अनेरास्ववियु (क्रा.) का कार्यकर्ताको आक्रमणबाट युवा सङ्घका अध्यक्ष घाइते

मुडकेचुला गाउँपालिका-१ कालिका निवासी युवा सङ्घका गाउँपालिका अध्यक्ष ४२ वर्षीय रूद्र शाहीलाई कात्तिक १८ गते माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रा) का जिल्ला सदस्य टक्क शाहीले चिरपट दाउरा प्रहार गरी घाइते बनाएको पीडित पक्षको आरोप छ ।

अनेरास्ववियु (क्रा) का कार्यकर्ताको आक्रमणबाट युवा सङ्घका अध्यक्ष शाहीको टाउकोमा चोट लागेको छ । घाइतेको उपचार कालिका अस्पतालमा भइरहेको छ ।

घटनामा संलग्न अनेरास्ववियु (क्रा.) का जिल्ला सदस्य टक्क शाहीलाई प्रहरीले कात्तिक १८ गते गिरफ्तार गरेको छ ।

बामगठबन्धनका प्रदेशतर्फका उम्मेदवार वीरबहादुर शाही प्रतिनिधिसभा सदस्य उम्मेदवार धनबहादुर बुढासहितको प्रचार टोली मुडकेचुला गाउँपालिका अन्तर्गत कालिकाको ज्याठाटोलमा पुगेको अवस्थामा अनेरास्ववियु (क्रा.) का जिल्ला सदस्य टक्क शाहीले युवा सङ्घका मुडकेचुला गाउँपालिका अध्यक्ष रूद्र शाहीमाथि लुकेर पछाडिबाट चिरपट दाउराले प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिप्रसाद शर्माले बताए ।

जिल्लामा भएको बामगठबन्धन प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको लागि टिकट वितरणमा तीव्र असन्तुष्टी राखेर आक्रोश पोख्दै आक्रमण गरिएको स्थानीयबासीले बताएका छन् । बामगठबन्धनका दुई ठूला भातृसङ्गठन बीच भएको विवादले चुनावी प्रसारप्रसारमा अवरोध पुगेको छ ।


विष्णुप्रसाद देबकोटा