अपाङ्गता परिचय-पत्र नपाउँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित

  ०७३ मङ्सिर २३ गते

निवेदन दिएको एक वर्षसम्म अपाङ्गता परिचय-पत्र नपाएपछि दाहा गाविस-९ की १४ वर्षीया लक्ष्मी मल्ल सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएकी छन् ।

जिल्ला अस्पताल कालीकोटले ०७२ मङ्सिर ७ गते शरीरको तल्लो भाग नचल्ने भएकाले पीडित लक्ष्मी मल्ललाई परिचय-पत्र दिन सिफारिस गरेको भए पनि महिला तथा बालबालिका कार्यालय प्रमुख सीता थापासँग सामान्य विवादका कारण परिचय-पत्र नपाएको आरोप पीडित पक्षले लगाएका छन् ।

महिला तथा बालबालिका कार्यालय कालीकोट प्रमुख सीता थापाले सिफारिस समितिको बैठक नबसेको कारण परिचय-पत्र नपाएको बताइन् । अपाङ्ग परिचय-पत्र सिफारिस समितिका संयोजक निमित्त प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले समितिको बैठक धेरै पटक बसेको तर लक्ष्मीको फाइल पेस नभएको बताए ।


कालीबहादुर मल्ल