अपरिचित व्यक्तिको छुरा प्रहारबाट एकको मृत्यु

विदेह नपा–५ मुडिबाका ६७ वर्षीय मानैर ठाकुर बरहीलाई अपरिचित व्यक्तिले छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा घर नजिकै रहेको सामुदायिक विद्यालयको पछाडि खाल्डोमा कात्तिक २९ गते बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले ठाकुरको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । ठाकुरको आँखा सहित कान, कञ्चट र हातमा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ ।

केही महिना पहिले स्थानीय लक्ष्मी मण्डलकी पत्नीको हत्याको घटनामा बरहीले कात्तिक ३० गते जिल्ला अदालतमा साक्षी दिन तयारी भएको कारण त्यो भन्दा पहिले उनको हत्या भएको परिवारजनले बताएका छन् ।

कात्तिक २५ गते बहादुर मण्डल र मानैरबिच साक्षी (गवाही) दिने विषयलाई लिएर भनाभन भएको थियो । उनलाई साक्षी (गवाही) नदिन बारम्बार धम्की पनि दिएको पीडित परिवारजनको दावी छ ।

कात्तिक २८ गते साँझदेखि हराएका बरही कात्तिक २९ गते बिहान मृत अवस्थामा फेला परेको पीडित परिवारजनले बताए ।

दाउरा ल्याउन गएका बरही अबेर रातिसम्म घर नआएपछि छोरा बुहारीले खोजतलास गरेका थिए । रातभरि खोजे पनि नभेटाएको पीडित परिवारले जनायो । दुई दिनदेखि शव जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

सबै प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागि शव पठाएको जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द थपलियाले बताए । घटना शङ्कास्पद रहेकोले अनुसन्धान भइरहेको एसपी थपलियाले बताए ।


विनोदकुमार रविदास