अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा देशैभर विभिन्न कार्यक्रम

१०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा फागनु २४ गते देशैभर विविध कार्यक्रमको आयोजना गरिएको इन्सेक कार्यालय तथा इन्सेकका जिल्ला प्रतिनिधिहरूले जनाएका छन् ।

इन्सेक कार्यालय धनगढीका अनुसार आर्थिक सशक्तीकरण सहितको 'सामाजिक जागरणः ग्रामीण तथा शहरी महिलाहरूको जीवनस्तर रूपान्तरण' भन्ने मूल नाराका साथ धनगढीको चौराहबाट सुरू भएको प्रभातफेरी धनगढी बजार परिक्रमा गर्दै धनगढी उपमहानगरपालिकामा पुगेर सभामा परिणत भएको थियो ।

1

1

1

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सभालाई सम्बोधन गर्दै नेपालमा राजनीतिक तथा समाजिक परिवर्तनका लागि महिलाहरूको महत्वपुर्ण भूमिका रहेको बताए । उनले नीति निर्माण तहमा महिलाहरूको अर्थपुर्ण सहभागिता रहेको औँल्याए ।

मुख्य मन्त्री भट्टले भने-"पितृसत्तात्मक सोचका कारण अहिले पनि महिलाहरू पीडित भएका छन् । महिलाहरूले समान कामका लागि समान ज्याला समेत नपाएको अवस्था छ । आगमी दिनमा महिलामैत्री कानुन निर्माण गरेर समस्याहरूको निकाश निकाल्छौँ । हरेक प्रकारका हिंसा र विभेदको अन्त्यका लागि प्रदेश सरकारले नै पहल गर्नेछ ।"

प्रदेश ७ का सामाजिक विकास मन्त्री दिर्घ सोडारीले महिला अधिकारकर्मीहरूको सुझाव र सल्लाह अनुसार आगमी दिनमा प्रदेश सरकारले महिला अधिकारको संरक्षणका लागि कानुन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

इन्सेक कपिल्वस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरि कपिलवस्तुका १० वटै स्थानीय तहमा कार्यक्रम सम्पन्न गरिएको छ ।

इन्सेक दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार महिला तथा बालबालिका कार्यालयको संयोजनमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सामाजिक सेवा केन्द्र (सोसेक), एभरेष्ट क्लव, सेडा, वीफ, सेवक, एनएनडीएसडब्लूओ, दलित महिला सङघलगायतका गैससहरूको आयोजनामा श्रमिक महिला दिवस मनाइएको छ ।

Photo20180308Dailekh (1)

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले दैलेखमा महिला हिंसाको प्रमुख कारक बालविवाह भएको बताए । दिवसको अवसरमा दैलेखमा आयोजित कार्यक्रममा बालविवाह गर्ने सबैलाई कानुनी दायरा ल्याइने पनि थापाले उल्लेख गरे ।

Photo20180308Dailekh (2)

दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले महिला अधिकारको पक्षमा बोल्ने बानीको विकास भए जसरी व्यवहार बदल्नुपर्ने सुझाव दिए ।

जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मीदेवी शाहले स्थानीय तहमा गएको अधिकार र बजेट श्रोतको उचित सदुपयोग गरी पिछडिएका महिला तथा बालबालिकाहरूको उत्थानमा लगानी गर्नुपर्ने बताइन् ।

नारायण नगरपालिकाकी उपप्रमुख सावित्री मल्लले महिला अधिकार र आरक्षण व्यवस्थाले सहभागिता बढे अनुसार क्षमता विकासमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन् ।

इन्सेक जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार तातोपानी गाउँपालिका-५ श्रीनगर गाउँका महिलाले सदियौँ पछि छुईगोठ मुक्त सामाजिक न्याय प्राप्त गरेको छन् । १०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागुन २४ गते औपचारिक कार्यक्रम गरी उक्त गाउँका महिलाले आजको दिनदेखि छुईप्रथा नमान्ने उद्घोष गर्दै छुईगोठबाट मुक्त भएको घोषणा गरेका हुन् ।

Photo20180308Jumla (1)

