अपरिचित व्यक्तिद्वारा क्यानका केन्द्रीय सचिव पाठकमाथि मोविल छ्यापेर दुर्व्यवहार

मकवानपुर क्रिकेट सङ्घको जिल्ला अधिवेशनको लागि हेटौँडा आउनुभएका क्यानका केन्द्रीय सचिव दुर्गाराज पाठकमाथि ०८० साउन २७ गते दुई जना अपरिचित व्यक्तिले मोविल छ्यापेर दुर्व्यवहार गरेका छन् ।

हेटौँडा उपमहानगरपालिका-४, हुप्रचौरस्थित एक होटेलमा खाना खाइरहेको बेलामा पाठकमाथि स्कुटरमा आएका दुई जनाले मोविल छ्यापेर भागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

'खाना खाइरहेको बेलामा आएका दुई जनाले मोविल छ्यापेर भागेका छन्', पाठकले भन्नुभयो । केही मोविल पाठकको कपडामा समेत लागेको छ ।

घटनापछि पीडित पाठकले साउन २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ । मोविल छ्याप्ने व्यक्तिहरूको पहिचान नखुले पनि सिसिटिभी फुटेज भेटिएको र प्रहरीले फुटेजको आधारमा उनिहरूको खोजी गरिरहेको डिएसपी कार्कीले बताउनु भयो ।


पुष्पराज अधिकारी