अविरल वर्षाका कारण घर भत्किएपछि पाँच बालबालिका सहित आठ जना घाइते

  ०८१ साउन ११ गते

अविरल बर्षाका कारण जाजरकोटमा घर भत्किएपछि एकै घरका आठ जना घाइते भएका छन् । छेडागाड नगरपालिका–१२ काँडागाँउका भूकम्प प्रभावित पदम अधिकारीको घर भत्किएको हो ।

अविरल वर्षाले साउन ९ गते दिउँसोको समयमा चारकोठे माटो ढुङ्गाले बनाएको घर भत्किएपछि घरमुली ३५ वर्षीय पदम अधिकारी सहित आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

घर भत्किएर घाइते हुनेमा १० वर्षीय दिनेश अधिकारी, ३० वर्षीया सरिता अधिकारी, १४ वर्षीय नविन अधिकारी, ६५ वर्षीया भिरकुली अधिकारी, १५ वर्षीय सुजाता अधिकारी, १६ वर्षीया सङ्गिता अधिकारी र १४ वर्षीय नवराज अधिकरी रहेको डिएसपी पाण्डेले बताउनु भयो ।

घर भत्किएर गम्भीर घाइते भएका ६ जनाको  जिल्ला अस्पतालमा  उपचार भइरहेका मध्ये घरमुली पदम अधिकारी, सरिता अधिकारी र दिनेश अधिकारीको अवस्था गम्भीर रहेको छ । आठ जना घाइते मध्य दुई जना सङ्गिता र नवराज अधिकारी सामान्य घाइते भएको प्रहरी प्रमुख डिएसपी पाण्डेकाे भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भूकम्पले प्रभावित घरपरिवार उच्च जोखिममा रहेकाले सार्वजनिक संस्थामा बस्न आग्रह गर्नु भएको छ । कति बेला के हुन्छ भन्ने कसैलाई पनि थाहा नभएकाले बर्खाको समयमा सुरक्षित बस्न आग्रह गर्नु भएको छ ।

Photo20240726Jajarkot (1)

 

Photo20240726Jajarkot (2)


बासुदेव शर्मा