अपाङ्गता परिचयपत्र नहुँदा सामाजिक सुरक्षाबाट वञ्चित

  ०८० कात्तिक २१ गते

अपाङ्गताको परिभाषा र वर्गीकरण, २०६३ अनुसार अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र उपलब्ध गराएर सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकारले स्थानीय सरकारलाई निर्देशन दिएको छ ।

तर, जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङमा २१ जनाले अपाङ्गगता परिचयपत्र प्राप्त गर्न नसक्दा उनीहरू राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षाबाट वञ्चित हुनु परेको छ

बाम्राङमा अपाङ्गता भएका व्यक्तिको संख्या ३९ जनामध्ये ०८० कात्तिकको तेस्रो सातासम्म १७ जनाले मात्रै अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् ।

जसमा “क” वर्गका १० जना, “ख” वर्गका सात जना र “ग” वर्गका एक जना छन् ।

नेपाल सरकारले शारीरिक, दृष्टिसम्बन्धी, सुनाइसम्बन्धी , स्वर बोलाइसम्बन्धी, श्रवण दृष्टिविहीन अपाङ्गता, मानसिक वा मनोसामाजिक अपाङ्गता, बौद्धिक  अपाङ्गता, अनुवंशीय रक्तश्राव (हेमोफिलिया) सम्बन्धी अपाङ्गता, अटिज्म सम्बन्धी अपाङ्गता र बहु-अपाङ्गता गरी १० वर्गमा अपाङ्गता भएका व्यक्तिलाई वर्गीकरण गरेको छ ।

पूर्ण तथा अति अशक्त अपाङ्गता भएका, अरूको सहाराबिना केही पनि गर्न नसक्ने वा आफ्ना दैनिक क्रियाकलाप सञ्चालन गर्न अन्य सहयोगीको आवश्यकता हुने अपाङ्गता भएका व्यक्तिहरूको अवस्था नाजुक छ ।

अपाङ्गताको परिभाषा र वर्गीकरण, २०६३ अनुसार अपाङ्गता परिचयपत्रलाई गम्भीरताका आधारमा पूर्णअशक्त अपाङ्गता “क” वर्ग, अतिअशक्त अपाङ्गता “ख” वर्ग, मध्यम अपाङ्गता “ग” वर्ग र सामान्य अपाङ्गता “घ” वर्ग गरि चार भागमा वर्गीकृत गरिएको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका २१ जनाले अपाङ्गता परिचयपत्र प्राप्त  गर्न नसकेको अपाङ्ग सेवा संघका नगर समिति अध्यक्ष उमेशचन्द्र आचार्यले बताउनु भयो । उहाँले भन्नुभयो, “कतिपय परिचयपत्र  प्राप्त व्यक्तिहरूको पनि  पुनः परिचयपत्रलाई संशोधन गरिनुपर्ने देखिएको छ।”

सविक वडा-३ काहुलेका एकै परिवारका तीन जना सदस्य अपाङ्गता भएका हुनुहुन्छ । ७३ वर्षीय बाबु धनबहादुर राई, ७२ वर्षीया आमा सन्तमाया राई र छोरा बईन्द्रकुमार राई तीनै जना प्यारालाइसिस भएर  ओछ्यान परेको भएपनि छोरा बाहेक बाबुआमाले अपाङ्गता परिचयपत्र प्राप्त गर्न नसक्दा राज्यले उपलब्ध गराउने सुविधाबाट वञ्चित हुनु परेको अपाङ्ग सेवा संघका नगर समिति अध्यक्ष उमेशचन्द्र आचार्यले बताउनु भयो । आर्चायले भन्नुभयो- विगत ५ र ६ वर्षदेखी उहाँहरू ओछ्यानमा हुनुहुन्छ । तर अपाङ्गता परिचयपत्र नभएका कारण राज्यले दिने सुविधबाट वञ्चित हुनु परेको छ ।

हिड्डुल गर्न नसक्ने भएपछि कार्यालयहरु धाउन नसक्ने भएकाले हजुरबुबा, हजुरआामाको परिचयपत्र बनाउन नसकिएको नाति प्रविण राईले बताउनु भयो । अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी गाउँगाउँमा घुम्ती शिविर सञ्चालन गर्न आग्रह गरेपनि नगरपालिकाले शिविर सञ्चालन नगरेको राईको आरोप छ ।

अपाङ्गता भएका व्यक्तिहरु परिचयपत्र बनाउन आउन नसक्ने भएकाले उनीहरूका लागि घुम्ती शिविर सञ्चालन गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरिएको तर कार्यान्वयन नभएको अपाङ्ग सेवा संघ दिक्तेल रूपाकोट मझुवागढी नगर समितिका अध्यक्ष आचार्यले भन्नुभयो ।

जिल्लामा अपाङ्गता भएका व्यक्तिको संख्या ४ हजार ९ सय २२ जना छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका भित्र अपाङ्गता भएका व्यक्तिको संख्या १ हजार १ सय ९७ जना रहेको नगरपालिकाले जनाएको छ ।


तारानाथ फुयल