अपाङ्गतामैत्री मतदान केन्द्र निर्माणको अभ्यास गर्दै निर्वाचन आयोग

  ०७९ मङ्सिर ३ गते

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन०७९ का लागि निर्वाचन आयोगले देश भरीबाट १ सय मतदान केन्द्रलाई अपाङ्गतामैत्री मतदान केन्द्र बनाउने अभ्यासमा जुटेको छ ।

यस जिल्लामा १० ओटा पूर्ण अपाङ्गतामैत्री मतदान केन्द्र निर्माण भइरहेका छन् । जसमा सिद्धेश्वरी लालकुमारी मावि बुटवल, कालिका मावि बुटवल, बुटवल बहुमुखी क्याम्पस, प्रभात आधारभूत विद्यालय तिलोत्तमा, ज्योति आधारभूत विद्यालय, मणिग्राम, गणेश प्रावि गणेशनगर, उमा आधारभूत विद्यालय कुञ्जलापुर, तिलोत्तमा, अन्नपूर्ण मावि चन्द्रनगर,बुटवल, भवानी मावि सौराह बुटवल रहेका छन् ।

बुटवल उपमहानपा–८ सुख्खानगरका टिकाराम पौडेल न्यून दृष्टि भएका व्यक्ति हुनु हुन्छ । पहिलो पटक अपाङ्गतामैत्री मतदानका कुरा सुन्दा उहाँ दङ्ग हुनु हुन्छ । पौडेल भन्नुहुन्छ । पहिलो संविधान सभाको निर्वाचन २०६४ सालदेखि निरन्तररुपमा इच्छाएको व्यक्तिको सहयोगमा मतदान गर्दे आए सङ्घर्ष गर्दा गर्दै अहिले निर्वाचन आयोगले केही सुनेको छ, पहिलो अवसर भएकोले निकै उत्साहित छु के होला ? कस्तो होला ? मनमा धेरै प्रश्न उब्जेका छन् ।  निर्वाचनको दिन भिडभाड होला अघिल्लो दिन गएर एक पटक स्पर्श गर्न मन छ बिस्तारै हाम्रा आवाज सुनिदैछन् अव निर्वाचन चिन्हलाई अलि ठूलो साइज र अलिक चम्किलो बनाइदिए सहज हुने थियो । पौडेलले भन्नु भयो ।

पौडेलमात्र होइन पौडेलजस्तै धेरै पात्रहरू अपाङ्गता मैत्री सङ्रचना र मतदान केन्द्रको पर्खाइमा हुनु हुन्छ । बुटवल उपमहानपा–४ लक्ष्मीनगरकी देवी आचार्य शारिरीक अपाङ्गता भएको व्यक्ति हुनु हुन्छ । उहाँको कम्मरदेखि तलको भाग चल्दैन् । आचार्य भन्नुहुन्छ मतदान केन्द्रमा ह्वील चेयर जाने बाटो नहुँदा र मतदान गर्ने ठाउँ अग्लो हुँदा समस्या भोग्नु परेको गुनासो गर्नुभयो । अहिले अपाङ्गतामैत्री बन्छ रे भन्ने त सुनेको छु अब भोट हाल्न जाँदा थाहा होला ।

अपाङ्गता अधिकारकर्मी सावित्रा घिमिरेले अपाङ्गता मैत्री मतदान केन्द्र हुँदा अपाङ्गता भएका व्यक्तिहरूमा उत्साह थपिएको र निर्वाचन शिक्षा दिने क्रममा निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिदा सहजीकरण गरेकोले अहिलेको निर्वाचनमा अपाङ्गता मैत्री व्यवहार हुन्छ भन्नेमा आशा जागेको बताउनु भयो । 

अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर मतदान केन्द्रमा विभिन्न सहायक सामाग्रीहरूको व्यवस्था गरिएको छ । जसमा ट्रान्सपरेन्ट मास्क, बहिरा तथा सुस्त श्रवण भएका मतदाताहरूले मतदानमा खटिने कर्मचारीहरूको बोली उनीहरूको ओठको चलाई हेरी बुझ्नको लागि, साङ्केतिक भाषासूची बहिरा तथा सुस्त श्रवण भएका मतदाताहरू र मतदानमा खटिएका कर्मचारीबिच सहज संवाद गर्नका लागि निर्वाचनको दिन मात्र प्रयोग गरिने शब्दावलीको साङ्केतिक भाषा सहितको सूचीको व्यवस्था गरिएको छ ।