श्रीनगर गाउँमा रहेका ४२ घरधुरीका ७० भन्दा बढी महिलाहरू छुई (महिनावारी) हुँदा घरमा बस्न थालेपछि उक्त गाउँलाई छुईगोठ मुक्त गाउँ घोषणा गरिएको छ ।

यस अघि श्रीनगर गाउँका छुई (महिनावारी) हुने महिलाहरू छुईगोठमा बस्दै आएका थिए । छुई गोठमा बस्ने महिलाहरूको शारीरिक तथा मानसिक रूपमा समस्या आउन थालेपछि स्थानीय तहमा कार्यरत सङ्घसंस्थाहरू सर्वोदय नेपाल, आत्म सम्मानका लागि सहकार्य क्याड नेपाल, एक्सन वर्क्स नेपाललगायतको पहलमा सञ्चालन गरेको अभियानले श्रीनगर गाउँ छुईगोठ मुक्त घोषणा हुन सफल भएको हो ।

Photo20180308Jumla (2)

यस अघि तातोपानी गाउँपालिकाकै हियाखोला, तिला गाउँपालिकाको रावतवाडा, जोगीवाडा र ढिम्कोटगाउँ छुईगोठ मुक्त भएका छन् भने पातारासी गाउँपालिकाको तल्लोलोर्प गाउँ छुईगोठ मुक्त गरिएको थियो ।

छाउपडि मुक्त अभियानमा धामी झाँक्रीको साथ

छाउपडी मुक्त अभियानमा धामी झाँक्रीले साथ दिँदै आएका छन् । धामीझाँक्रीले छुई अर्थात महिनावारी भएको अवस्थामा छुईगोठमा एक्लै बस्दा असुरक्षित हुने र विभिन्न रोगबाट सङ्क्रमति हुने अवस्था बुझेपछि घरभित्र बस्न सल्लाह दिन थालेका हुन् । तिला गाउँपालिका डुङरीगाउँका झाँक्री सन्तके रावतले महिनावारी भएको अवस्थामा घरभित्र सुरक्षित रूपमा बस्न सल्लाह दिए ।

अझै पनि छुई हुँदा गाउँका महिलाहरूलाई घर बाहिर छुट्टै छाउ गोठमा बसाल्ने चलन छ । पहिले छाउपडी प्रथाको समस्याको जड मानिएका धामीझाँक्री नै छाउपडी मुक्त अभियानमा लागेपछि सबै दङ्ग परेका छन् । 'आफ्नो गाउँ आफै बनाँउ' भन्दै गाउँलाई छाउपड मुक्त बनाउन धामी झाँक्रीहरूले गाउँका महिला र पुरुषहरूलाई भेला गराएर छुई बार्न नहुने सन्देश दिन थालेका छन् ।

इन्सेक डोटी जिल्ला प्रतिनिधि दीर्घ खत्रीका अनुसार यहाँका गाउँपालिका र नगरपालिकाहरूमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी श्रमिक महिला दिवस मनाइएको छ ।

के.आई.सिं गाउँपालिकास्थित झिमेमालिका मावि वायलमा इन्सेकारा गठित मानव अधिकार अगुवा समूहको अगुवाइमा लैङ्गिक हिंसाविरूद्ध र्‍याली तथा सडक नाटक कार्यक्रम सम्पन्न भएको छ । यसमा विभिन्न संस्थाहरूको संयोजन रहेको थियो ।

इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्रसिं कार्कीका अनुसार महिला तथा बालबालिका कार्यालयको आयोजनामा श्रमिक महिला दिवस मनाइएको छ । महिलाहरूको हक अधिकार संरक्षण र उनीहरूलाई सशक्तिकरण गर्न दिवस मनाइएको निमित्त महिला विकास अधिकृत निर्मला कुवरले बताइन् ।

इन्सेक जिल्ला प्रतिनिधि सङ्गीता भाटका अनुसार श्रमिक महिला दिवसको अवसरमा कास्कीका निर्वाचित महिला जनप्रतिनिधि तथा कास्कीका विभिन्न विद्यालयका महिला प्रधानाध्यापक समेत गरी १ सय ५० जनालाई फागुन २४ गते सम्मान गरेको छ ।

Photo20180308Kaski (1)

