अपाङ्गता भएका व्यक्तिलाई सेवा, सुविधा र अवसरको माग गर्दै गाउँपालिकामा धर्ना

  ०८० जेठ ५ गते

अपाङ्गता भएका व्यक्तिलाई कानुन अनुसारको सेवा, सुविधा र अवसरको माग गर्दै म्याग्दे गाउँपालिका–७ का ४५ वर्षीय शारीरिक अपाङ्गता भएका दिपक भण्डारी जेठ ४ गतेदेखी म्याग्दे गाउँपालिकाको प्राङ्गणमा अनिश्चितकालिन धर्नामा बस्नु भएको छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ अनुसार राज्यले निर्माण गरेको अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली, २०७७ अनुसारको सेवा सुविधा र अवसर उपलब्ध गराइपाउँ भनी धर्नामा बसेको भण्डारीले बताउनुभयो ।

भण्डारी यस अघि २०७९ भदौ ८ गते पनि गाउँपालिकामा धर्नामा बस्नु भएको थियो । सो क्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतले अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा कार्यरत विभिन्न संस्थाका प्रतिनिधिहरूको रोहबरमा भण्डारीसँग उक्त नियमावली अनुसारको सेवा, सुविधा र अवसर उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको थियो ।

नियमावलीमा भएका प्रावधान कार्यान्वयनमा ल्याउन गाउँपालिकाले पुस मसान्तसम्ममा कार्यविधि तयार गर्ने तथा त्यसमा सरोकारवालाहरूको राय सुझावको आधारमा गाउँसभाले निर्णय गरि कार्यान्वयनमा लैजाने भन्ने सहमती भएको भण्डारीले बताउनुभयो ।

साथै कार्यविधि कार्यान्वयनमा आउनुपुर्व भण्डारीको जिवन सहयोगीकोलागि गाउँपालिकाले अस्थायी रूपमा एक जना सहयोगीको व्यवस्था गर्ने सम्झौता पनि भएको भण्डारीले बताउनु भयो । तर आफुसँग भएको कुनै पनि सम्झौता कार्यान्वयनमा पनि नआएको र कार्यविधिको कुनै ड्राफ्ट समेत नबनेको हुँदा आफु पुनः धर्नामा बस्न बाध्य भएको भण्डारीले बताउनुभयो ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भण्डारीले माग गरे जस्तो सबै अपाङ्गता भएका व्यक्तिको घर घरमा सहयोगीको व्यवस्थापन गर्न नसकिने बताउनुभयो । त्यसैकारण अपाङ्गता भएका व्यक्तिहरूलाई एकै ठाउँमा राखी सामूहिक रूपमा जिवन यापन गर्न सहज बनाउन गाउँपालिकाले अपाङ्गतामैत्री भवन बनाउन लागेको अधयक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त भवनकोलागि जग्गा खरिद गरि डिपिआर समेत तयार भइसकेको भन्दै अब बजेटको व्यवस्थापन गरेर एक÷दुई वर्ष भित्रमै गाउँपालिका भित्रका अति असक्त अपाङ्गता भएकाहरूलाई सामूहिक रूपमा राखिने बताउनु भयो । साथै गाउँपालिकाको श्रोत र साधन कमी भएको हुँदा सबैको घर घरमा सहयोगी राख्न सम्भव नहुने श्रेष्ठले बताउनुभयो ।

म्याग्दे गाउँपालिकामा सबै प्रकारकागरि २ सय ४० जना अपाङ्गता भएका व्यक्ति रहेको र त्यसमा ३० जना शारीरिक रूपमा अति असक्त रहेको भण्डारीले बताउनुभयो ।

photo20230519tanahu

 


प्रकाशचन्द्र भट्टराई