अन्धविश्वास र विभेद कायमैः एकै खाडलमा पुरिन्छन् दलित समुदायका व्यक्तिका शव

  ०८० वैशाख १२ गते

हिन्दु परम्परा अनुसार समान्यतया शवलाई जलाएर नदीमा दाहसंस्कार गर्ने चलन छ । तर, जिल्लाको पुर्चौडी नगरपालिका–९ तल्लादेही भमतोलामा भने दलित परिवारमा कसैको पनि मृत्यु भएमा एकै खाडलमा शव पुर्ने चलन छ ।

अन्धविश्वास र जातीय विभेदका कारण पुर्खादेखिनै दलित समुदायका व्यक्तिहरुका शव निश्चित ठाउँमा बनाएका दुई ओटा खाडलमा मात्रै पुर्नु पर्ने बाध्यता कायम रहेको छ ।

भमतोला जङ्गलस्थित जेठीबहुरानी जङ्गलमा वर्षौ पहिला बनाइएका दुई ओटा खाडलमा करिव १ सय ५० दलित परिवारका मृतकको शव पुर्ने गरिन्छ ।

शव पुर्नका लागि पुस्तौँ पहिला पाँच–पाँच फिटका दुई ओटा खाडल बनाइएको र सोही खाडलमा मृत्यु हुने सबै दलित व्यक्तिहरुका शव गाड्ने गरिएको स्थानीय राकेश चुनाराले बताउनु भयो ।

उहाँले भन्नु भया– ‘पुर्खादेखिनै यसरीनै चल्दै आएको छ । त्यतीबेला जातीय विभेद भएर शव समेत अगल गाड्न थालेका दलीत समुदायहरुले अझैसम्म पनि नदीमा दाहसंस्कार गर्दैनन् । त्यतिबेलाको विभेद अहिले परम्परामा परिणत भएको छ ।’

तल्लादेहीका बसौरा, डाँडाखाली र पोखरी गाउँका दलित समुदायका चुनारा, लुहार र पार्की थरका व्यक्त्हिरुको मृत्यु भएमा एकै खाडलमा पुर्ने गरिएको हो । यी गाउँका व्यक्तिहरुको दैनिक मृत्यु भएपनि पुरानो शव निकाल्दै नयाँ शव गाड्ने गरिन्छ ।

पुरानो शव खाडलबाट निकालेर जङ्गलमा फाल्ने गर्दा जङ्गलभरी मानव कंकाल र हड्डीहरु जताततै भेटिने गरेका छन् । जङ्गलमा रहेका दुई ओटा खाडल बाहेक अरु ठाउँमा खाडल नपाइने धार्मिक मान्यतालाई उनीहरुले आत्मासात गर्दै आएका छन् । चुनाराका अनुसार विभेदले पिल्सिएको दलित समुदाय विभेदलाई समेत परम्परा मान्न बाध्य छ ।

त्यहाँ नजिकका मन्दिरहरुमा पुला लागेको दिन यदी कसैको मृत्यु भएमा कपाल मात्रै जलाएर गाड्ने चलन छ भने अरु दिनमा चिता जलाएर बाँकी रहेको अवषेश खाल्डोमा पुर्ने चलन छ । उक्त चिहानमा पानीको व्यवस्था समेत छैन् ।

हिन्दु धर्म अनुसारनै सदगद् गर्ने दलित समुदायका व्यक्तिहरुले पानीको अभावका कारण व्यवस्थित रुपमा दाहसंस्कार गर्न पाएका छैनन् । हिन्दु परम्परा अनुसार व्यक्तिको शव जलाएपछि नदिमा विशर्जन गर्ने चलन छ ।

वातावरणीय र स्वास्थ्यका दृष्टीकोणले मानव शरीर खुल्ला छोड्दा  जोखीम हुने जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेश भट्टको भनाइ छ ।

हिन्दु परम्परानै मान्ने तर दलित समुदायका शव मात्रै एकै ठाउँमा गाड्ने परम्परासँग विभेद जोडिएको अधिकारकर्मी सरस्वती नेपालीको भनाइ छ ।

उहाँले भन्नु भयो– ‘यो चेतनासँग पनि सम्बन्धित छ ।, अनेकौ धार्मिक बन्देज लगाएर दलितमाथि हुने यस्ता विभेदको अन्त हुन जरुरी छ ।’

पुरानो शव निकालेर नयाँ गाड्ने कुरा स्वास्थ्यका दृष्टीकोणले पनि उपयुक्त नभएकाले वैज्ञानिक तवरले दाहसंस्कार गर्ने प्रचलन बसाउनु पर्ने स्वास्थ्य कार्यालय प्रमुख योगेश भट्टको भनाइ छ ।

photo20230425kailali


नरी बडु