सम्मान कार्यक्रममा बोल्दै प्रदेश ४ की उपसभामुख सिर्जना शर्माले महिलाले काम गर्ने तर श्रमको मुल्याङ्कन नहुने कुराको अन्त्य हुनुपर्ने बताउँदै स्थानीय महिलालाई अधिकारबाट बिमुख हुन नदिने जिम्मेवारी महिला जनप्रतिनिधिको हुने बताइन् ।

प्रदेशको कानुन निर्माणको प्रक्रियामा रहेकाले महिलामैत्री कानुन निर्माणका लागि आफूले सक्दो पहल गर्ने बताइन् । प्रदेशसभा सदस्य प्रभा कोइरालाले अबको आवश्यकता भनेको सबै मिलेर संविधानलाई अक्षरसः कार्यान्वयनको लागि पहल गर्नुपर्ने बताउँदै कार्यक्रमको लागि मात्र कार्यक्रम गर्ने नभइ कार्यक्रमको उद्धेश्यलार्इ व्यवहारिक रूपमा लागु गर्नुपर्ने बताइन् ।

Photo20180308Kaski (2)

सांसद गायत्री गुरुङले महिलामाथि हुने उत्पीडनको विरुद्ध आवाज उठाउन अझै आवश्यक रहेको  बताउँदै महिलामैत्री कानुन निर्माणमा आफूले कुनै कञ्जुस्याइँ नगर्ने बताइन् । सांसद पुष्पा केसी भण्डारीले महिलाको पिडा महिलालाई मात्र सुनाएर नहुने भन्दै महिला दिवस सार्थक बनाउन पुरुषसँग सहकार्य गरी कार्यक्रम गर्न सके उपलब्धि हुने बताइन् ।

राष्ट्रिय मानव अधिकार आयोगकी निमित्त निर्देशक नितु गर्तौलाले महिला दिवस नारामा मात्र सिमित नराखी ब्यबहारमा पनी परिवर्तन ल्याउन आवश्यक रहेको बताइन् ।

गैरसरकारी संस्था महासङ्घ कास्कीका अध्यक्ष पदम पहारीले समान सहभागिताको लागि सङ्ख्यात्मक रूपमा मात्र नभएर हरेक क्षेत्रमा महिलालाई गुणात्मक रूपमा नेतृत्व तहमा पहिलो प्राथामिकता दिनुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले हरेक ठाउँमा महिलाको पचास प्रतिशत सहभागितामा मिडियाको ऐक्यबद्धता रहेको बताउदै महिलामाथि हुने हिंसा कम गर्न पीडितलाई न्याय र पिडकलाई कारबाहीको दायरामा ल्याउन महिला जनप्रतिनिधिको ठुलो हात हुने बताए ।

इन्सेक मोरङ जिल्ला प्रतिनिधि ईन्दिरा भट्टराईका अनुसार श्रमिक महिला दिवसको अवसरमा विराटनगमा फागुन २४ गते प्रभातफेरी निकालिएको छ ।

Photo20180308Morang1

सरकारी तथा गैरसरकारी सस्थाहरूको सहकार्यमा प्रभातफेरी सहित विभिन्न कार्यक्रमको आयोजना गरिएको हो ।

प्रभातफेरीपछि आयोजना गरिएको कार्यक्रममा वक्ताहरूले महिला आन्दोलनले महिलाको अधिकार स्थापित गर्दै ल्याएको भएपनि सन्तोषजनक अबस्था नहरेको बताए । उनीहरूले समाजमा व्याप्त विभेद महिला शसक्तीकरणको बाधक भएको बताए ।

Photo20180308Morang2

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले संविधानमा महिला पुरुष बराबर भनेपनि कार्यन्वयन फितलो भएको बताए । उनले सामाजिक रूपान्तरणसँगै महिलाको सहभागिता बढ्दै आएको भएपनि सामाजिक र सांस्कृतिक विभेद भने हट्न नसकेको बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले सबै क्षेत्रमा महिलाहरूको ३३ प्रतिशत सहभागिता भनिएपनि कार्यान्वयन हुन नसकेको बताए । उनले महिलाहरूको अधिकार स्थापित हुँदै गर्दा बलात्कार, कथित बोक्सीजस्ता अपराधको शिकार हुनु दुखद् भएको भन्दै महिलाहरूको सम्मानपुर्वक बाँच्न पाउने अधिकारको रक्षाका लागि राज्य गम्भीर हुनुपर्ने बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले विभिन्न पेसा अनुसार महिलाहरूको उन्नतीका लागि छुट्टाछुट्टै काम गर्नुपर्ने बताए । उनले राजनीतिमा लागेका महिला, जागिरे महिला, व्यापारमा लागेका महिलाका लागि मात्र नभई खान पुग्ने अवस्था नभएका महिलाहरूलाई खान पुग्ने अवस्थासम्म ल्याउने खालका काम गर्नुपर्ने बताए ।

