अविरल वर्षाका कारण जनजीवन प्रभावित, विद्यालयहरू बन्द

चारदिन देखिको अविरल वर्षाका कारण जनजीवन जिल्लाको जनजीवन प्रभावित भएको छ । वर्षाले धनुषाको पूर्वी र दक्षिणी क्षेत्र पुरै डुवानमा परेको छ भने जनकपुरका करिब ७५ प्रतिशत घरमा पानी पसेको छ । वर्षाको कारण आजबाट विद्यालय बन्द गरिएका छन् । गाउँका कच्ची सडक तहसनहस भएपछि सवारी आवागमन ठप्प भएको जनकपुर अञ्चल बस व्यवसायी संघ जनाएको छ । सरकारी कार्यालयमा सेवाग्राही घटेका छन् । लगातार ४ दिनदेखिको अविरल वर्षाले नगर प्रवेश गर्ने सडक डुवानमा परेको छ ।

डुबानमा परेको जनकपुर उपमहानपा-१ का मुसहरी टोलका ५० घर परिवारका ३ सय ५० जनालाई सुरक्षित स्थानान्तरण गरिएको युवा अभियान्ता सुशील कर्णले बताए ।

स्वास्थ्यको अवस्था

अविरल वर्षाको कारण जनकपुर अञ्चल अस्पतालमा पानी पसेको छ । आकस्मिक  कक्षमा एक फिट पानी जमेकोले विरामीको उपचारमा कठिनाइ भएको छ । अस्पताल परिसरमा पानी जमेकोले बिरामीको औषधी ल्याउन र कुरुवालाई कठिनाइ भएको एक जना विरामी कुरुवाले बताए ।


विनोद कुमार रविदास