अपरिचित व्यक्तिद्वारा ज्येष्ठ नागरिकको हत्या

  ०७८ मङ्सिर ८ गते

छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीका ८० वर्षीय मिश्रिलाल मण्डललाई धारिलो हतियार प्रहार गरी मङ्सिर ८ गते अपरिचित व्यक्तिले हत्या गरेको प्रहरीले जनाएको छ ।

खुदीबखारीस्थित झौखराही फूलबारीमा धारिलो हतियारले घाँटी काटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो ।

छिन्नमस्ता सडक खण्डको झौखराही फुलबारीमा मङ्सिर ८ गते अपरान्ह शव रहेको जानकारी पाएपछि डिएसपी माधवप्रसाद काफ्ले नेतृत्वको टोली घटनास्थल पुगेको छ ।

डिएसपी काफ्लेले भन्नु भयो–‘घटना के कसरी भयो भन्ने अहिलेसम्म केही खुलेको छैन । हामी अनुसन्धान गरिरहेका छौँ ।’

अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कल्याणपुर र कडरबोनाका इन्स्पेक्टरद्वयलाई समेत बोलाइएको डिएसपी काफ्लेले बताउनु भयो ।

बिहान करिब १० बजे ज्येष्ठ नागरिकले छिन्नमस्ता सखडातर्फ जानका लागि घरबाट हिँड्नु भएको घरपरिवारका सदस्यले जानकारी दिएका छन् ।  साँझ ८ बजेसम्म घटनास्थलमै रहेको शवलाई पोष्टमार्टमका लागि अस्पताल लैजाने प्रहरीले जनाएको छ ।


मनोहरकुमार पोखरेल