अपाङ्गतामैत्री कार्यालय भवन नहुँदा सेवाग्राहीलाई सास्ती
सबैभन्दा धेरै सेवाग्राही आउने जिल्ला प्रशासन कार्यालय अपाङ्गतामैत्री नहुँदा सेवाग्राहीले विभिन्न किसिमका सास्ती भोग्नु परेको छ ।
जिल्ला प्रशासन कार्यालयले निजी प्रयोजनका लागि बनाएको घर भाडामा लिएर सेवाप्रवाह गरिरहेको छ । कार्यालय भवन अपाङ्गतामैत्री छैनन् भने पालो कुर्दा बस्ने प्यासेज समेत नहुँदा झनै समस्या हुने गरेको सेवाग्राही बताउँछन् ।
अपाङ्गता पुनर्स्थापना समन्वय परिषदका अध्यक्ष सागर लुइटेलले जिल्लाका आधिकांश कार्यालय अपाङ्गतामैत्री नहुँदा आफूजस्ता सेवाग्राहीलाई निकै समस्या हुने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘सरकारी कार्यालयमा एउटा काम लिएर गएमा चारपाँच ओटा कोठामा चहार्नुपर्छ । हामी जस्ता अपाङ्गता भएकालाई पहिलो तलामै कार्यालय हुँदा त समस्या हुन्छ । त्यसमाथि दोश्रो तलामा सेवा लिन जानुपर्दा निकै सास्ती हुन्छ ।’
उहाँले सेवा मात्रै होइन सङ्घसंस्थाको कामले कार्यालय प्रमुखसँग भेटेरै कुराकानी गरौँ भन्दा पनि अपाङ्गता भएका व्यक्तिको पहुँच पुग्न नसक्ने बताउनु भयो । ‘आफैँ उक्लेर जान सकिन्न । कुर्दाकुर्दा हैरान भइन्छ ।’–उहाँले भन्नु भयो ।
शारीरिक अपाङ्गता भएकी सीता भुसालको अनुभव पनि उस्तै छ । धेरैजसो कार्यालय दोश्रो तलामा हुँदा दोस्रो तलाको कार्यालयमा पुग्न समस्या हुने गरेको उहाँको भनाइ छ । ‘पहिलो तलाबाट जसोतसो काम गर्न सकिन्छ । दोस्रो तलामा जानै कठिन छ । काम कसरी गर्नु ? अपाङ्गतामैत्री पूर्वाधार नभएका कारण हामी जस्ता अपाङ्गता भएकालाई धेरै समस्या छ ।’–भुसालले भन्नु भयो ।
भेषबहादुर महतोले पनि जिल्लाका कार्यालयमा सेवा लिन पुग्दा सास्ती भोगेको बताउनु भयो । ‘जिल्लाका धेरैजसो सरकारी कार्यालय अपाङ्गता मैत्री छैनन् । हामीले पटकपटक यस विषयमा विभिन्न कार्यक्रममा कुरा उठाएका छौँ । तर, कुनै पनि निकायबाट सुनुवाइ भएको छैन । सबै कार्यालय एकै ठाउँमा बनेर अपाङ्गता मैत्री हुन्छ भन्छन् । कहिले बन्ने हो कुनै टुङ्गो छैन ?’–उहाँले भन्नु भयो ।
प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले कार्यालय प्रयोजनका लागि नबनेको घर भएकाले सेवाग्राहीलाई सेवा पाउन निक्कै सास्ती भइरहेको बताउनुहुन्छ । ‘नवलपुर जिल्ला कान्छो जिल्ला । धेरै सरकारी कार्यालय पछि स्थापना भए । आधिकांश निजी प्रयोजनका लागि बनाइएका घर भाडामा सञ्चालन गरिएको छ । त्यसैले अपाङ्गतामैत्री छैनन् । हामीले सम्भव भएसम्म अपाङ्गता भएकालाई तलै आएर सेवा दिने गरेका छौँ । कहिलेकाहीँ केही पर्यो होला ।’–प्रजिअ पोख्रेलले भन्नु भयो ।
उहाँले थप्नु भयो–‘उहाँहरूको गुनासो जायज छ । पक्कै पनि गाह्रो भएको छ । जिल्ला प्रशासन कार्यालय बन्नका लागि प्रकृया सुरु भएको छ । आशा गरौँ छिटै बन्नेछ । अब बन्ने भवन अपाङ्गतामैत्री बनाउनुपर्नेमा हामी प्रतिबद्ध छौँ ।’
जिल्लाका आधिकांश सरकारी कार्यालय अपाङ्गतामैत्री छैनन् । यहाँका केही स्थानीय तह मात्रै अपाङ्गतामैत्री छन् । जिल्ला प्रहरी कार्यालयसहितको सुरक्षा निकायका कार्यालय, मालपोत, नापी कार्यालय मात्रै आफ्नै भवनमा छन् । त्यस बाहेकका कृषि, पूर्वाधार, सामाजिक विकास, आन्तरिक राजश्व, यातायात, उद्योग तथा पर्यटन, सिंचाई, भेटेरिनरी तथा पशु विज्ञ, कोलेनिका, निर्वाचनलगायतका कार्यालय सबै भाडाका घरबाट सञ्चालित छन् । यी कुनै पनि कार्यालय अपाङ्गता मैत्री छैनन् ।
ज्ञानु पङ्गेनी
सम्बन्धित समाचारहरू
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश स्थानीय तह उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा सम्पन्न
०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात बिभिन्न कारणले सुदूरपश्चिमका पाँच ओटा जिल्लाका पाँच ओटा स्थानीय तहमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…