अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइयो

७० औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस र लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको समापनको अवसरमा मङसिर २४ गते प्रदेश २ का जिल्लामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि विनोद कुमार रविदासका अनुसार ७० औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग, मुख्य न्यायाधिवक्ताको कार्यालय र मानव अधिकार महाभेलाको संयुक्त आयोजनामा धनुषाको जनकपुरधाममा मङ्सिर २४ गते विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको प्राङ्गणमा आयोजित एक कार्यक्रममा मानव अधिकार अधिकार हनन् शुन्य सहनशीलतामा ल्याउने प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए ।

आफू मानव अधिकारप्रति गम्भीर रहेको उल्लेख गर्दै प्रदेश २ विभेदरहित बनाउन चाहेको उनले बताए । महिला, दलित, तेश्रो लिङ्गी तथा पछाडि पारिएका समुदायको लागि प्रदेश सरकारले कानुन निर्माण गर्ने कुरामा गम्भीरतापूर्वक अगाडि बढिरहेको मन्त्री यादवले बताए ।

आमाको पेटमा रहेका भ्रुणलाई बचाउनु साथै मानव जन्मेपछि मानवको हैसियतमा पाउने सम्पूर्ण अधिकार र मृत्यु भएपछि उसको धर्म संस्कार अनुसार गरिने दाहसंस्कार यी सबै मानव अधिकारभित्र पर्ने गरेको प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले बताए । 'मानव अधिकारका सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले निर्देशित गरिरहेको हुन्छ'-झाले भने ।

इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले समाजमा देखिएका दाइजो प्रथा, बालविवाह, घरेलु हिंसालगायतका विभिन्न कुरितिहरू अझ पनि समाजमा विद्यमान रहेको बताए ।

महिला तथा बालबालिकामाथि हुने हिंसा विरूद्ध सचेतना जगाउनु पर्ने, समय सापेक्ष कानुनको परिमार्जन गरी प्रभावकारी कार्यान्वयनमा जोड दिनु पर्ने, दण्डहीनतालाई निरूत्साहित गरिनु पर्ने, पीडकलाई उन्मुक्ति दिन नहुने, राजनीतिक हस्तक्षेप बन्द गरिनु पर्ने, छिटो, सहज र सुलभ ढङ्गबाट न्यायको प्रत्याभूत हुनुपर्ने इन्सेकका संयोजक पासवानले बताए ।

दिगो विकास र मानव अधिकार नेपालीको मूल सरोकार मुख्य नारा सहित ७० औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बिहान प्रभातफेरीको आयोजना गरिएको छ ।

जनकपुरको मिल्स एरियाबाट निस्केको जुलूस भानु चोक, शिव चोक हुँदै जनक चोकमा पुगेर कोण सभा परिणत गरिएको थियो ।

photo20181210dhanusha (1)

photo20181210dhanusha (2)

सप्तरी जिल्ला प्रतिनिधि मनोहर कुमार पाखरेलका अनुसार लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको समापन र ७० औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मङसिर २४ गते सप्तरीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल सप्तरीको आयोजना र राजविराज नगरपालिकाको सहयोगमा राजविराजमा कार्यशाला गोष्ठी गरिएको छ ।

कञ्चनरूप, सप्तकोशी, शम्भुनाथ, खडग नगरपालिका र रूपनी गाउँपालिकालगायतमा अन्तरक्रिया, गोष्ठी, र्‍याली, सभाहरू भएका छन् ।

राजविराजमा आयोजित कार्यशाला गोष्ठीमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कानुनको सर्वोच्चताविरूद्ध कुनै पनि किसिमको हिंसा सैहृय नहुने र हिंसाप्रति शुन्य सहनशीलता अपनाइने बताए ।

महिला हिंसाप्रति राज्य अत्यन्त संवेदनशील रहेको बताउँदै पौडेलले मानव अधिकार उल्लङ्घन हुन नदिने र मानव अधिकार उल्लघङ्नका दोषीलाई कानुनको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

लैङ्गिक हिंसा न्यूकिरणमा सरोकारवालाको भूमिका विषयमा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले कार्यपत्र प्रस्तुत गरे भने जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद सापकोटाले कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घको महासभाले मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० का दिन यो दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९४८ को डिसेम्बर १० मा मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र जारी गरेको थियो ।

photo20181210ssaptari (1)

photo20181210ssaptari (2)

photo20181210ssaptari (3)

इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार "दिगो विकास र मानव अधिकारः नेपालीको मुल सरोकार" भन्ने मूल नाराका साथ ७० औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सिरहाको लहानमा मङ्सिर २४ गते विभिन्न कार्यक्रम सहित मनाइयो ।

मानव अधिकार दिवसको अवसरमा मानव अधिकार संरक्षण केन्द्र सञ्जाल सिरहाको आयोजना र इन्सेक, ओरेक, दलित जनकल्याण यूवा क्लब, सहयोगी हातहरू, समग्र जनउत्थान केन्द्र, नेपाल दलित राष्ट्रिय समाज कल्याण सङ्घ, समुदाय प्रहरी साझेदार समिति लगायत विभिन्न संघ संस्थाको सहकार्यमा रक्तदान, अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरी मनाइएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जिवनकुमार श्रेष्ठले राज्यले आफूले गर्न सक्ने गरी मानव अधिकार प्रत्याभूति गराउन मौलिक हकको व्यवस्था गरेको बताए ।

मानव अधिकारको प्रयोग गर्दा जहिले पनि अरूको अधिकारको ख्याल राख्नका लागि एसपी श्रेष्ठले आग्रह गरे । मानव अधिकारको संरक्षण र प्रवर्धनमा नेपाल प्रहरी सदैव अगाडि रहने उनको भनाइ छ ।

त्यसैगरी गैर सरकारी संस्था महासङ्घ सिरहाका अध्यक्ष गोविन्दराज विष्टले समाजमा अहिले पनि विभेद असमानता रहेकोले हामिले काम गर्ने अवसर पाएको बताए । मानव अधिकारको संरक्षण र पीडितलाई न्यायको अनुभूति गराउन सबै मिलेर लाग्नु पर्ने उनको भनाइ रहेको थियो ।

मानव अधिकार दिवसको अवसरमा सञ्जालले महिला अधिकार, दलित अधिकार र सञ्चारको माध्यमबाट अधिकारको क्षेत्रमा योगदान पुर्‍याएबापत बबिता मिश्र, मोहन पासवान र रामभरोसी महतोलाई सम्मान गरेको सञ्जालका संयोजक सुनिलकुमार साहले बताए ।

photo20181210siraha (1)

photo20181210siraha (2)

photo20181210siraha (3)

photo20181210siraha (4)

photo20181210siraha (5)


इन्सेक प्रदेश २ कार्यालय, जनकपुर