इन्सेक बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार जिल्ला प्रशासन कार्यालय, नेपालगञ्ज उमनपा, जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका कार्यालय, इन्सेकलगायत जिल्लास्थित सरकारी तथा गैर सरकारी सङ्घ संस्थाहरूको आयोजनामा फागुन २४ गते नेपालगञ्जमा विभिन्न कार्यक्रम गरी १०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।

1

1

1

1

1

1

गणेशमान चोकदेखि निकालिएको र्‍याली जैसपुर पुगेर कोण सभामा परिणत गरी समापन गरिएको थियो । उक्त कार्यक्रममा सडक नाटक प्रस्तुत गरिएको थियो । नाटकमा हाम्रो समाजमा भइरहेको बाल विवाह र महिलामाथि हुने हिंसालाई नाटकमार्फत चित्रण गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपालगञ्ज उमनपाका उपमेयर उमा मगरले यस्ता कार्यक्रमले हिंसा सहनु हुन्न भन्ने कुरा सिकाउन मद्दत गर्ने बताइन् । उनले पितृसत्तात्मक सोचलाई हटाउन यस्ता कार्यक्रमले प्रेरणा दिने बताइन् ।

इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार जिल्ला समन्वय समितिको मुल आयोजनामा श्रमिक महिला दिवसको अवसर पारेर फागुन २४ गते भिमदत्तनगरमा विविध कार्यक्रम गरिएको छ ।

Photo20180308Kanchanpur

मदनचोकदेखि सुरू भएको र्‍यालीले बजार परिक्रमा गरेर स्थानीय स्मारकमा आएर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य तारालामा तामाङले महिला अधिकार सुनिश्चत गर्ने किसिमको नीति प्रदेशसभाले बनाउने प्रतिबद्धता जनाए ।

इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा फागुन २४ गते विविध कार्यक्रम गरिएको छ । इन्सेक, मानव अधिकार रक्षक सञ्जाला, महिला मानव अधिकार रक्षक सञ्जाल, ओरेक, सहयोगी हातहरू, महिला बालबालिका कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सङ्घसंस्थाको आयोजनामा सिरहा, लहान नपा, गोलबजार नपामा र्‍याली, अन्तरक्रिया तथा कोणसभा र सडक नाटक गरी सम्पन्न भएको छ ।

1

1

इन्सेक रामेछाप जिल्ला प्रतिनिधि नवराज पथिकका अनुसार श्रमिक महिला दिवसको अवसरमा आयोजित र्‍याली सदरमुकाम मन्थली बजार परिक्रमा गरी जिल्ला समन्वय समितिमा पुगेर सभामा परिणत भएको थियो ।

Photo20180308Ramechhap (1)

कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले महिलाहरूको हक अधिकार सुनिश्चितताको लागि महिला पनि जागृत हुनुपर्ने बताए ।

उनले पहिलेको तुलनामा महिलाहरू अहिले धेरै सक्रिय हुने गरेका बताए । आवश्यक सिप, तालिम, अनुभव र विभिन्न ज्ञानको माध्यम नै अगाडि बढ्ने बाटो भएकोले महिलाहरू यसका लागि अग्रसर हुनुपर्नेमा उनको जोड दियो ।

Photo20180308Ramechhap (2)

