अर्धचेत र नग्न अवस्थामा किशोरी फेला, सामूहिक बलात्कार गरेको प्रहरी आशङ्का

इनरुवा नगरपालिका-६ मधेशामा भदौ ९ गते राति एक किशोरीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीडित किशोरी राति ९ बजेको समयमा पूर्व-पश्चिम राजमार्गको हलेसी चोक सडकखण्ड नजिक अर्धचेत र नग्न अवस्थामा फेला परेकी हुन् ।

अन्दाजी १८ वर्षीया किशोरीलाई सामूहिक बलात्कारपछि नग्न अवस्थामा फेला पारिएको भन्दै जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले उद्धार गरी उपचार गराएको छ ।

नग्न अवस्थामा भेटिएकी किशोरीको शरीरमा लगाउने कपडाहरू भने केही मिटर पर फेला परेको छ । कपडा च्यातिएको अवस्थामा भेटिएको स्थानीयबासीहरूले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीले किशोरीमाथि बलात्कार भएको आशङ्का गरिएको बताएका छन् ।

एसपी अधिकारीले अर्धनग्न अवस्थामा अर्धचेतमा रहेकी पीडित किशोरीको यौनाङ्गबाट रगत बगेको अवस्थामा भेटिएपछि जिल्ला अस्पताल इनरुवामा उपचारका लागि लगिएको जानकारी दिए ।

घटनाको विषयमा अनुसन्धान सुरू गरिएकाले बलात्कारको विषयमा अहिले सबै कुराहरू एकिन साथ भन्न नसकिने बताउँदै एसपी अधिकारीले भने मेडिकल रिपोर्ट आएपछि मात्रै स्पष्ट हुने बताए ।

सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले इनरुवा-६ स्थित मधेशाका तीन जनालाई अनुसनधानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।


जयकृष्ण यादव