यसैगरी, मतदान केन्द्रमा खटिने कर्मचारीहरूका लागि साङ्केतिक भाषाको प्रयोग सम्बन्धी अभिमुखीकरण सञ्चालन गरिएको, ठुलो साइजमा छापिएको संकेतहरू (हातहतियार  निषेध, धुम्रपान निषेध, महिला, पुरुष, भित्र, बाहिर, मतदाता वर्णानुक्रम, शौचालय, मतदान कक्ष, मतपेटिका, मतदाता नामावली रूजु, तथ्याङ्क फाराम, नङमा मसि लगाउने, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यतर्फको पहिलो निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र लेखिएको छपाई सामग्री आदिको प्रयोग गरिनेछ ।

मतदान केन्द्रमा न्यून दृष्टियुक्त मतदाताले मतदान प्रक्रिया बुझ्नका लागि कलर कन्ट्रयास्ट भएको प्रिन्टिङ्ग सामग्री, मतदान गर्ने सही तरिका सम्बन्धी जानकारी, न्यून दृष्टियुक्त तथा दृष्टिविहिन मतदाताका लागि कलर कन्ट्रयास्ट सहित रंगीन चित्रमा ठुलो र प्रष्ट छापा र ब्रेल लिपिमा छापिएको सामग्री, रङ्गीन डोरी तथा पोल, न्यून दृष्टियुक्त मतदाताका लागि स्पष्टरुपमा कहाँ जाने भनी छुट्याउनका लागि कलर कन्ट्रयास्ट मिलाइएको रङ्गीन डोरी तथा पोलमा पनि रङ्ग लगाउने वा रंगीन  रिवनले बेर्ने गरि व्यवस्था मिलाइएको छ ।

त्यसै गरी स्ट्याम्पको व्यवस्था, शारीरिक अपाङ्गता तथा ह्वील चेयर प्रयोगकर्ता मतदाताहरूकालागि तोकिएको मतदान केन्द्रमा आवश्यकता अनुसार निर्माण गरिएको, निर्माण गर्दा पहुँचयुक्त भौतिक सङ्रचना तथा सञ्चार सेवा निर्देशिका, २०७९ बमोजिम तयार गरिएको, मतपेटिकामा प्वाल जनाउने चिन्ह, न्यून दृष्टियुक्त मतदाताले मतपेटिकाको प्वाल सानो भई नदेख्ने हुनाले मतपत्र खसाल्न कठिनाई हुन्छ । त्यसकारण मतपेटिकाको प्वाल जनाउनका लागि प्वाल वरपर कलर कन्ट्रयास्ट भएको गोलो घेरा लगाउने व्यवस्था गरिएको र स्पर्षयुक्त (ट्याकटायल) नमुना मतदाता शिक्षा सामग्री, न्यून दृष्टियुक्त र दृष्टिविहिन मतदाताकालागि सही तरिकाले मतदान गर्ने सम्बन्धी स्पर्षयुक्त (ट्याकटायल) नमुना मतदाता शिक्षा सामग्रीहरुको व्यवस्था मिलाइएको छ ।

निर्वाचनमा न्यून दृष्टियुक्त मतदाताका लागि मतपत्रमा रहेका निर्वाचन चिन्ह स्पष्ट बुझ्नका लागि म्याग्नीफाइङ्ग ग्लासको व्यवस्था मिलाइएको छ । मतदान केन्द्र निर्माण गर्दा महिला र पुरुषबिचको लाइन छुट्याउन गाडिएको दुईवटा बाँसको बीच दुरी सहजै ह्वीलचेयर प्रवेश गर्न सक्ने गरी निर्माण गरिएको छ । मतदान केन्द्रमा आरामदायी कुर्सीको व्यवस्था, शारीरिक अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न फराकिलो र आरामदायी कुर्सीको व्यवस्था, टेबल, ह्वीलचेयर प्रयोगकर्ता मतदाताहरूको सहजताका लागि मतदान कक्ष तथा मतपेटिका राख्न प्रयोग गरिने टेबुल मापदण्ड बमोजिम व्यवस्था गरिने भएको छ ।

