अन्धविश्वासका कारण सुत्केरी हुन स्वास्थ्य केन्द्र जाँदैनन्

  ०७९ असार २७ गते

खार्पुनाथ गाउँपालिका–३ काराङग गाउँका गर्भवतीले सबै परीक्षण नियमित रूपमा स्वास्थ्य केन्द्रमा पुगेर गराउँछन् तर घरगोठमै बच्चा जन्माउने गरेका छन् ।

काराङ गाउँबाट डेढ घण्टाको दूरीमा स्वास्थ्य केन्द्र छ । गर्भावस्थामा गराउनु पर्ने सबै परीक्षण गराए पनि अन्धविश्वासका कारण प्रजनन्का लागि उनीहरू स्वास्थ्य केन्द्र जान डराउने गरेका छन् ।

५० घरधुरी र २ सय ३० भन्दा बढी जनसङ्ख्या भएको खार्पुनाथ गाउँपालिका–३, काराङ्गवासीले काराङग खोलाको भूतले जन्मेको बच्चालाई खाइदिन्छ भन्ने 'विश्वास' राख्दै आएका छन् ।

त्यसैले नवजात शिशुलाई काराङग खोला तार्ने आँट सो ठाउँका बासिन्दाले देखाउन सकेका छैनन् । सन्तान नजन्मिँदा देवीदेउतालाई भाकल गर्ने र बोका चढाउने यहाँको समाजले नवजात शिशुको सुरक्षाका लागि भन्दै खोला तार्न मान्दैनन् ।

राया स्वास्थ्य चौकीका संयोजक वीरसिंह रावलले खोलाको बाटो भएर हिँड्नु पर्ने भएपछि कोही पनि गर्भवती बच्चा जन्माउनका लागि रास्या स्वास्थ्यचौकीमा आउन नमानेको बताउनु भयो ।

उहाँले भन्नु भयो-'भूतप्रेतको डर नमान्न र निर्धक्क भएर गर्भवतीलाई स्वास्थ केन्द्रमा ल्याउन आग्रह गर्दा पनि कसैले मान्दैनन् । बच्चा जन्माउन स्वास्थ्य केन्द्रसम्म नआउँदा सरकारले उपलब्ध गराउँदै आएको सेवासुविधाबाट पनि सो गाउँका महिला वञ्चित हुने गरेका छन् ।'

स्वास्थ्य केन्द्रमा बच्चा जन्माउँदा सुत्केरी भत्ता दिने व्यवस्था छ । स्वास्थ्य संस्थामा सुत्करी भएकी महिलाका लागि सरकारले ३ हजार रुपियाँ दिने गर्दछ ।

तर, काराङग गाउँका करिब ६० जनाभन्दा बढी महिला उक्त सेवा सुविधाबाट वञ्चित हुँदै आएका छन् ।

स्वास्थ्य चौकीकी प्रसूति सेवा हेर्ने स्वास्थ्यकर्मी कविता बुढाले गर्भ रहेको दुई, तीन महिनादेखि नै स्वास्थ्य चौकीमा नियमित परीक्षण गराउँदै आउने महिला बच्चा जन्माउने समयमा स्वास्थ्य चौकीमा नआउने गरेको बताउनु भयो ।

'उनीहरूका परिवारले नै गर्भवतीलाई यहाँ ल्याउन मान्दैनन् ।'-उहाँले भन्नुभयो ।

स्वास्थकर्मी बुढाका अनुसार गर्भ जाँच गराउन आउने महिलालाई हरेक पटक सम्झाउने गरिएको छ ।

यति हुँदाहुँदै पनि न महिला आउन मान्छन् न त घरका पुरुषले नै पठाउन चाहन्छन् । काराङ्ग गाउँकी सुनतला शाहीले विगत १९ वर्ष अगाडि खोला तरेर स्वास्थ्य चौकीमा सुत्केरी गराउन जाँदा बाटैमा बच्चाको मृत्यु भएको घटनाले गाउँलेलाई अझै त्रसित बनाइ रहेको कविता बुढाले बताउनु भयो ।

उहाँका अनुसार दुई जना महिलालाई स्वास्थ्य चौकीमा सुत्केरी गराउन लैजाँदा नवजात शिशुको मृत्यु भएपछि बरु घरमा प्रसव पीडा भोग्नुपरे पनि स्वास्थ्य चौकीको आँगन टेक्न मान्दैनन् ।

स्वास्थ्य चौकी पुगेर पनि पहिलो शिशु गुमाउनु भएकी सङ्गीता शाहीले त्यसपछिका दुई सन्तान घरमै जन्माउनु भयो । सङ्गीता जस्तै अरू महिलाले जन्माएका शिशु हालसम्म स्वस्थ रहेको उहाँको भनाइ छ ।

बाल पोषणको अवस्था खासै राम्रो नभएको यस गाउँमा एक वर्ष मुनिको बालमृत्यु दर भने रोकिएको छैन ।

स्थानीयवासीको अन्धविश्वासका कारण सुत्केरी गराउन स्वास्थ्य चौकी नआएपछि हाल काराङ्ग गाउँमै सामुदायिक स्वास्थ एकाइ स्थापना गरिएको छ ।

तर, त्यहाँ तालिम प्राप्त महिला स्वास्थ्यकर्मी र आवश्यक उपचार सामग्री नभएको स्थानीय विष्णुबहादुर शाहीले गुनासो गर्नु भयो ।

खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले स्थानीयमा रहेको यस्तो अन्धविश्वास हटाउन आगामी साउन महिनादेखि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र दीर्घकालीन समाधान गर्न एकाइमा नै सुविधा सम्पन्न प्रसूति कक्ष स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।


नन्द सिंह