अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइयो
७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते प्रदेश २ अन्तर्गतका जिल्लाहरूमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहर कुमार पोखरेलका अनुसार “दिगो विकासको आधार, सबैका लागि मानव अधिकार“ मूल नाराका साथ ०७६ मङ्सिर २४ गते राजविराजमा अन्तरकृया कार्यक्रम गरी ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ ।
इन्सेकको संयोजन र लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान मूल समारोह समिति सप्तरीको आयोजनामा भएको अन्तरकृया कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाईले मानव अधिकार उल्लङ्घनको बढ्दो घटनाले गम्भीर बनाएको भन्नुहुँदै अपराध नियन्त्रण एवम् अनुसन्धानमा दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
घरेलु हिंसा र अपराधको प्रमुख कारक बनेको मादक पदार्थ र लागु औषध नियन्त्रणमा प्रहरीले हरसम्भव प्रयास गरिरहेको जनाउँदै एसपी प्रसाईले फौजदारी अपराधका ८ सय ३६ सहित साढे ३ हजार फरार अभियुक्त पक्राउ पर्ने क्रममा सफलता मिल्दै गएको बताउनु भयो ।
यसअघि इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले आधारपत्र प्रस्तुत गर्दै सप्तरीमा ११ महिनाको अवधिमा भएका २० ओटा हत्या घटनामा १० ओटा घटनाका अभियुक्त पत्ता नलागेको र पक्राउ नपरेको अवस्थाले गम्भीर बनाएको बताउनु भयो ।
राज्यबाट एकसहित छोरा, बुवाआमा, पति, देवर, ससुरा अज्ञात र अन्यबाट भएको हत्या, गोली प्रहार, बम विष्फोट, अपहरण, बालिका बलात्कार, बहुविवाह र घरेलु हिंसाको घटनामा बृद्धि भएको जानकारी दिनुहुँदै पोखरेलले लैङ्गिक हिंसाविरूद्धको अभियानलाई सार्थक तुल्याउन सबै प्रतिबद्ध हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले मानव अधिकार बिनाको लोकतन्त्र संस्थागत हुनै नसक्ने भन्दै मानव अधिकारको सुनिश्चितता र दण्डहिनताको अन्त्यको माग गरे ।
इन्सेक बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेलका अनुसार अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बारा जिल्लामा आयोजित मङ्सिर २४ गते कलैया उपमहानगरपालिकाको कार्यालयमा जिल्लाको मानव अधिकारको अवस्था विषयक छलफल गोष्ठिलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका उप–प्रमुख पवनकुमार व्याहुतले संविधानले दिएको अधिकारको उपयोग गरी मानव अधिकारको रक्षा गर्न जरूरी रहेको बताउनुभयो ।
कलैया उपमहानगरपालिकाको सहयोग र महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, जिल्ला महिला सञ्जाल, महिला अधिकारकर्मीहरूको एकिकृत सञ्जाल, नेपाल मानव अधिकार सङ्गठन, हाम्रो प्रयास, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), दलित महिलासङ्घ लगायतका मानव अधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरूको सहकार्यमा सञ्चालन भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी विकाशराज खनालले मानव अधिकारको रक्षा र लैङ्गिक हिंसा न्यूनीकरण गर्न संवेदनशील भएर बारा प्रहरीले काम गरिरहेको बताउनुभयो ।
उहाँले जिल्लामा रहेका मुल्बी, पण्डित, पुजारी, लामा लगायतका धर्मगुरूहरूलाई प्रशिक्षण दिएर राम्रो प्रयास सुरू भएको बताउनुभयो ।
उहाँले जिल्लामा रहेका विकृति, खराब परम्परा, बालविवाह, बहुविवाह, दाइजो, छुवाछुतलगायतका समस्या समाधान गर्न प्रतिबद्ध रही कार्य गरिरहेको बताउनुभयो ।
उहाँले प्रहरी प्रशासन र अधिकारकर्मीहरूको सहकार्यमा मानव अधिकारका विषयमा जनचेतना जागरण गर्न जरूरी रहेको बताउनुभयो ।
उहाँले अरूसँग कस्तो व्यवहारको आशा गर्नुहुन्छ ठिक त्यस्तै व्यवहार अरूलाई गर्न आग्रह गर्नुभयो । उहाँले अपराध रहित समाज निर्माण गर्न मानवको रक्षाका लागि नेपाल प्रहरीले काम गरिहेको र केही कमी कमजोरी भए तुरून्त सुधार गर्ने बताउनुभयोे । उहाँले सुरक्षा कायम गर्न सहयोगका लागि अनुरोध पनि गर्नुभयो ।
कार्यक्रममा जिल्ला सह न्याधिवक्ता ठाकुरराम भण्डारीले भ्रुणदेखि काजकिरिया गर्ने समयसम्म पाउने अधिकार सरकार, सरकारी पदाधिकारी वा नागरीक कसैले पनि उल्लङ्घन गर्न नपाउने र उल्लङ्घन गरेमा राज्य र अन्तर्राष्ट्रिय कानुन अनुसार कारवाही हुनुपर्ने बताउनुभयो ।
कलैया उपमहानगरपालिका–२१ का वडाध्यक्ष पुनदेव रौनियारले मानव अधिकारको अवस्था सुधार गर्न अझ बढि मेहनत गर्न जरूरी रहेको बताउनुभयो ।
इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार “यूथ स्टानडिङ्ग अप फोर ह्यूमानराइट्स” “दिगो विकासको आधार, सबैको लागि मानव अधिकार” भन्ने मुल नाराका साथ मङ्सिर २४ गते सिरहामा विभिन्न कार्यक्रम सहित ७१ औं मानव अधिकार दिवस मनाइएको छ ।
लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको अन्तिम दिन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार संरक्षण केन्द्र (सञ्जाल), ओरेक नेपाल, मुक्ति नेपाल, समग्र जनउत्थान केन्द्र, दलित जनकल्याण युवा क्लब, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, अपाङ्ग पुनस्र्थापना केन्द्र, जिल्ला प्रहरी कार्यालय, महिला मानव अधिकार रक्षक सञ्जालको आयोजनामा रक्तदान, सडक नाटक, सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरी समपन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा प्रदेश सभा सदस्य लगनलाल चौधरीले मानव अधिकारको अनुभूति जनताहरूले निर्वाध रूपमा गर्न पाउनु पर्ने बताउनु भयो ।
आफ्नो अधिकारको उपभोग गर्दा कर्तव्यलाई नबिर्सिइकन उपभोग गर्दा सबैको मानव अधिकारको संरक्षण हुने भएकाले स्थानीय तहहरूले न्यायिक समितिमार्फत मानव अधिकारको प्रत्याभुति हुने गरी न्याय निरूपण गर्न सुझव दिनु भयो ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले १६ दिने अभियानको अन्तिम दिन भए पनि यो अभियानलाई वर्षभर नै सङ्घसंस्थाहरूले निरन्तरता दिनु पर्ने बताउनु भयो ।
यस्ता अभियानहरूले गाउँगाउँमा सचेतना बढेकाले मानव अधिकार उल्लङ्घन हुने बितिकै उजुरी गर्नेहरूको सङ्ख्या बढेको बताउनु भयो ।
आधारभुत आवश्यक्ताहरूलाई मौलिक हकमा व्यवस्था गरेकाले सो उपभोग गर्न नपाउँदा उजुरीसम्म लाग्ने व्यवस्था भएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले मानव अधिकारको संरक्षणमा प्रहरी संवेदनशील रहेको बताउनु भयो ।
लहान नगरपालिकाकी उपप्रमुख सरियार चौधरीले न्यायिक समितिले कानुन सम्वत् काम गर्ने गरेको बताउनु भयो ।
बिना झञ्झट, सहज सरल तरिकाले राजनीतिक आस्थाको आधारमा विभेद नगरिकन न्याय सम्पादन गरेको चौधरीले बताउनु भयो ।
मानव अधिकार सञ्जालको नेतृत्वमा इन्सेक
मानव अधिकार संरक्षण केन्द्र सञ्जाल सिरहाको नेतृत्वको जिम्मेवारी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई दिइएको छ ।
सिरहा जिल्लामा ०६१ सालदेखि क्रियाशील मानव अधिकार संरक्षण केन्द्र सञ्जालको सन् २०२० को नेतृत्वका लागि इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारलाई संयोजनको जिम्मेवारी दिइएको हो ।
मानव अधिकार संरक्षण र प्रवर्धनमा सक्रिय २० भन्दा बढी सङ्घसंस्थाहरूको छाता सङ्गठनको रूपमा रहेको सञ्जालको नेतृत्व परिवर्तन ७१ औँ मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा घोषण गरी इन्सेक प्रतिनिधिलाई प्रदान गरिएको हो ।
परियारले ०६९ सालदेखि जिल्ला प्रतिनिधिको रूपमा इन्सेक अभियानमार्फत जिल्लामा सामाजिक न्यायका लागि योगदान दिँदै आउनु भएको छ ।
सर्लाही जिल्ला प्रतिनिधि बुधन साहका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मलङ्गवा नगरपालिका–४ स्थित शिवसागर चोकमा दिप प्रज्वलन गरी मनाइएको छ ।
कार्यक्रममा मानव अधिकार उल्लङ्घनमा बलात्कार, कुटपिट, महिला हिंसालगायत मानव अधिकारको अवहेलनालगायतका कार्य सर्लाहीमा हुन नदिने र घटना घटेमा गम्भीरताका साथ कानुनी कारवाही गर्ने जिल्ला प्रहरी कार्यालका एसपी प्रतितसिंह राठोरले जानकारी गराउनु भएको छ ।
सर्लाही जिल्लामा कुनै नगरपालिका वा गाउँपालिकामा मानव अधिकारसम्बनधी घटना भए भने छिटो भन्दा छिटो कानुनी दायरामा ल्याएर कारवाही गर्ने जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीले बताउनुभयो ।
इन्सेक प्रदेश २ कार्यालय, जनकपुरधाम
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजपुर गाउँपालिका–२ का ४० वर्षीय धर्मराज यादवलाई प्रहरीले ०८१ असोज १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १८ गते बलात्कार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी गाउँपालिका-२, खोलबाङका ३२ वर्षीय बिर्सी विकलाई प्रहरीले ०८१ असोज १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १६ गते बलात्कार गरेको…
आमउपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह
बाढी पहिरोका घटनाबाट उत्पन्न परिस्थिति तथा चाडपर्व नजिकिँदै जाँदा यातायातका साधनहरुले तोकिएको मूल्य भन्दा बढी भाडा लिएको जस्ता सूचनाहरु सञ्चार माध्यम लगायत विभिन्न सामाजिक सञ्जालमा प्रकाशन भइरहेकोमा राष्ट्रिय मानव अधिकार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई असोज १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले असोज १७ गते ३४ वर्षीय बाबुलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा…
बेनिघाटका १० र गजुरीका १३ विद्यायमा पहिरोले क्षति
लगातारको वर्षा र त्यपछिको पहिरोले बेनिघाटरोराङ र गजुरी गाउँपालिकाका २३ विद्यालयलाई पहिरोले क्षति पुर्याएको छ । असोज १०, ११, र १२ गतेको वर्षाले विद्यालयमा समेत पहिरो आएका कारण १० विद्यालयलाई…