अभियान्ता सुनार रिहाइकाे माग गर्दै जुम्लामा विराेध प्रदर्शन

  ०८१ साउन ३० गते

दलितका लागि दलित नेपालका प्रमुख एवम् दलित अभियान्ता खगेन्द्र सुनार रिहाइको माग गर्दै जुम्लामा विराेध प्रदर्शन गरेकाे छ । बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजेपछि प्रमुख एवम् दलित अभियान्ता सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै रिहाइको माग गर्दै विराेध प्रदर्शन गरेकाे हो ।

‘दलितलाई खै ?’ लेखिएको ब्यनारसहित उहाँ एक सातादेखि माइतीघर मण्डलामा धर्नामा बसिरहनु भएकाे थियाे । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलमा दलितलाई उपेक्षा गरिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । १४ प्रतिशत जनसङ्ख्या ओगटेका दलितलाई बेवास्ता गरेर समावेशीकरण र समतामूलक समाज स्थापना नहुने सुनारको भनाइ छ ।

सङ्घ तथा प्रदेश सरकार र राजनीतिक नियुक्तिमा १३.८ प्रतिशत दलित अनिवार्य गर्नुपर्ने, संवैधानिक रूपमा व्यवस्था गरिएको आरक्षण, समानुपातिक समावेशी व्यवस्था कार्यान्वयन तथा दलितका संवैधानिक हक कार्यान्वयनका लागि तत्काल कानुन निर्माण गर्नुपर्ने, १३.८ प्रतिशत दलित प्रत्यक्षतर्फ नै निर्वाचन हुनेगरी निर्वाचन कानुन बनाउनुपर्ने, दलित समुदायमाथि भएका घटनाको न्याय निरुपणका लागि छानबिन आयोग गठन गर्नुपर्ने र बजेट तथा राज्यका स्रोत-शक्तिको बाँडफाट दलितमैत्री हुनुपर्ने सुनारको माग छन् ।

जिल्ला प्रहरी कार्यालय नजिकैबाट सुरू भएकाे विराेध र्‍याली जिल्ला प्रशासन कार्यालय, जुम्लामा पुगेर टुङ्गिएकाे थियाे । प्रर्दशन टाेलीले सुनार रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाइएकाे छ ।

Photo14082024Jumla


मानदत्त रावल