अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट

  ०७९ माघ १३ गते

छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ शर्मा, उहाँका छोरा २९ वर्षीय मनोज शर्मा, ५० वर्षीय शिवशंकर पण्डित र ४५ वर्षीय अनिल मिश्र भनिने सुन्दरकान्त मिश्रले कुटपिट गरेको भन्दै योगेन्द्रले माघ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।
छिन्नमस्ता गाउँपालिका–५ लोखरमस्थित स्वास्थ्य चौकीका प्रमुख राजाबाबु मेहताको लिखित आग्रहमा वडा अध्यक्ष जयप्रकाश ठाकुर र वडा सदस्य योगेन्द्र सार्वजनिक स्वास्थ्य चौकी र प्रसुती गृह अनुगमन निरीक्षणमा गएका बेला आक्रमण भएको घाइते योगेन्द्रले बताउनु भयो ।
स्वास्थ्य चौकी र प्रसुती गृहभित्र बाख्रा नचराउन, धान र कपडाहरू नसुकाउन तथा फोहोर नगर्न भनेपछि आरोपितहरूले गालीगलौज गर्दै कुटपिट गरेको वडा अध्यक्ष ठाकुरले बताउनु भयो ।
घाइते तीनै जनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको घाउँजाँच माघ १३ गते गरिने सप्तरी प्रहरीले जनाएको छ ।
छिन्नमस्ता गाउँपालिका–५ नम्बर वडा कार्यालयले समेत वैठक बसी जयनाथ, मनोज र मिश्रविरुद्ध माघ १२ गते उजुरी दिएको छ ।


मनोहरकुमार पोखरेल