अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

  ०७९ चैत १६ गते

गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।

गोलबजार नगरपालिकाको लेटरप्याडमा चैत १५ गते दिएको उजुरी जिल्ला प्रहरी कार्यालय सिरहाले दर्ता गरेको डिएसपी रबिन्द्रराज पाण्डेले बताउनु भयो ।

आरोपित महरालाई सवारी चालक रामकेवल मण्डललगायतका कर्मचारीले चैत १४ गते घटना स्थलबाटै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । सिरहा जानका लागि गोलबजार नगरपालिका कार्यालयबाट गाडी चढ्दै गरेका बेला नगर प्रमुख श्रेष्ठमाथि आरोपितले मोबिल छ्यापेको आरोप छ । प्रमुख श्रेष्ठका अनुसार अपरिचित एक व्यक्तिले केही कागजहरू दिएजस्तो गरिरहेकै बेला आरोपितले शरीरमा मोबिल छ्यापेका थिए ।

सवारी चालक मण्डलले महरालाई नियन्त्रणमा लिएको र अर्का अराोपित फरार भएको जानकारी दिनुभयो । मोबिल छ्याप्नेहरूले नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को जनसंघर्ष परिचालन समितिको पर्चा समेत छरेका थिए ।

प्रमुख श्रेष्ठका समर्थकहरूले चैत १५ गते बिहान गोलबजार स्थित पूर्व–पश्चिम राजमार्ग एक घण्टा अवरुद्ध गरी आरोपितलाई कारबाहीको माग गर्दै नाराबाजी समेत गरेका थिए ।


दुर्गा परियार