अपाङ्गता हुनु भएकी ज्येष्ठ नागरिकलाई ७३ वर्षको उमेरमा नागरिकता प्रदान

नेपालको संविधान,२०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था छ ।

धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने उल्लेख छ ।

संविधानमा भएको व्यवस्था बमोजिम छथरजोरपाटी गाउँपालिका–१ कागुनेकी मनमाया लिम्बूले ७३ वर्षको उमेर नेपाली नागरिकताको प्रमाणपत्र ०८० माघ १९ गते पाउनु भएको छ ।

Photo 202240124 Dhankuta (1)
अपाङ्ता हुनु भएकी ७३ वर्षीया ज्येष्ठ नागरिकलाई जिल्ला प्रशासन कार्यालयमार्फत नेपाली नागरिकताको प्रमाणपत्र दिलाएपछि एम्बुलेन्समा राखेर घर लैजाने तयारी गर्दै जनप्रतिनिधि ।

शारिरीक र बोलाइसम्बन्धी अपाङ्गता हुनु भएकी मनमायाको दुवै गोडा चल्दैनन् ।

शौच गरेको थाहा पनि नपाउने उहाँ शारिरीक अवस्था कमजोर भएको कारण अडेस लागेर बस्न समेत सक्नु हुन्न् । उहाँलाई भदा पदमबहादुर लिम्बू र भदैनी वुहारी पवित्रा लिम्बूले पालन पोषण गरिरहनु भएको छ ।

शारिरीक रूपमा अशक्त भएकै कारण ७३ वर्षको उमेर पुग्दा समेत उहाँको नागरिकता बनेको थिएन । जसका कारण सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य बीमाको सुविधाबाट मनमाया वञ्चित हुनुभएको थियो ।

छथरजोरपाटी गाउँपालिका–१ क वडाध्यक्ष गोविन्द लिम्बू, वडासचिव चन्द्रप्रकाश सुवेदी र भदैनी वुहारीले मनमायालाई एम्वुलेन्समा राखेर जिल्ला प्रशासन कार्यालय, धनकुटा ०८० माघ १९ गते ल्याएपछि उहाँ नेपाली नागरिक बन्नु भएको हो ।

जिल्ला प्रशासनमा पुगेपछि कागजपत्रमा ल्याप्चे समेत लगाउन नसकेकी मनमायाको हात समाएर भदैनी बुहारी पवित्राले ल्याप्चे लगाइ दिनु भएको थियो ।

पटकपटकको प्रयासपछि तेस्रो प्रयासमा मनमायाले नागरिकता पाउँदा खुसी लागेको छथर जोरपाटी गाउँपालिका–१ का वडाध्यक्ष गोविन्द लिम्बूले बताउनु भयो ।

मनमायाको अवस्थाको बारेमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउँदा पनि कागजपत्र पुरा गर्न समस्या भएको वडाध्यक्ष लिम्बूले बताउनु भयो । कर्मचारी समयतालिका नमिल्दा घरमै लगेर नागरिकता दिने योजना सफल नभएको र वाध्यताले एम्वुलेन्समा ल्याउनु परेको वडाध्यक्ष लिम्बूको भनाइ छ ।

वडाध्यक्ष लिम्बूले ०८० मङ्सिर ८ गतेको वडा समितिको वैठकले नागरिकताविहीन व्यक्तिहरूलाई नागरिक दिलाउन सर्भे गर्ने निर्णय गरेको र सोही निर्णय बमोजिम सर्भे गर्दा मनमायाको नागरिकता नभएको सूचना प्राप्त भएको थियो ।

मनमायाको अवस्थाले गर्दा वडा कार्यालयसम्म ल्याउन पनि समस्या भएकाले वडासचिव चन्द्रप्रकाश सुवेदीले घरमै पुगेर सवै कागजपत्र वनाइदिनु भएको थियो ।

मनमायालाई जिल्ला प्रशासनसम्म आउन र घर जान लागेको एम्वुलेन्सको खर्च वडा कार्यालयले व्यहोरेको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले वडा कार्यालयवाट आएको सर्जिमिन मुचुल्का र सिफारिसमा भएका विवरणमा केही फरक देखिएकाले ढिलाइ भएको बताउनु भयो ।

नेपाली नागरिकताको प्रमाणपत्र पाएसँगै मनमायाले राज्यबाट प्राप्त हुने सामाजिक सुरक्षा र निशुल्क स्वास्थ्य बीमा गराउन पाउनु हुने भएको छ ।

Photo 202240124 Dhankuta (2)


ईश्वर थापा