अमर्यादित शब्द प्रयोग नगर्न जनप्रतिनिधिलाई ध्यानाकर्षण–पत्र

  ०८० वैशाख २५ गते

सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा अभिव्यक्ति दिँदा पत्रकारहरूलाई होच्याएर अमर्यादित र अपमानजनक शब्द प्रयोग नगर्न आग्रह गर्दै सुनसरीका पत्रकारहरूले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ्ग) लाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मानव अधिकार रक्षकले पारिभाषित गरेका पत्रकारहरूलाई अमर्यादित र अपमानजनक शब्द प्रयोग नगर्न आग्रह गर्दै ०८० वैशाख २४ गते ध्यानाकर्षण पत्र बुझाएको नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाका अध्यक्ष जनकऋषि राईले बताउनु भयो ।

अध्यक्ष राईले केही दिनयता मेयर राईले पत्रकारहरूलाई होच्याएर अभिव्यक्ति दिएकोले सो सम्बन्धमा वैशाख २६ गतेभित्र मेयरको आधिकारिक धारणा सार्वजनिक गर्न समेत माग गरिएको बताउनु भयो ।

धरानका पत्रकारहरूले आफूले गरेका राम्रा कामलाई प्राथमिकता नदिएको तर आफूविरूद्धका समाचारलाई स्थान दिएको भन्दै मेयर साम्पाङ्गले सञ्चार माध्यममा अभिव्यक्ति दिने क्रममा पत्रकारहरूलाई होच्याएर बोल्दै आएका छन् ।

मेयरको अन्तर्वार्ता लिन गएका पत्रकारहरूलाई कुन पार्टीको झोले पत्रकार हो ? भन्दै मेयर साम्पाङ्गले अपमान गरेपछि मेयरको ध्यानाकर्षण गराएको पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरेले बताउनु भयो ।

मानव अधिकार रक्षक सम्बन्धी घोषणपत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ ।


जयकृष्ण यादव