अर्नाकोटमा खानेपानीको चरम अभाव

  ०७८ फागुन २९ गते

बागलुङको निसीखोला गाउँपालिका२ अर्नाकोट देउरालीमा वर्षौँदेखि खानेपानीको चरम अभाव रहेको छ ।

एक गाग्री पानी ल्याउन यहाँका स्थानीयहरुले दैनिक घण्टौ यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

२ सय ५० घरधुरी रहेको सो गाउँमा वर्षौदेखि पानीको अभाव भएपनि सो समस्या बारे सरोकारवालाले वेवास्ता गर्दै आएको स्थानीय बासीले गुनासो गरेका छन् ।

गाउँ नजिक पानीको मुहान छैन्, सरोकारवालाले वेवास्ता गर्छन।,’ –स्थानीय बेगबहादुर कुँवरले भन्नुभयो – ‘गाउँले मिलेर ल्याउँभन्दा पनि लगानी धेरै लाग्छ, हाम्रो आर्थिक अवस्था कमजोर छ ।

बर्खामा आकाशे पानी घ्याम्पोमा जम्मा गरेर प्रयोग गर्दै आएको भएपनि हिउँदमा भने पानीको हाहाकार हुने स्थानीय काली विकले बताउनुभयो ।

एक संस्थाको सहयोगमा निर्माण गरिएका सिमेन्टका घ्याम्पोमा बर्खामा आकाशबाट परेको पानी जम्मा गरेर यहाँका स्थानीयले वर्षभरी पुर्‍याउँनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

तेल पुर्‍याएझै पानी पुर्‍याएर प्रयोग गर्छाै ।,– उहाँले भन्नुहुन्छ– ‘गाउँ नजिकका पोखरी र कुलो खोल्साको फोहोर पानी समेत पिउनुपर्ने बाध्यता रहेको छ ।

घ्याम्पोको पानी धेरै समय पुग्दैन, पर्याप्त पानी नभएपछि कुवा, पोखरीमा भएको फोहोर पानीपनि उपभोग गर्नुपर्‍यो, विकल्प नएपछि पशुलाई पनि त्यही मानिसले पनि त्यही पानी प्रयोग गर्नुपर्छ ।’ –उहाँले भन्नुभयो– ‘फोहोर पानी प्रयोग गर्दा स्वास्थ्य समस्या समेत हुने गरेको छ, फोहोर पानीले सरसफाई त गर्न निकै गाह्रो, हुन त पानी नै फोहोर भएपछि कसरी सफाइ गर्न सकिन्थ्यो र?’

स्थानीय छविलाल रसाइलीले आफूले वर्षदेखि घण्टौको यात्रा गरेर पानी बोकेर उपभोग गरेको बताउनुहुन्छ ।

उहाँले बर्खाको समयमाआकाशे पानी प्रयोग गरेपनि हिउँदको समयमा गाउँभन्दा टाढा रहेको धारोमा पुग्ने गरेको बताउनुभयो । गाउँमा खानेपानी नहुँदा बालबालिकालाई विद्यालय पठाउन, सरसफाइ गर्न र सिचाइ गर्न निकै समस्या भएको बताउनुहुन्छ ।

मैले घण्टौँ लगाएर पानी बोक्न थालेको ४० वर्ष बढी भयो, गाउँमा पानी छैन, पहिले त अलिअलि आउँथ्यो, मान्छेहरु बढ्दै गएपछि पुग्नै छोड्यो, अहिले त झन् मुहानै सुक्यो, त्यसले गर्दा पल्लो गाउँमा गएर पानी ल्याउनबाहेक अरु उपाय छैन ।,’ –रसाइलीले भन्नुभयो– ‘पानी टाढा हुँदा केटाकेटीलाई स्कूल पठाउन, सरसफाइ गर्न, गाईभैँसीलाई खुवाउन निकै गाह्रो हुन्छ ।

सो वडाका वडाध्यक्ष कविर विश्वकर्माले खाने पानीको समस्या समाधान गर्न केन्द्र र प्रदेश सरकारसँग समन्वय भइरेको बताउनुभयो ।

 


सिर्जना पन्त