अपरिचित व्यक्तिहरुको समूहद्वारा विद्यालयको बसमा तोडफोड

शुक्लागण्डकी नपा–३ स्थित सहिद कृष्ण माविको बसमा अपरिचित व्यक्तिहरुको समूहले चैत १ गते राति तोडफोड गरेको छ ।

वडा अध्यक्ष रामकुमार श्रेष्ठको घर नजिकैको खाली जग्गामा पार्किङ गरिराखिएको ग १ ख ६६३८ नम्बरको सो बसमा नजिनेका मान्छेहरुको समूहले तोडफोड गरेका थिए ।

तोडफोडबाट बसका सम्पुर्ण सिसाहरु फुटेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा अध्यक्ष श्रेष्ठले बताए ।

विद्यालय परिसरमा गत साता आयोजना गरिएको महायज्ञको क्रममा उक्त बसलाई विद्यालय परिसरबाट वडा अध्यक्ष श्रेष्ठको घर नजिकै लगेर राखिएको थियो ।

सो बस बिग्रिएर केही दिन यता सञ्चालन नभएको विद्यालयका प्रधानाध्यापक भुला भण्डारीले बताए ।

महायज्ञको क्रममा विद्यालय परिसरको जग्गा खाली नभएपछि नजिकैको खाली जग्गामा लगेर राखिएको प्रअ भण्डारीले बताए ।

विद्यालयको बसमा आक्रमण गर्ने सो समूहको पहिचान नभएको र उनीहरुको खोजीको लागि इलाका प्रहरी कार्यालय बेलचौतारामा उजुरी गरिएको प्रअ भण्डारीले बताए । इलाका प्रहरी कार्यालय बेलचौताराले बसमा तोडफोड गर्ने समूहको खोजी गरिरहेको जनाएको छ ।


प्रकाशचन्द्र भट्टराई