अपहरित बालकको खोजविनका लागि पहल गरिदिन स्थानीय प्रशासनसमक्ष अनुरोध

बालक अपहरण भएको नौ महिना बितिसक्दा समेत प्रहरीले अवस्था पत्ता लगाइदिनका लागि चासो नदिएको भन्दै पीडित पक्षले जिल्ला प्रशासन कार्यालयमा पुस १७ गते अनुरोध गरेका छन् ।

खार्पुनाथ गाउँपालिका-२ राया गाउँका जैधन रावलका १३ वर्षीय छोरा विजय रावल ०७४ वैशाख २६ गते विद्यालय पोशाक किन्न सदरमुकाम सिमकोट आएपछि सम्पर्कबिहीन भएका थिए ।

परिवारको सम्पर्कमा नरहेका विजय रावलको अवस्था पत्ता नलाग्दा अभिभावक चिन्तित भएका छन् । बाबु जैधनले सिमकोट गाउँपालिका-५ का २० वर्षीय कपिल रावल र चङ्खेली गाउँपालिका-२ का २२ वर्षीय शक्ति बोहराले आफ्नो छोरालाई ललाइफकाई वैशाख २७ गते तारा एअरको जहाजबाट नेपालगञ्ज पुर्‍याएको आरोप लगाएका छन् ।

वैशाख २५ गते सिमकोटस्थित जैधनको बजारमा रहेको किराना पसल फुटाएर १ लाख ५० हजार रुपियाँ चोरी गरी छोरालाई समेत ललाइफकाई लगेको आरोपमा जैधनले कपिल रावल र शक्ति बोहराविरुद्ध वैशाख २८ गते जिल्ला प्रहरी कार्यालयमा अपहरण तथा चोरी मुद्दाको उजुरी दिएका थिए ।

घटनामा संलग्न व्यक्तिलाई गिरफ्तार गरी बालक र आफ्नो चोरी भएको सामान पाउँ भनी जैधनले जिल्ला प्रहरी कार्यालयमा वैशाख २८ गते उजुरी गरेको भए पनि प्रहरीले बालक हराएको नौ महिना भइसक्दा समेत आरोपितलाई गिरफ्तार गरेर घटनाको अनुसन्धान नगरेको जैधनले आरोप लगाएका छन् ।

१ लाख ५० हजार रुपियाँलगायत अपहरण भएका छोरा खोज्नको लागि महिनौँ दिन सदरमुकाम सिमकोटमा धाएपनि फेला पार्न नसकेको रावलले गुनासो गरे ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णुबहादुर सिंहले भने बालक अपहरणको बारेमा अनुसन्धान भइरहेको जानकारी दिए । हराएको बालकलाई आरोपित पक्षका आफन्त र पीडित पक्ष दुवैले खोजी गर्ने गरी प्रहरीमा लिखित सहमति भएको उनले बताए ।

प्रहरी युनिटहरूमा बेपत्ता बालकको हुलिया पठाइ खोजी भइरहेको इन्स्पेक्टर सिंहले जानकारी दिए । वैशाखदेखि स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनाव परेकोले खोजी गर्न ढिलाइ भएको उनको भनाई छ । बालकलाई कसैले बेचबिखन नगरेको, कतै आफन्तकोमा बसेको हुनसक्ने इन्स्पेक्टर सिंहको अनुमान रहेको छ ।


नन्द सिंह