कार्यक्रममा बोल्दै नगरप्रमुख रमेश बस्नेतले आर्थिक सशक्तिकरण बिना महिला अधिकार स्थापित हुन नसक्ने बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्कीले महिलाहरू नेतृत्व तहमा पुग्यो भने महिलाको समस्या पहिचान गर्न सहज हुने बताइन् । महिलाहरूको अधिकार प्राप्तिका लागि जस्तोसुकै काम गर्न नगरपालिका प्रतिबद्ध रहेको उनले बताइन् । उनले महिलाहरूको लागि विभिन्न कार्यक्रम गर्न नगरपालिकाले योजना अघि बढाएको समेत जानकारी दिइन् ।

प्रमुख जिल्ला अधिकारी दीलिपप्रसाद लामिछानेले महिला समृद्धिको मुख्य आधार आर्थिक समृद्धि भएको  बताए । उनले महिला दिवस दिवसमा मात्र सिमित नराखेर व्यवहारिक रूपमा अधिकारका लागि सक्रिय हुनुपर्ने सुझाव दिए ।

कार्यक्रम मन्थली नगपालिकाको आयोजना र विभिन्न संस्थाको सहआयोजनामा भएको थियो । सोही कार्यक्रममा म बोल्छु अभियान अन्तर्गत महिला हिंसा, विभेद र दुर्व्यवहारविरूद्धको प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गरिएको थियो ।

इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार फागुन २४ गते सप्तरीको विभिन्न स्थानमा १०८औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।

Photo20180308Saptari (1)

महिला तथा बालबालिका कार्यालयको अगुवाइमा इन्सेकसहित विभिन्न अधिकारकर्मी गैसस र कार्यालयहरूको संयुक्त आयोजनामा राजविराजमा जुलससहित नगर परिक्रमा गरी जिल्ला समन्वय समितिको सभाकक्षमा सभा गरियो ।

कार्यक्रममा प्रदेश २ का उपसभामुख उपमा देवले अल्पसङ्ख्यक, सीमान्तकृत वर्गका महिलालाई आर्थिक रूपमा सम्पन्न बनाएर आयआर्जनका बाटाहरू पहिल्याउँदै विकास गर्नुपर्ने बताइन् । महिला अस्मिता सुरक्षामा समाजका सबै वर्गबाट समानता प्रवर्धन गर्नुपर्ने भन्दै उनले शुभकामना व्यक्त गरिन् ।

Photo20180308Saptari (2)

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाका अनुसार समयसापेक्ष रूपमा महिलाहरूमा अझै पनि आर्थिक, सामाजिक तथा राजनीतिक विकास हुन नसकेको विचार एक कार्यक्रमका सहभागीहरूले व्यक्त गरेका छन् ।

१०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर तानसेन नगरपालिका र महिला तथा बालबालिका कार्यालयले फागुन २४ गते तानसेनमा आयोजना गरेको कार्यक्रमका वक्ताहरूले उक्त कुरा बताएका छन् । वक्ताहरूले महिला हकको कार्यान्वयनका लागि महिलाहरूको नेतृत्व चाहिने र पुरुषहरूको साथ रहनुपर्ने बताए ।

इन्सेक धनकुटा जिल्ला प्रतिनिधि सन्तोष रूचालका अनुसार महिला तथा बालबालिका कार्यालयको आयोजना तथा विभिन्न सघंसंस्थाको संयोजनमा धनकुटामा र्‍याली सहित कोणसभा सम्पन्न भएको छ ।

र्‍यालीमा सहभागीहरूले महिलाको सम्मानको आधार, सीपयुक्त हात र स्वरोजगार, हिंसामुक्त नारी, हामी सबैको जिम्मेवारी, लैङ्गकि हिंसा अन्त्यको लागि सबै जुटौँ, कोही नछुटौँ, राज्यको हरेक निकायमा महिलाको समान सहभातिगा सुनिश्चित गरौँलगायतका नारा लेखिएका प्लेकार्ड सहित सहभागिता जनाएका थिए ।

कोणसभामा बोल्ने वक्ताहरूले महिलाहरू आर्थिक तथा सामाजिक रूपमा सक्षम हुन आवश्यक रहेको बताएका छन् । उनीहरूले महिला अधिकार सुनिश्चित गर्नका लागि पुरुषको साथ सहयोगको खाँचो रहेको भन्दै महिलाहरूको क्षमता विकास हुनु पर्नेमा जोड दिएका छन् ।


अनलाइन डेस्क