अपरिचित व्यक्तिद्वारा नौ वर्षीया बालिकाको हत्या

  ०७८ असार ५ गते

डाक्नेश्वरी नपा–३ हटेलकी नौ वर्षीया शिवानीकुमारी यादवलाई अपरिचित व्यक्तिले असार ४ गते हत्या गरेको पीडित पक्षको आरोप छ ।

डाक्नेश्वरी नपा–३ हटेल पुवरिया टोलस्थित शिवनाथ यादवको फूलबारीमा बालिका शिवानीकुमारीको शव घाँटी काटेको अवस्थामा फेला परेको स्थानीय शोभानन्द रायले जानकारी दिनु भयो ।

हत्या गरेको स्थानबाट दुई मिटर माथि घिसारेर लगेको शव घोप्टो परेको अवस्थामा फेला परेको र बालिकाको दुई गोडाको बिचमा गाडिएको हँसिया प्रहरीले बरामद गरेको रायले बताउनु भयो ।

घटनाको अनुसन्धानलाई सघाउन सङ्घीय प्रहरी कार्यालय जनकपुरबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्रप्रसाद धमलाले बताउनु भयो ।

घटनापछि एसपी धमलाको नेतृत्वमा इलाका प्रहरी कार्यालय कल्याणपुर र कडरबोनाका इन्स्पेक्टरसहितको टोली घटनास्थल पुगेको छ ।

शवलाई पोष्टमार्टमका लागि असार ५ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ ।

पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन र घाँस काट्न गएकी शिवानीकुमारीले सिमसिम पानी पर्न थालेपछि बहिनीलाई घर पठाएर आफू फूलबारीमा हावाले झारेको आँप टिप्न लागेको बेला घटना भएको मृतकका बुबा रामउदगार यादवले बताउनु भयो ।


मनोहरकुमार पोखरेल