प्रत्येक नागरिकलाई संविधान तथा कानुनले मतदानको अधिकार सुनिश्चित गरेको छ । नेपालको संविधानले प्रस्तावनामा नै बालिग मताधिकारको सुनिश्चित गरेको छ । त्यसैगरी धारा ४३ मा प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता हकको व्यवस्था गरेको छ । निर्वाचन, राजनीतिक तथा सार्वजनिक जीवनमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता र समावेशिता लोकतन्त्रका आधारभुत पक्ष हुन् भन्ने मान्यतालाई आत्मसात गर्दै नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी  महासन्धीको पक्ष राष्ट्र भइसकेको छ । यस महासन्धिले अपाङ्गता भएका व्यक्तिहरूले अरु सरह समान रुपमा राजनीतिक अधिकार उपभोग गर्न पाउने व्यवस्था राज्य पक्षले प्रत्याभुत गर्ने भनेको यसमा निर्वाचन तथा मतदान प्रक्रिया एंव निर्वाचन सामग्री अपाङ्गता भएका नागरिकहरूकोलागि पहुँचयुक्त बनाउने, निर्वाचनका लागि उपयुक्त वातावरण बनाउने, सबै नागरिकले स्वतन्त्र किसिमले मताधिकार उपभोग गर्न पाउने सुनिश्चित गर्ने जस्ता कुराहरुलाई जोड दिएको छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ११ ले विशेषरुपमा अपांगता भएका व्यक्तिहरुलाई निर्वाचनमा उम्मेदवार बन्न कसैको सहायता लिएर वा नलिइकन स्वतन्त्र र भयरहित किसिमले मतदान गर्न समान अधिकार प्रदान गरेको छ । यसका साथै, निर्वाचन सम्बन्धी कानुन, नीति र निर्देशिकाले पनि न्याय संगत किसिमले सहभागी हुन पाउने अधिकार प्रदान गरेको छ ।  कानुनले यस्ता अधिकार प्रत्याभुत गरेको भएतापनि अपाङ्गता भएका व्यक्तिहरूले निर्वाचन प्रक्रियामा सहभागी हुने क्रममा धेरै प्रकारका समस्या र भेदभाव खेपिरहनु परेको छ ।

हालै सम्पन्न स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा पहुँचयुक्त मतदान केन्द्र नहुँदा अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो मताधिकार प्रयोग गर्न असहज भएको, अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता अनुसारको सहायक सामग्रीको प्रयोग गर्न नपाउँदा र अपाङ्गतामैत्री भौतिक सङ्रचनाको अभावका कारण मतदानको अधिकारबाट वञ्चित भएका गुनासाहरू आएका थिए ।

राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारीले लुम्बिनी प्रदेशमा करीव १ लाख ५० हजार भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरू रहेको तथ्यांक रहेको, करिव ५० देखि ५५ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू मतदाता रहेको बताउनु भयो । अपाङ्गतामैत्री संरचना पूर्णरुपमा कार्यान्वयन नभएको कारण लुम्बिनी प्रदेशमा करिव ७५ हजार भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरू प्रभावित भएका छन् । अहिले अपाङ्गतामैत्री मतदान केन्द्रको अभ्यास गरेको छ । त्यसले अपाङ्ता भएका नागरिकहरूलाई आफ्नो अधिकार आफै प्रयोग गर्नलाई हिम्मत जुटेको छ । रुपन्देहीमा मात्र १० हजार भन्दा बढी विभिन्न अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले अपाङ्गतामैत्री सङ्रचनालाई रातारात परिवर्तन गर्न सम्भव नभएपनि भएको स्रोतलाई अधिकतम प्रयोग गरी अपाङ्गता भएका व्यक्तिहरूलाई लाइनमा बस्न नपर्ने गरी उच्चतम प्राथमिकताका आधारमा मतदान गर्ने वातावरण बनाउने र रुपन्देहीका पाँच वटै क्षेत्रका सबै मतदान केन्द्रमा ह्वीलचेयर जान सक्ने वातावरण मिलाउन सम्वेदनशील भएर लागेको बताउनु भयो ।


रीमा बिसी