अपि हिमाल गाउँपालिकामा तिहारमा खाद्यान्न अभाव
दार्चुलाको अपि हिमाल गाउँपालिकामा तिहारको मुखमा खाद्यान्न अभाव भएको छ । यो क्रम तिहारसम्मै लम्बिने पक्कापक्की रहेको बताइएको छ । नेपाल खाद्य संस्थान अञ्चल कार्यालय धनगढीले समयमै खाद्यान्न ढुवानी गर्न नसक्दा अपि हिमाल गाउँपालिकामा खाद्यान्न अभाव हुने भएको हो ।
दसैँमा समेत चामल नपाएका अपि हिमाल गाउँपालिकाबासीले तिहारमा झनै अभाव झेल्ने भएका छन् । 'दसैँमा एक अर्कासँग मागेर दसैँ मनाएका छौँ ।'-अपि हिमाल गाउँपालिका-४ का स्थानीय कल्यानसिंह बोहराले भने-'तिहार अगावै चामल नपुग्ने हो भने तिहार खल्लो हुने अवस्था छ ।'
खाद्य संस्थानले यस वर्षदार्चुलाको खण्डेश्वरी डिपोको लागि चामल ढुवानी नगर्दा स्थानीयले समस्या झेल्नु परेको हो । 'गाउँपालिकाभर खानलाई समेत चामल छैन ।'-उनले भने । व्यापारिक प्रयोजनका लागि ल्याइएको चामल अति नै महङ्गो हुँदा सर्वसाधारणले किन्नै नसक्ने अवस्था छ ।
अपि हिमाल गाउँपालिकाले तीन महिना अघि नै खाद्य संस्थान धनगढीलाई चामल ढुवानी गर्न अनुरोध गरेपनि हालसम्म ढुवानी नगरेको अपि हिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले बताए ।
अपि हिमाल गाउँपालिकामा खेतबाट उत्पादित अन्नले तीन महिनासम्म मात्रै पुग्छ । बाँकी समय व्यापारी र खाद्य संस्थानको चामलबाट छाक टार्नुपर्ने अवस्था छ । अपि हिमाल गाउँपालिकामा चामल भन्दा नुन महङ्गो छ । चामल ४० देखि ५० रुपियाँ प्रतिकिलोग्राम पाइएपनि नुन ६० देखि ८० रुपियाँ प्रतिकिलो खानुपर्ने बाध्यता छ । सदरमुकाम खलङ्गाबाट दुई दिनको दुरीमा पुगिने अपि हिमाल गाउँपालिकामा सडक सञ्जालमा जोडिन नसक्दा महङ्गो खाद्यान्न र अभाव झेल्नुपरेको हो । गाउँपालिकाले १० हजार क्वीन्टल खाद्यान्न माग गर्दा पनि ढुवानी गरिएको छैन ।
यसैबिच व्यासको सुनसेरा डिपो र अपि हिमाल गाउँपालिकाको खण्डेश्वरी डिपोको लागि खाद्यान्न डिपो गर्न ताकेता भएको छ । अपि हिमाल गाउँपालिका र व्यास गाउँपालिकामा खाद्यान्न अभाव सिर्जना भएपछि आपूर्ति मन्त्रालयबाटै ताकेता भएको हो ।
आपूर्ति मन्त्रालयले असोज २२ गते नेपाल खाद्य संस्थान भद्रकाली काठमाडौँलाई दार्चुलाको दुई ओटै डिपोमा ३/३ हजार क्वीन्टल खाद्यान्न ढुवानी गर्न ताकेता गरेको हो । गाउँपालिकाको माग अनुसार जिल्ला प्रशासन कार्यालयको परिपत्रको आधारमा मन्त्रालयले ताकेता लगाएको जनाएको छ । मन्त्रालयका शाखा अधिकृत शकुन्तला राईले तत्काल खाद्यान्न आपूर्ति गर्न परिपत्र गरेको बताएकी छन् ।
अपि हिमाल गाउँपालिकामा खाद्यान्न नहुँदा तिहार मनाउनै मुस्किल हुने भएकाले सो ताकेता गरेको मन्त्रालयले जनाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले समेत खाद्यान्न ढुवानी तथा नुन डिपो स्थापना गर्न मन्त्रालयलाई अनुरोध गरिएको बताए । जनताले महङ्गो मूल्यमा नुन खाइरहेको अवस्थाको अन्त्य गर्न नुन डिपो स्थापना गर्न भनिएको र खाद्यान्न पनि तिहार अगावै बन्दोबस्त गर्न अनुरोध गरिएको उनले जानकारी दिए ।
यस्तै अपि हिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले खाद्य संस्थान अञ्चल कार्यालय धनगढीलाई तिहार अघि नै खाद्यान्न ढुवानी गर्न आग्रह गरेको बताए । तिहार अघि नागरिकलाई खाद्यान्न पुर्याउने गरी व्यवस्था मिलाउन ताकेता गरिएको उनले बताए ।
खाद्य संस्थान अञ्चल कार्यालय धनगढीका निमित्त प्रमुख गङ्गादत्त पन्तले पनि सबै क्षेत्रबाट खाद्यान्न ढुवानी हुनुपर्ने माग आइरहेको बताए । अपि हिमाल गाउँपालिकाको खण्डेश्वरी डिपो र व्यास गाउँपालिकाको सुनसेरा डिपोको लागि टेण्डर आह्वान गरिएपनि लागत अनुमानभन्दा बढिको कोटेशन परेपछि पहिलो चरणमा रद्ध गरिएको जनाइएको छ ।
'अहिले तिहारको लागि सुनसेरा डिपोमा १ हजार ५ सय हाराहारीमा खाद्यान्न ढुवानी भइरहेको छ ।'-जोशीले भने-'पुरानै निर्माण व्यवसायीमार्फत ढुवानी व्यवस्थापन मिलाइएको हो ।' सुनसेरा डिपोको लागि एक ट्रक खाद्यान्न आइसकेको छ भने सोमबार मात्र एक ट्रक खाद्यान्न लोड भइरहेको अञ्चल कार्यालयले जनाएको छ ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थलारा गाउँपालिका–४ का ६० वर्षीय गम्भिरे सार्कीलाई ०८१ चैत ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १५ गते बलात्कार…
मानव अधिकार उल्लङ्घनका तथ्याङ्कलाई विश्लेषणात्मक बनाउनुपर्नेमा जोडः अध्यक्ष डा. अर्याल
मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको तथ्याङ्कलाई विश्लेषणात्मक रूपमा प्रस्तुत गर्नुपर्नेमा आवश्यकता रहेको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताउनु भएको छ । इन्सेकद्वारा ०८१ चैत ८ गते चितवनमा आयोजित नेपाल…