यौन दुर्व्यवहार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

  ०८० चैत २१ गते

१४ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले पाणिनी गाउँपालिका-२, पोखराथोकका ४७ वर्षीय कृष्णबहादुर परियारलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश कृष्णजङ्ग शाहको चैत २० गतेको इजलासले कसुर ठहर गर्दै १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति उपलब्ध गराउने फैसला गरेको जिल्ला अदालत, मुद्दा फाँटका नायब सुब्बा रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।

पीडित बालकलाई आरोपितले ०७९ कात्तिक ७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई कात्तिक ९ गते गिरफ्तार गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक ९ गते अर्घाखाँची अस्पताल, सन्धिखर्कमा गरिएको थियो । जिल्ला अदालतको कात्तिक ३० गतेको आदेशले परियारलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।


कुलबहादुर नेपाली