अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्था प्रति संवेदनशील बन्न आयोगको आग्रह

सामुदायिक सहायता सेवा तथा व्यक्तिगत सहयोगी सेवासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न माग गर्दै ०८१ वैशाख १८ गतेदेखि अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थामा पर्न सक्ने जोखिमप्रति संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।

राष्ट्रिय मानव अधिकार अयोगले वैशाख २४ गते जारी गरेको विज्ञप्तिमार्फत काठमाडौँको शान्तिवाटिकामा दिपक भण्डारीलगायतका अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थाको अनुगमन पश्चात जोखिमप्रति सम्वेदनशील बन्न आग्रह गरेको हो ।

अपाङ्गता भएका व्यक्तिहरूलाई सामुदायिक सहायता सेवा, व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउने लगायतका विषयमा ०८० चैत १४ गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग भएका सम्झौताहरूको कार्यान्वयन हुनुपर्ने अनशनरत व्यक्तिहरूले माग गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्पाइनल कर्ड इन्जुरी भएका एक जना अनशनकारीले पिसाब थैली लगाएको र शारीरिक अवस्था पहिलेदेखि नै कमजोर रहेको हुँदा अनशनमा रहेका व्यक्तिको स्वास्थ्य अवस्था थप नाजुक बन्दै गएको आयोगको अनुगमनबाट पाइएको विज्ञप्तिमार्फत जनाइएको छ ।

नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४, नियमावली २०७७ एवम् नेपाल पक्ष राष्ट्र भएको अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, २००६ ले पूर्ण वा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूको लागि सहयोगी वा संरक्षक उपलब्ध गराउने तथा राज्यका सेवा सुविधाहरूमा प्राथमिकता दिनुपर्ने लगायतका व्यवस्था गरेको समेत विज्ञप्तीमा उल्लेख छ ।

राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव एवम् प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा तीन ओटै तहका सरकारले समन्वय गरी अपाङ्गता भएका व्यक्तिहरू र नेपाल सरकारबिच यस अघि भएका सम्झौताहरूको कार्यान्वयनमा जोड दिन एवम् आमरण अनशनमा बसेका व्यक्तिहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुन नेपाल सरकारलाई आग्रह गरेको छ ।


दीपकप्रसाद घिमिरे