अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा

  ०८० असोज ७ गते

अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको छ ।

यातायातको पहुँचबाट टाँढा रहेका दुर्गमका खाद्य डिपो खण्डेश्वरी, सुनसेरा, राप्ला, छाङ्गरुमा चामल ढुवानी नभएपछि यस्तो अवस्था आएको हो । व्यासको छाङ्गरु तिंकरको लागि खाद्यान्न नआउँदा भारतीय बजारको चामलमा निर्भररहनु परेको व्याँस गाउँपालिका–१ का स्थानीय हितेश बुढाथोकीले बताउनु भयो । दुम्लीङ राप्ला क्षेत्रमा समेत खाद्यान्न तीन महिनादेखि ढुवानी भएको छैन् । भारतबाट खाद्यान्न ल्याउन तुइन बारम्बार एसएसबीले काटि दिने गरेको छ, व्याँस २ का स्थानीय प्रभात बुढाथोकीले भन्नु भयो, नेपालतिर बाटो समेत छैन् ।

बिक्री केन्द्रमा चामल नहुँदा खाली हात फर्कनुपरेको अपीहिमाल–४ का स्थानीय जमनसिह मन्यालले बताउनु भयो । गत भदौ अन्तिम साता यता खण्डेश्वरीमा चामल सकिएको छ । खाद्यको बिक्री केन्द्रमा चामल नभएपछि स्थानीयलाई समस्या भएको छ । चाडपर्व सुरु हुन थालेका छन् । सरकारको खाद्य पसलमा खाद्यान्न नभएको स्थानीयको गुनासो छ ।

अपीहिमाल गाउँपालिकाका सबै स्थानीय बासिन्दा खण्डेश्वरीस्थित खाद्यको डिपोमै निर्भर रहनु पर्ने बाध्यतामा छ  ।  उब्जनी न्यून क्षेत्रका स्थानीय अधिकांश समय किनेर खानुपर्ने बाध्यतामा रहेको छ । यहाँको उत्पादनले ३ देखि ६ महिनासम्म पनि पुग्दैन्, स्थानीय प्रेमसिह कार्कीले भन्नु भयो, त्योबाहेक खाद्य संस्थान र व्यापारीबाट चामल खरिद गरेर खानु पर्ने हुन्छ ।

पाखो जमिन छ । सिञ्चित क्षेत्र नभएको हुँदा खेतीपाति हुँदैन् । जडिबुटी र यार्सागुम्बा संकलन, बिक्री गरेर यहाँका स्थानीयको जिविका चल्ने गर्छ ।

अपीहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीमा गाडी पुगेको छैन् । उक्त क्षेत्रमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपोबाट गाउँलेले चामल किन्ने गरेका थिए । लामो समयदेखि खाद्यान्न ढुवानी रोकिएको छ । ‘पाँच÷सात दिनअघिसम्म ६ कुण्टेल चामल मौज्दात थियो । त्यो सकियो‚ अरु आइपुगेन‚’ खण्डेश्वरी डिपोका कर्मचारी नरभानसिह ठेकरेले भन्नु भयो, ‘तत्काल चामल ढुवानी हुने अवस्था छैन । ढुवानीको ठेक्का प्रक्रियामै भएकाले दशैँ अगावै चामल आउने सम्भावना कम देखिन्छ ।’

गत वर्ष अपीहिमाल गाउँपालिकाले ४ हजार कुण्टेल चामल माग गरेकोमा खाद्य व्यवस्था कम्पनीबाट १ हजार ७ सय ३४ कुण्टेल मात्र ढुवानी भएको थियो । बिक्री केन्द्रहरुमा स्थानीय उपभोक्ता खाद्यान्न खरिदका लागि आउने गरेका छन् । वर्षायाममा खाद्यान्न ढुवानी नहुँदा जिल्ला सदरमुकामको खाद्य बिक्री केन्द्र खलंगा बाहेक खाद्य डिपो र बिक्री केन्द्रमा खाद्यान्न मौज्दात छैन् ।

व्यापार कम्पनीको खलंगा बिक्री केन्द्रको गोदाममा अहिले चानचुन एक महिनाका लागि खाद्यान्न मौज्दात रहेको स्टोरकिपरसमेत रहेका ठेकरेले बताउनु भयो । सदरमुकामको गोदाममा अरुवा र मकवानपुरे ४ सय १३ कुण्टेल मोटो चामल र १ सय ८० कुण्टेल मसिनो चामल मात्रै मौज्दात छ । अहिले दैनिक २५ / ३० कुण्टेल चामल बिक्री हुने गरेको छ । यहाँ पनि चामल ढुवानी नहुने हो भने दशैतिहारमा खाद्यान्न अभाव हुने अवस्था आएको छ ।

खलंगा गोदामका लागि व्यापार कम्पनी लिमिटेडले १ हजार ९ सय कुण्टेल चामल ढुवानी ठेक्का प्रक्रियामा छ । वर्षा सुरु भएपछि खलंगा बिक्री केन्द्रबाहेक अन्य ठाउँमा चामल ढुवानी हुन सकेको छैन । गत वर्ष माग अनुसार खाद्यान्न ढुवानी नहुँदा अहिले बिक्री केन्द्रहरु रित्तिएको हो ।

जिल्लाका खलंगा गोदामसहित सुन्सेरा, कुणी, रातामाटा, घुसा, सितोला, नागु, खण्डेश्वरी, पारिबगर, राप्ला, दुम्लिङ्, माल, व्यास बिक्री केन्द्रका लागि साढे ८ हजार कुण्टेल चामल ढुवानीका लागि ठेक्का प्रक्रियामा छ । उक्त बिक्री केन्द्र र गोदामका लागि ठेक्का प्रक्रियामा रहेको र स्वीकृत हुन बाँकी छ ।

केही ठाउँका गाउँले डिपोमा चामल किन्न आएर नपाएपछि बजारको महँगोमा किनेर घर फर्किएका छन् । उक्त चामल ढुवानी ठेक्का प्रक्रियामा रहेकाले चामल आउने अहिले कुनै टुंगो छैन् । सरकारका बिक्री केन्द्रहरुमा मोटो चामल प्रतिकिलो ५२ मा बिक्री हुने गरेको थियो । डिपोमा अभाव भएपछि सर्वसाधारणले बजारमा प्रतिकिलो ६० देखि ७५ रुपियाँमा चामल किन्ने गरेका छन् ।

जिल्लाका खाद्य डिपो र अस्थायी बिक्री केन्द्रमा चामल सकिएको भए पनि ढुवानी प्रक्रिया टुंगो नलागेकाले कहिले ढुवानी हुने भन्ने यकिन नभएको खाद्य कम्पनीको दार्चुला शाखाले जनाएको छ ।


नरेन्द्रसिह कार्की