अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षित रूपमा फर्काउन आयोगको आग्रह

  ०७८ भदौ २ गते

अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको एकीन तथ्याङ्क र वास्तविक अवस्था पत्ता लगाई शीघ्र र सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण मिलाउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।

अफगानिस्तानमा हालै देखिएको राजनीतिक घटनाक्रमबाट उत्पन्न परिस्थितिमा त्यहाँ रहेका नेपाली नागरिकहरूको जीवन जोखिममा पर्न सक्ने अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले भदौ १ गते विज्ञप्ति प्रकाशन गरी सरकारलाई सो आग्रह गरेको हो ।

आयोगका अध्यक्ष तपबहादुर मगरले जुनसुकै हैसियतमा अफगानिस्तान पुगेका भए पनि जोखिममा रहेका सबै नेपाली नागरिकहरूको उद्धार गर्न सरकारलाई निर्देशन दिनुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तालीवानीले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएसँगै अफगानिस्तानमा वैदेशिक रोजगारीको लागि गएका नेपाली नागरिकहरू जोखिममा पर्न गएको जानकारी विभिन्न सञ्चार माध्यममा आइरहेको आयोगले जनाएको छ ।

विशेषगरी श्रम स्वीकृति नलिई अन्य मुलुक हुँदै अफगानिस्तान पुगेका र भिसा अवधि समाप्त भएका नेपाली नागरिकहरू जोखिममा परेका र बेरोजगार अवस्थामा रहेकाले खान, बस्न समस्या भोगिरहेको जानकारी आयोगलाई प्राप्त भएको जनाइएको छ ।

यसैगरी विज्ञप्तिमा अनिश्चित राजनीतिक घटनाक्रम र द्वन्द्वग्रस्त अवस्थाका कारण श्रम स्वीकृति लिएर गएका नेपाली नागरिकहरू समेत जोखिममा रहेको देखिएको र उनीहरूको एकीन तथ्याङ्क नरहेको पाइएको जनाएको छ ।

यसै सन्दर्भमा अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धारका सम्बन्धमा नेपाल सरकारले गरेका प्रयासहरूको बारेमा आयोगले परराष्ट्र सचिव भरतराज पौडेल र वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीसँग आयोगमा छलफल गरेको विज्ञप्तिमा उल्लेख छ ।

अत: थप प्रभावकारी कुटनीतिक पहल गर्न तथा जोखिमपूर्ण अवस्थामा रहेकाहरूको जीवन रक्षा गरी मानव अधिकारको संरक्षण गर्न नेपाल सरकारलाई आग्रह गरेको आयोगका सहसचिव एवम् प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


दीपकप्रसाद घिमिरे