अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा असुविधा भएको गुनासो

  ०७३ असोज १४ गते

अपाङ्गता भएका व्यक्तिहरूको एक टोलीले सार्वजनिक यातायातका साधनमा आफूहरूलाई बेवस्ता गर्ने गरेको गुनासो गरेका छन् ।

उनीहरूले असोज १४ गते जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी जनकराज पाण्डेयलाई भेटेर सार्वजनिक सवारीमा आफूहरूले पाउने ५० प्रतिशत छुट नपाएको गुनासो गर्दै सो कार्यान्वयनको माग गरेका हुन् ।

'हामी अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक यातायातका साधनहरूले रोक्दै रोक्दैनन् । रोकिहाले पनि भाडामा छुट दिँदैनन् ।'-नेत्रहीन सङ्घका परशुराम भट्टले भने-'अपाङ्गता भएका व्यक्तिलाई सरकारले नै ५० प्रतिशत छुट दिन भनेको छ भनेर बार्गेनिङ गर्न थाल्यौँ भने बिच बाटोमै झारिदिन्छ ।'

नेपाल सरकारको अपाङ्गता संरक्षण तथा कल्याण ऐन-२०३९ को दफा १० को उपदफा ३ बमोजिम सम्पूर्ण सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिने व्यवस्था कार्यन्वयनका लागि उनीहरूले एसपी पाण्डेयसमक्ष अनुरोध गरेको बताएका छन् ।

'अब बसको टिकट काट्ने काउण्टरमा पनि अपाङ्गत भएका व्यक्तिालाई छुट दिने खालको सूचना टाँस्छौँ ।'-एसपी पाण्डेयले भने । एसपी पाण्डेयले सार्वजनिक सवारीमा अपाङ्गता भएका व्यक्तिलाई छुट दिने व्यवस्था मिलाउन आफूले सक्दो प्रयत्न गर्ने बताए । 'तपाईंहरूको माग जायज छ । भाडा दर छुटको विषयमा आवश्यक कदम अगाडि बढाउने छु ।'- पाण्डेयले भने ।

नेत्रहीन सङ्घ गोरखा, अपाङ्ग महिला सङ्घ गोरखा, राष्ट्रिय अपाङ्ग महासङ्घ गोरखा, अपाङ्ग सेवा सङ्घ गोरखालगायतको टोलीले छुट भाडादर कार्यान्वयनको माग गर्दै एसपी पाण्डेयलाई भेट गरेका हुन् ।


हरिराम उप्रेती