अपाङ्गमैत्री भवन निर्माण गर्नका लागि ध्यानाकर्षण

इन्सेकको समन्वयमा सिन्धुली अपाङ्ग महिला सङ्घले भौतिक संरचना निर्माण गर्दा अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्न ध्यानाकर्षण गराएको छ । सिन्धुली अस्पताल र कमलामाई नगरपालिका-५ को वडा कार्यालयको भवन अपाङ्गमैत्री बनाउन ०८० कात्तिक १६ गते ध्यानाकर्षण गराइएको हो ।

सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सतिशकुमार ढकाल र कमलामाई नगरपालिका-५ का वडा अध्यक्ष पूर्णबहादुर खड्कालाई सङ्घले भौतिक संरचनाहरु अपाङ्गमैत्री बनाउन लिखित रूपमा ध्यानाकर्षण गरिएको छ । सङ्घका अध्यक्ष दिल कुमारी देवकोटाले अस्पताल र वडा कार्यालयका भवनहरू निर्माण भइरहेकाले भौतिक संरचना निर्माणमा आपाङ्गमैत्री नभएकाले अपाङ्गमैत्री बनाउन ध्यानाकर्षण गराएको बताउनु भयो ।

Photo_080-7-17_Sindhuli

उहाँले सिन्धुली अस्पतालको भवन पूर्ण अपाङ्ग मैत्री बनाइनु पर्नेमा जोड दिनुभयो । अस्पताल सेवा लिन अपाङ्गता भएका, ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका र दुर्घटनामा परेका व्यक्तिहरू आउने भएकले सबैले सहजै पुग्ने र सेवा लिन सक्ने वातावरण निर्माण गर्न उहाँले आग्रह गर्नुभयो ।

कमलामाई नगरपालिका-५ को वडा कार्यलयको भवन पनि निर्माण भइरहेको र वडा कार्यालयको भवन अपाङ्गमैत्री नभएकाले अपाङ्गमैत्री बनाउन उहाँले वडा अध्यक्षको ध्यानाकर्षण गराउनु भयो । वडा कार्यालयमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिकाको पहुँच पुग्ने गरी निर्माण गर्न इन्सेकको समन्वयमा सिन्धुली अपाङ्ग महिला सङ्घले माग गरेको हो ।

Photo_080-7-17_Sindhuli1

सिन्धुली अपाङ्ग महिला सङ्घ सिन्धुलीको ध्यानाकर्षणपछि अस्पताल विकास समितिका अध्यक्ष सतिशचन्द्र ढकालले भवन अपाङ्गतामैत्री बनेको बताउँदै केही कमजोरी भएको भए सुधार गर्ने प्रतिबद्धता जनाउनु भयो । वडा अध्यक्ष पूर्ण बहादुर खड्काले अपाङ्गतामैत्री भवन निर्माणमा सहजीकरण गर्ने प्रतिबद्धता गर्नुभयो ।

सरकारले अपाङ्गता भएका व्यक्तिको आवश्यकतालाई ध्यानमा राखेर २०६९ सालमा ‘अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा’ निर्देशिका जारी गरेको छ । निर्देशिकामा सरकारी भवन, विद्यालय, विश्वविद्यालय, अस्पताल, स्वास्थ्य संस्था, धार्मिकस्थल, कार्यस्थल, सार्वजनिक सडक, सडकपेटी, यात्रु प्रतिक्षालय र पार्किङ स्थल ‘पहुँचयुक्त अपाङ्गतामैत्री हुनु पर्ने’ भनिएको छ । निर्देशिका अनुसार भवनका साथै सार्वजनिक सडक र सडक पेटीसमेत अपाङ्गतामैत्री बनाउनु पर्ने कानुनी व्यवस्था गरिएको छ । प्रत्यक्ष जनसरोकारकारका सरकारी कार्यालय पनि अपाङ्गमैत्री नभएपछि अपाङ्गले आफ्नो हक अधिकारबाट वञ्चित हुनु परेको दुखेसो पोखेका छन् ।


नबिनबाबु अधिकारी