अन्तरजातीय प्रेमसम्बन्धका कारण गाउँ निकालामा परेको जोडी पुनःस्थापित

अन्तरजातीय प्रेम सम्बन्ध राखेको आरोपमा स्थानीयले गाउँ निकाला गरेका अर्वेनी गाविस-५ का ८१ वर्षीय लालबहादुर सुनार र सोही ठाउँकी ४२ वर्षीया सावित्रा न्यौपानेलाई माघ १५ गते एक भव्य समारोहकाबिच पुनःस्थापित गरिएको छ । पुस १ गते लालबहादुरको घरमा बसेको अवस्थामा सावित्रालाई भेटाएपछि स्थानीयले उनीहरूलाई बाँधेर निर्घात कुटपिट गरी गाउँ निकाला गरेका थिए ।

photo20170130gulmi (4)

अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपाने र सावित्राका ४३ वर्षीय भतिज चिन्तामणी न्यौपानेको अगुवाइमा करिव १ सय ५० जना स्थानीयले एक्कासी उनीहरू दुवै जनालाई गाउँ निकाला गरेका थिए ।

photo20170130gulmi (2)

जिल्ला प्रशासन कार्यालय, अर्वेनी गाविस कार्यालय, जिल्लाका दलित अगुवा, मानव अधिकारकर्मीसहितको टोलीले उनीहरूलाई गाविस कार्यालयमा साझा मञ्चले आयोजना गरेको लालबहादुर, सावित्रा पुनःस्थापना कार्यक्रममा उनीहरूलाई सम्मान गर्नुका साथै घर प्रवेश गराइएको थियो ।

photo20170130gulmi (5)

आरोपितहरूले भत्काएको घर निर्माण गरिदिएपछि उनीहरूलाई बाजागाजासहित घर भित्र्याएको दलित अगुवा कृष्ण सुनारले बताए । पुनःस्थापित हुने जोडीलाई स्वागत गर्दै पमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले उनीहरूलाई ढुक्कसँग समाजमा जीउने वातावरण प्रदान गर्न स्थानीयहरूलाई आग्रह गरे ।

photo20170130gulmi (1)

गाउँ निकाला गरेको आरोपमा पीडितका छोरा अनुराम सुनारले ४५ वर्षीय चिन्तामणी न्यौपाने र अर्वेनी गाविस कार्यालयका सहायक झविलाल न्यौपानेविरुद्ध पुस ७ गते जिल्ला प्रहरी कार्यालयमा सामाजिक अपराध अन्तरगत उजुरीसमेत दर्ता गरेका थिए । तर, ३५ दिन कट्दासमेत आरोपितहरूलाई प्रहरीले गिरफ्तार गरेको छैन ।

photo20170130gulmi (6)

गाउँ निकालाको विषयलाई लिएर इन्सेक अनलाइन तथा विभिन्न सञ्चार माध्यममा समाचार तथा रिर्पोटहरू प्रकाशन तथा प्रसारण भएपछि दलित आयोगका सदस्य गोविन्द सुनारलगायतको टोलीले स्थलगत अनुगमनसमेत गरेको थियो । जिल्लाका दलित अगुवा र पत्रकार एवम् मानव अधिकारकर्मीको टोलीले जिल्ला प्रशासन कार्यालयमार्फ प्रधानमन्त्रीलाई पुस १८ गते ज्ञापनपत्र बुझाएका थिए ।

photo20170130gulmi (3)

 


टोपलाल अर्याल