अनसनरत गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था बिग्रँदै

छोराको हत्यारालाई कारबाहीको माग गर्दै साउन २७ गतेदेखि वीर अस्पतालमा उपचारार्थ अवस्थामा नै आमरण अनसनमा बसेकी गोरखा फुजेल-७ की ५९ वर्षीय गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था बिग्रँदै गएको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

गङ्गामायाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन भदौ २२ गते वीर अस्पताल पुगेका इन्सेक काठमाडौँ जिल्ला प्रतिनिधिसँग कुराकानी गर्दै गङ्गामायको उपचारमा संलग्न चिकित्सकहरूले सो कुरा बताएका हुन् ।

अनसनरत गङ्गामायालाई छाती दुख्ने, पेट फुल्ने, दाहिने गोडा नचल्ने समस्या देखिएको छ । उनलाई जीवन दान दिने औषधीको साथै स्लाइन पानीको साहरामा वीर अस्पतालको आइसियूमा राखिएको छ ।

अनसनरत गङ्गामायाले अनसन बसेको २६ दिन पुग्दासम्म सरकारी निकायबाट कुनै प्रतिनिधि नआएको बताइन् । उनले भनिन्- 'पतिको मृत्युपछि आफूले न्याय पाउँछु की भन्ने आशाले आजसम्म न्याय कुरेर बसिरहेकी छु । तर, सरकारले न्याय दिनुको साटो ज्यान लिन खोजेको छ ।'

गङ्गामायाले न्याय नपाए आफू पनि प्राण त्याग्न तयार रहेको बताइन् । उनले भनिन्-'प्राण लिनेहरुको नाम इतिहासकै कालो सूचीमा राखिदिनुहोला । सरकारले अपराधिलाई संरक्षण दिएको छ । यस्तो सरकारबाट न्यायको आशा गर्न सकिँदैन ।'

अनसनरत गङ्गामाया अधिकारीका कान्छा छोरा १६ वर्षीय कृष्णप्रसाद अधिकारीलाई तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ताले ०६१ जेठ २४ गते अपहरण गरी र्निममतापूर्वक हत्या गरेका थिए ।

आमरण अनसनकै क्रममा उनका पति नन्दप्रसाद अधिकारीको ०७१ असोज ६ गते वीर अस्पतालमा मृत्यु भएको थियो ।


विवेक ढुङ्गाना