अविरल वर्षाका कारण आएको पहिरोले गण्डकी प्रदेशका जिल्लामा सडकहरु अवरुद्ध, जनजिवन प्रभावित

  ०८१ असार २२ गते

बागलुङ जिल्ला प्रतिनिधि सृजना पन्तका अनुसार– अविरल वर्षाका कारण पहिरोले बागलुङमा प्रहरी चौकी पुरिएको छ । दुई दिनदेखि निरन्तर परेको वर्षाका कारण चौकी माथिदेखि पहिरो खस्दा प्रहरी चौकी पञ्चकोटको भवन पुरिएको हो । पहिरोले बागलुङ नगरपालिका–६ सर्वसिद्धिधाम पञ्चकोट जाने बाटोमा बनाइएको सिढी र पर्खाल भत्किदा प्रहरी चौकीको भवन पुरिएको हो ।

मानवीय क्षति नभए पनि चार कोठे भवनको तीन ओटा कोठाहरु पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । पञ्चकोट क्षेत्रको सुरक्षाका लागि मन्दिर व्यवस्थापनले निर्माण गरेको प्रहरी चौकीको उक्त भवन पहिरोले भत्किएपछि त्यहाँ खटिएका पाँच जना प्रहरी जवानलाई पञ्चकोट मन्दिरको गण्डकी सभाहलमा सारिएको छ ।

पहिरोले मोटरसाइकलसहित कार्यालयमा रहेको कागजातहरु पुरिएको प्रहरी उपरीक्षक कँडेलले बताउनुभयो । अहिले जिल्ला प्रहरी कार्यालय बागलुङबाट १० जना र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट १४ जना गरि २४ जनाको टोली घटनास्थल पुगेर उद्धार कार्य थालिएको उहाँको भनाई छ ।

photo1081322baglung (2)

photo3081322baglung

नवलपुर जिल्ला प्रतिनिधि ज्ञानु पगेनीका अनुसार – वर्षाका कारण नवलपुरको  पहाडी मार्गहरू अवरुद्ध भएका छन् । नवलपुरको दलदले–बुलिङ्गटार सडक खण्डको पाङ्ग्रेमा दिनहुँजसो पहिरो खसेपछि  यस खण्ड भएर आवतजावत गर्नेले सास्ती भोग्नुपरेको छ ।

वर्षा सुरु भएदेखि नै पाङ्ग्रेमा दिनहुँ पहिरो खस्ने गरेको छ । यस सडक खण्ड भएर जिल्लाको पहाडी तीन पालिका बुलिङटार, बौदीकाली र हुप्सेकोटका विभिन्न  बस्तीबाट आवतजावत गर्ने स्थानीयलाई  सदरमुकाम कावासोतीमा महत्वपूर्ण काम गर्न आउन समेत गाह्रो भएको छ ।

बुलिङटारका स्थानीय पूर्ण बहादुर थापाले पाङ्ग्रेसंगै अन्य विभिन्न ठाउँमा समेत सानो सानो पहिरो खसिरहेकोले यस सडक खण्डमा यात्रा गर्न जोखिम भएको बताउनुभयो । विगत हप्ता दिन देखी सुरु भएको वर्षाले पहाडी क्षेत्रको मुख्य सडक खण्डको पाङ्ग्रेमा  दिनहुँ पहिरो खसेपछि यस क्षेत्रमा चल्ने सार्वजनिक सवारी नियमित रुपमा चल्न सकेका छैनन् । जसले गर्दा  बिरामी परेका स्थानीय बढी मर्कामा परेको थापाले बताउनुभयो । पहिरोले आधाजसो सडक खण्ड नै  बगाएपछि मोटरसाइकल भएर यात्रा गर्ने स्थानीय र पैदलयात्री समेतलाई यस सडक खण्डबाट यात्रा गर्न जोखिमपूर्ण बनेको थापाले गुनासो गर्नुभयो ।

