अपरिचित व्यक्तिहरूको समूहबाट पत्रकारमाथि कुटपिट

  ०८१ माघ २३ गते

पत्रकार कमलबहादुर बोहरामाथि चार-पाँच जना अपरिचित व्यक्तिहरूको समूहले कुटपिट गरेको पीडित पत्रकारले आरोप लगाउनु भएको छ ।

बोहरा पालिका समय डटकमको अध्यक्ष तथा कार्यकारी सम्पादकसमेत हुनुहुन्छ । माघ २१ गते साँझ काठमाडौँको मध्यबानेश्वरमा पत्रकार बोहोरालाई कुटपिट भएको पत्रकार गणेश बिकले जानकारी दिनु भयो ।

उहाँका अनुसार सो दिन बोहरा गायक राजेश पायल राईको एउटा कार्यक्रममा सहभागी भएर घर फर्कँदै हुनुहुन्थ्यो । एक्लै हिँडिरहेको मौका छोपेर उहाँलाई अपरिचित व्यक्तिहरूको समूहले कुटपिट गरेको जनाइएको छ । कुटपिटबाट घाइते हुनुभएको पत्रकार बोहराको उपचार चावहिलको हेल्पिङ हेण्ड्स हस्पिटलमाउपचार भइरहेको छ ।

पत्रकार बोहराले माघ २२ गते प्रहरी वृत्त, बानेश्वरमा उजुरी दिनुभएको पनि पत्रकार बिकले जानकारी दिनु भयो । प्रहरीले घटनास्थलको सिसिटिभी फुटेज झिकाएर अनुसन्धान गर्ने तयारी गरेको छ । पत्रकारसम्बद्ध विभिन्न सङ्घ संस्थाले विज्ञप्ति जारी गर्दै बोहरामाथि भएको आक्रमणको घोर भर्त्सना गरेका छन् ।


पार्बती साउद