको नेतृत्वमा र अस्थायी प्रहरी पोष्ट मालिङबाट प्रहरी खटिएको बताउनुभयो ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक घलेले बताउनुभयो । क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले पहिरोले बेपत्ता भएकाको खोजीकार्य भइरहेको बताउनुभयो ।


सुमित्रा भुजेल