पहाडी क्षेत्रमा जाने सडक वर्षाको समयमा प्रतेक वर्ष  महिनौँसम्म अवरुद्ध हुने गर्दछ ।  सडकको स्तर उन्नति गर्ने काम चलिरहेकाले अझै बढि पहिरो खस्ने र हिलो हुने सम्भावना बढेको छ । भित्तो काट्ने र ग्राभेल बिछ्याउने काम समेत चलिरहेकाले सानो पानी परेपछि सडक अवरुद्ध हुने गरेको छ ।

सडक अवरुद्ध भएर सवारी चल्न नसक्दा यस क्षेत्रका  अर्खला, बुलिङ्गटार, धौबादी, डेढगाउँ, डाडाझेरी, रकुवा, रुचाङ्ग, भारतीपुर, मिथुकरम लगायतका हजारौं नागरिक प्रभावित भएका छन् । सडक अवरुद्ध हुँदा त्यसैगरी पहाडी क्षेत्रमा उत्पादित कृषि सामग्रीलाई बजारसम्म ल्याउन पाएका छैनन् भने बजारबाट अत्यावश्यक खरिद गरेर गाउँ लैजान नपाएको बौदीकाली निवासी जिल्ला समन्वय समिति सदस्य समेत रहनुभएकी पिन कुमारी चितौराले जानकारी दिनुभयो ।

यसैगरी  नवलपुरको गैडाकोट – डेढगाउँ कालिगण्डकी करिडोर अन्तरगत बुलिङटार– ६  मा पर्ने तरङ खोलामा बाढीले ह्युमपाइप बगाएपछि यात्रु अलपत्र परेको स्थानीय रुटका जिप चालक भोज पुलामीले बताउनुभएको छ ।

आज ११ बजेतिर  खोलामा आएको बाढीले ह्युमपाइप बगाएपछि गैडाकोटबाट गएका र डेढगाउँबाट आउँदै गरेका जिप, मोटरसाइकल अलपत्र परेको पुलामीले बताउनुभयो । जेसिबीको प्रयोग गरेर ह्युमपाइप मिलाउन सकेमा सडक सुचारु गर्न सकिने  अवस्था रहेको उहाँको भनाई छ ।

यस्तै नारायणगढ बुटवल सडक खण्ड अन्तरगत दाउन्नेमा पहिरो खसेको हुँदा एकतर्फी मात्रै सवारी सञ्चालन भएको छ । जसले गर्दा सवारीको जाम लागेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले तरङ खोलामा सडक सुचारु गर्न पहल भइरहेको बताउनुभएको छ । निरन्तर वर्षा भइरहेकाले काम गर्न  गाह्रो भइरहेको उहाँले बताउनुभएको छ । पहिरो गएको ठाउँमा समेत पहिरो पन्छाएर सडक खुलाउन समन्वय भइरहेको उहाँले बताउनुभएको छ ।

photo2 081322baglung

photo4081322nawalpur

लमजुङ जिल्ला प्रतिनिधि सुमित्रा भुजेलका अनुसार —बेंसीसहर–चामे सडकको लमजुङ खण्ड मर्स्याङ्दी गाउपालिका– ४ जगत र हावाडाँडाबीचको खोल्सीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएपछि तल्लो मनाङतर्फ आवतजावत रोकिएको छ । तिमाङमा केही दिनअघि बाढीपहिरोले पुल बगाएपछि चामेसहित माथिल्लो मनाङमा सवारीसाधन आवतजावत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईंले अविरल वर्षासँगै आएको पहिरोले बाटो अवरुद्ध भएको र खुलाउन प्रहरी टोली खटिएको बताउनुभयो ।

मर्स्याङ्दी गाउँपालिका– ४ का वडाअध्यक्ष बलबहादुर गुरुङले हावाडाँडा र जगतबीचको सडकमा ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएको बताउनुभयो । उहाँले तल्लो क्षेत्रबाट सवारी आवागमन समेत नभएको बताउनुभयो ।


इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा ।