अपाङ्गतामैत्री कार्यालय नहुँदा सेवाग्राही मर्कामा

  ०८१ असार २४ गते

जिल्लामा रहेका सरकारी कार्यालय अपाङगता मैत्री नभएपछि सेवाग्राही मर्कामा परेका छन् । कार्यालय भवन निर्माण गरिँदा र भाडामा कार्यालय लिँदा त्यसलाई ख्याल नगरिएका कारण अपाङ्गता भएका सेवाग्राहीलाई सेवा लिन असहज भएको हो ।

सिमकोट गाउँपालिका–५ का धनलाल कामीले जिल्लाका कुनै पनि सरकारी कार्यालय अपाङ्गतामैत्री नभएका कारण आफूजस्तै अपाङ्गता भएका धेरै व्यक्तिहरूलाई सेवा लिन समस्या भएको बताउनुभयो । उहाँले वैशाखीको भरमा आउनुभएको छ । उहाँले गाउँपालिकामा एउटा सिफारिस लिन माथिल्लो तलामा रहेको कार्यालय प्रमुखको कार्य कक्षमा जान भ¥याङ चढ्न नसकेपछि आफ्नो निवेदन अर्कै मानिससँग पठाएर सेवा लिनुपरेको गुनासो गर्नुभयो ।

उहाँले तालिम गोष्ठीमा अपाङ्गता मैत्रीका कुरा उठाए पनि कार्यालयमा अपाङ्गता भएका व्यक्ति जानका लागि सहज वातावरण बनाउन नसक्नु आफैमा त्यो कुरामा मात्र सीमित भएको गुनासो सुनाउनुभयो ।

अर्का अपाङ्गता भएका व्यक्ति झुल शाहीले एक्लै सिमकोट आउँदै कठिन, आइसकेपछि झन त्यसमाथि कार्यालय अपाङ्गतामैत्री नभएकाकारण आफूलाई सेवा लिन असजिलो हुने गरेको गुनासो गर्नुभयो ।

सेवाग्राहीलाई सास्ती दिएर प्रदान गरिएको सेवा न्यायसङ्गत नभएका कारण अब प्रत्येक कार्यालयलाई प्रदान गरिने सेवाहरु सेवाग्राहीले सहज रुपमा पाउने व्यवस्था गर्न उहाँले माग गर्नुभयोे । अपाङ्गगता सेवाग्राहीका लागि गाउँ–गाउँमा पुगेर सेवा दिनुपर्ने बेला कार्यालयमा जाँदा पनि सहज किसिमले सेवा पाउने संरचना निर्माण नगरिनु दुःखको कुरा भएको बताउनुभयो ।

सामाजिक विकास कार्यालयका प्रमुख हर्कबहादुर बस्नेतले आफ्नो कार्यालय भाडामा सञ्चालन हुँदै आएको र अपाङ्गमैत्री बनाउन नसकिएको स्वीकार गर्नुभयो । नियमित वास्तवमै कार्यालयहरु अपाङ्गतामैत्री हुनुपर्ने भए पनि त्यो हुन नसक्नु दुःखको कुरा भएको बताउँदै यसमा उहाँले सबै सेवा प्रदायक निकायले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

बढी सेवाग्राहीलाई सेवा दिने कार्यालयले यसमा ध्यान दिन आवश्यक रहेको जानकारी दिनुभयो । जिल्लामा ३४ ओटा सरकारी कार्यालय रहेको र ती कुनै पनि कार्यालय अपाङ्गमैत्री नभएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले बताउनुभयो ।


नन्द सिंह