अब मानव अधिकारका नयाँ विषयमा प्रवेश गर्नुपर्छः अध्यक्ष डा. अर्याल

  ०८० फागुन ९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालले मानव अधिकारको क्षेत्र थप वृहत् हुँदै गएको बताउनुभएको छ ।

इन्सेक जिल्ला प्रतिनिधिको भेलालाई ०८० फागुन ८ गते काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष अर्यालले मानव अधिकारको क्षेत्र बढेसँगै मानव अधिकार उल्लङ्घन र ज्यादतीका क्षेत्र पनि बढेको बताउनु भयो । त्यसैले मानव अधिकार रक्षकको जिम्मेवारी थप बढेको उहाँको भनाइ छ ।

मानव अधिकार अभियान निरन्तर चलिरहने अभियान भएको उहाँले बताउनु भयो । अति विकसित र अति प्रजातान्त्रिक भनिएका मुलुकमा समेत मानव अधिकार उल्लङ्घनका घटना हुने भएको बताउँदै अर्यालले यसका स्वरूप मात्र फेरिने प्रष्ट पार्नुभयो ।

हिजो नागरिक अधिकार र राजनीतिक अधिकारको विषय मानव अधिकारको प्रमुख विषय भएकोमा अब त्यसको क्षेत्र थप फराकिलो भएको उहाँले जानकारी दिनुभयो । नागरिक तथा राजनीतिक अधिकारसँगै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका क्षेत्र अबको मानव अधिकारका प्रमुख क्षेत्र भएको उहाँले प्रष्ट पार्नुभयो । ‘अबका मुद्दा नागरिक, राजनीतिक अधिकार भन्दा बढी आर्थिक, सामाजिक सांस्कृतिक अधिकारका क्षेत्रमा जानुपर्छ’, अर्यालले भन्नुभयो ।

यस बाहेक साइवर क्राइम र वातावरण परिवर्तनका विषयलाई मानव अधिकारका प्रमुख मुद्दा बनाउन जरुरी रहेको अर्यालको भनाइ छ । ‘अब हामी मानव अधिकारका नयाँ विषयमा प्रवेश गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेक सबैले विश्वास गर्ने मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्था भएको बताउनु भयो । त्यो विश्वासलाई टिकाई राख्न इन्सककर्मीले थप जिम्मेवार र जबाफदेही भएर काम गर्नु पर्नेमा कार्यकारी निर्देशक गौतमले जोड दिनुभयो ।

DSC_0440


नवराज घिमिरे