अनसनरत डा. केसीको पक्षमा काठमाडौँमा प्रदर्शन, जीवन रक्षाको माग
स्वास्थ्य र चिकित्सा क्षेत्रमा सुधारको लागि नौ बुँदे माग राखी कात्तिक २८ गतेदेखि आमरण अनसनरत त्रिविवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै आएको र अनसन बसेको यति लामो समयसम्म पनि सरकारले बेवास्ता गरेको आरोपमा काठमाडौँमा मङ्सिर १६ गते प्रदर्शन गरिएको छ ।
फोटो साभार:पहिलाेपोष्ट डट कम
डा.केसीले चिकित्सा क्षेत्रको सुधारका लागि विभिन्न कामहरूका लागि सरकारसँग गरिएको विभिन्न सम्झौताको कार्यान्वयनको माग गर्दै विभिन्न अस्पतालका चिकित्सक, विद्यार्थी, कलाकार, समाजसेवीलगायतका व्यक्तिहरूले माइतीघर मण्डलाबाट बानेश्वरसम्म जुलुस प्रदर्शन गरेका हुन् ।
पदीय अधिकारको चरम दुरूपयोग गरेर भ्रष्टाचारमा मुछिएका लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने विषयमा देशकै ठूलो दल नेपाली काङ्ग्रेसलगायतले अझै संस्थागत निर्णय गरिनसकेको प्रति डा. केसीले आपत्ति जनाउँदै आएका छन् ।
प्रदर्शनकारीले सरकारसँग डा. केसीका माग पूरा गर्दै जीवन रक्षा गर्नुपर्ने लगायतका नारा लेखिएका प्ले कार्ड र ब्यानरसहित नारा लगाएका थिए ।
सरकारले केसीसँग वार्ता गर्नका लागि भन्दै मङ्सिर ११ गते शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सचिव सैनेन्द्रराज उप्रेती सदस्य रहेको वार्ता टोली नाएको थियो ।
सरकारी टोली र केसीका समर्थकबिच पटकपटक वार्ता भएपनि निश्कर्ष नआएका कारण अनसन लम्बिँदै आउँदा डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बनेको उनका सहयोगीहरूले बताएका छन् ।
इन्सेक जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार अनसनरत डा. केसीको समर्थन गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आकस्मिक बाहेक अन्य सबै सेवा ठप्प गरेपछि बिरामी मर्कामा परेका छन् ।
डा. केसीले थालेको दसौँ पटकको आमरण अनसनमा सरकारको ध्यानाकर्षण नभएको भन्दै प्रतिष्ठान परिवारले आकस्मिक बाहेक अन्य सबै स्वास्थ्य सेवा ठप्प पारेपछि बिरामी मर्कामा परेका हुन् ।
मुगु रोवा-५ का धर्म बुढाले स्वास्थ्य सेवा बन्दका कारण बिरामीलाई असर परेको भन्दै उपचारमा ढिलाइ भएको गुनासो गरे । उनले भने-'मङ्सिर १६ गते मेरो पत्नीको पाठेघरको शल्यक्रियाका लागि तयारी रहने भनिएको थियो । बन्दका कारण शल्यक्रिया हुन सकेन ।'
डा. केसीका मागप्रति सरकारले गैर जिम्मेवार ढङ्गले बेवास्ता गरेको भन्दै प्रतिष्ठानले अनिश्चित रूपमा आकस्मिक बाहेक अन्य सबै स्वास्थ्य सेवा मङ्सिर १५ गते देखि ठप्प पारेको छ । प्रतिष्ठानका डा. हरिहर देवकोटाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा डा. केसीको आमरण अनसनको १९ दिन पुगेकाले उनको जीवन रक्षाका लागि सबै निकायले केसीको मागप्रति ध्यानदिनु पर्ने उल्लेख गरिएको छ ।
इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राजविराज नपा-३ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको ओपिडी सेवा मङ्सिर १६ गते एक घण्टा बन्द गरिएको छ ।
डा. गोविन्द केसीको माग र अनसनप्रति सरकार अनुदार देखिएको भन्दै चिकित्सक सङ्घको आह्वानमा बिहान १० बजेदेखि ११ बजेसम्म ओपिडी सेवा बन्द गरिएको हो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…