अपहरण तथा ज्यान मार्ने उद्योग आरोपमा सौतेनी छोरा गिरफ्तार

  ०८१ जेठ ३१ गते

राजगढ गाउँपालिका-४ बेल्ही चपेनाकी २५ वर्षीया अनुकुमारी साहलाई अपहरण तथा शरिर बन्धक बनाई ज्यान मार्ने उद्योग गरेको आरोपमा उनका सौतेनी छोरा २६ वर्षीय नविन कुमार साहलाई प्रहरीले ०८१ जेठ २८ गते गिरफ्तार गरेको छ ।

पीडितका अनुसार नविनका बुबा खरानन्द साहले पीडितलाई नाबालकैमा विद्यालय जाँदा अपहरण गरी भगाई भारतको मुम्बई लगेर यौन शोषण गरेको र औषधि सेवन गराई गर्भपतन गराएका थिए । बुबा, दाजुलाई मार्ने तथा अश्लिल तस्विर बनाई फेसबुकमा हाल्ने धम्की दिई यौन शोषण गर्ने गरेकोमा पछि उनैसँग विवाह गर्न बाध्य भई अनु कान्छी पत्नीको रुपमा बसेकी थिइन् । खरानन्दकी जेठी पत्नी ४० वर्षीया राजदेबी साह तर्फ छोरा नविन र तीन छोरी छन् भने पीडित तर्फ दुई वर्षीया छोरी छिन् ।

पीडितको छोरी भएदेखि पति सहित ७० वर्षीया सासु जंगलीदेवी साह, ४० वर्षीया सौता राजदेवी साह, ३२ वर्षीय देवर कमलनारायण साह र ३० वर्षीया देवरानी सुनितादेवी साहले दैनिक कुटपिट गर्न थालेपछि पीडितले जिल्ला अदालतमा ०७८ फागुन २ गते मानाचामल, सम्बन्ध विच्छेद र अंशदर्ता तथा ०७८ फागुन ३ गते घरेलु हिंसाको उजुरी दिनुभएको थियो । घरेलु हिंसामा अदालतले ०७८ फागुन ४ गते अन्तरकालिन आदेश जारी गरेको छ ।

सोही मुद्दाको रिसइबी लिई ०७९ मङ्सिर ९ गते राजविराज नगरपालिका-६ हुलाकी सडकस्थित घर नजिकै ४२ वर्षीय खरानन्दले सिटी रिक्शाबाट ओराली घरभित्र बन्धक बनाई छोरा नविनलाई बोलाई लाठी, मुक्काले कुटपिट गरी घाँटी थिचेर मार्न खोजेको पीडितले बताउनु भयो । पीडित रोइकराई चिच्याएको सुनेर गस्तीमा रहेको प्रहरीले पीडितको उद्धार गरेको थियो । पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ०७९ मङ्सिर ९ गते उपचार भएको थियो ।

सो घटनाका बारेमा मङ्सिर ११ गते पीडितले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले लिन अस्विकार गरेको थियो । सिडिओले समेत उक्त काम प्रहरीको हो भन्दै निर्देशन दिन मानेका थिएनन् । पीडितले ०७९ मङ्सिर १६ गते हुलाकमार्फत रजिष्ट्री गरी पठाएको उजुरी समेत प्रहरीले दर्ता नगरेपछि उहाँले अन्ततः उच्च अदालत जनकपुर राजविराज इजलासमा परमादेशको उजुरी दिनुभएको थियो । उच्च अदालतबाट ०८० असोज १९ गते परमादेश जारी भएपनि जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता नगरेर अदालतको अपहेलना गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गजु सिद्धी ब्रजाचार्यविरुद्ध ०८० फागुन ४ गते अदालतको अपहेलनाको उजुरी दिनु भएको छ ।

जारी परमादेश बमोजिम पुस १८ गते उच्च सरकारी वकिल कार्यालयलाई आदेशको जानकारी गराए पश्चात पुस २४ गते सनाखत गराउन निवेदनसाथ पीडित जिल्ला प्रहरी कार्यालय जानु भएको थियो । जिल्ला प्रहरी कार्यालयले माघ ५ गते आउनु भनेकोमा सोही मितिमा जाँदा डिएसपी ढुण्डिराज नेउपानेले पतिपत्नीको झैझगडा सामान्य हुने भएकोले केही गर्नु नपर्ने बरु मुद्दा नचल्ने गरी उजुरीलाई तामेलीमा राखिदिने भनेर पठाएको जानकारी इन्सेक प्रतिनिधिलाई गराउँदै पीडितले सहयोगको माँग गर्नुभएको थियो ।

अदालतको परमादेशको सम्मान गरी उजुरी दर्ता गर्न इन्सेक प्रतिनिधिले एसपी ब्रजाचार्यसँग अनुरोध गरेपछि एसपी ब्रजाचार्यले अदालतबाट परमादेश भएका उजुरी दर्ता भइ कारबाही अगाडि बढ्ने विश्वास दिलाउनु भएको थियो । अदालतको परमादेश अनुसार उजुरी दर्ता नगरेको भन्दै पीडितले फागुन ४ गते अदालतको अपहेलनामा कारबाहीको माँग गर्दै दिनुभएको उजुरी जिल्ला अदालतमा चलिरहेको छ । यता जिल्ला प्रहरी कार्यालयले जेठ २३ गते उजुरी दर्ता गरी कारबाही प्रकृया अगाडि बढाएको छ ।

मामा घर विस्थापित पीडित हाल मजदुरी गरेर जिविकोपार्जन गरिरहनु भएको छ । घरनिकाला भएपछि मजदुरी गरेर जिविकोपार्जन गरिरहनु भएकी पीडितले आर्थिक अवस्था कमजोर भएको भन्दै इन्सेक सप्तरी जिल्ला प्रतिनिधिसँग आर्थिक तथा न्यायका लागि पहल गरिदिनु हुन निवेदन दिनु भएको थियो । सोही निवेदनको आधारमा इन्सेकले आवश्यक कारबाहीका लागि पहल गर्दै पीडितलाई ०८० चैत १९ गते १० हजार रुपियाँको चेक हस्तान्तरण गरी आर्थिक सहयोग गरेको थियो ।


मनोहरकुमार पोखरेल